बैंकहरुको औसत आधारदर झण्डै तीन प्रतिशत घट्यो, मेगा र एनआईसी एसिया बैंकको उच्च बृद्धि (तथ्याङ्क सहित)

२६ कार्तिक २०७८, शुक्रबार १४:०५

काठमाडौं । पहिलो त्रैमासको अवधिसम्ममा वाणिज्य बैंकहरुको औषत आधार दर (बेस रेट) ७ दशमलव ५२ प्रतिशत छ । गत आर्थिक बर्षको प्रथम त्रमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा १८ वटा बैंकको ब्याजदरको बेसरेट घटेको छ भने आठ वटा बैंकको बेसरेट बढेकोछ । बेस रेट बृद्धि हुने बैंकहरुको सूचिमा सबैभन्दा माथि मेगा बैंक छ । सो बैंकको बेस रेट २२.६३ प्रतिशतले बृद्धि भएको छ भने दोस्रो नम्वरमा रहेको एनआईसी एसिया क्यापिटलको बेसरेट १५.०८ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल बैंकर्स संघले बैंकहरुले सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार तयार पारेको रिपोर्टमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म अर्थात पहिलो त्रैमासको तथ्यांक अनुसार बैंकहरुको औषत आधारदर ७ दशमलव ५२ प्रतिशत र औसतमा २.९६ प्रतिशतले बेस रेट घटेको देखिएको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकहरुकोे औषत आधारदर ७ दशमलव ७४ प्रतिशत थियो ।
सबैभन्दा कम आधारदर भएको बैंकका रुपमा स्ट्याण्डर्ड चार्टर्ड बैंक देखिएको छ । यो बैंकको आधार दर ५ दशमलव १८ प्रतिशत रहेको छ । सबैभन्दा बढी आधार दर हुने बैंकको रुपमा भने मेगा बैंक देखिएको छ । मेगा बैंकको आधार दर ९ दशमलव ८१ प्रतिशत छ । त्यस्तै दोस्रो नम्वरमा बैंक अफ काठमाडू रहेको छ ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५ दशमलव ६३ प्रतिशत, नबिल बैंकको ६ दशमलव ११, नेपाल बैंकको ६ दशमलव २६ र नेपाल इन्भेष्टमेन्ट बैंकको आधार दर ६ दशमलव ७७ प्रतिशत रहेको छ । त्यस्तै, ७ प्रतिशतको हाराहारीमा आधारदर भएका बैंकहरु १३ वटा रहेका छन् भने ८ वटा बैंकहरुको आधारदर ८ प्रतिशतको हाराहारीमा छ ।

आधार दरलाई बैंहरुको व्याजदर निर्धारणको पहिलो आधार मानिन्छ । निर्देशित कर्जाहरुमा बाहेक अन्य कर्जाहरुको हकमा बैंक कुनैपनि कर्जाको जोखिम प्रिमियम तोक्नसक्ने भए पनि त्यस्तो प्रिमियम दरमा सामान्यतयाः एकरुपता पाइन्छ । त्यसैले यो दरलाई महत्वपूर्ण मानिन्छ । जुन बैंकको आधारदर कम भयो सो बैंकको कर्जामा लिने व्याजदर पनि सस्तो नै हुन्छ । आधार दर कम हुनु भनेको बैंकहरुको ऋणको व्याज पनि कम हुनु हो ।
नेपाल राष्ट्र बैंकले कतिपय कर्जामा प्रिमियम समेत तोकिदिएको हुन्छ । त्यस्तो कर्जामा ग्राहकले सहुलियत दरमा व्याज पाउँछन् । जस्तो साना तथा मझौला उद्योगका लागि दिइने कर्जाको व्याजदर २ प्रतिशत मात्रै छ भने आधारदर कम भएका बैंक मार्फत सस्तो व्याजमा ऋण पाउन सकिन्छ ।सहुलियतपूर्ण ऋणको व्याजमा पनि २ प्रतिशत बिन्दुसम्म मात्र थप ब्याज लिन पाइन्छ । यो ऋणमा सरकारले ५ देखि ६ प्रतिशत व्याज अनुदान दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*