बीमा समितिद्वारा कफि बीमालेख जारी, मौषमजन्य क्षतिसहित आठ प्रकारका जोखिम बहन हुने

काठमाडौं । बीमा समितिले आजदेखि लागू हुने गरी कफि बीमालेख जारी गरेको छ । समितिले जारी गरेको कफि बीमालेखसँगै अब किसानहरुले लगाएको कफिको सजिलै बीमा हुने भएको छ ।
बीमा समितिले जारी गरेको कफि बीमालेखमा आठ प्रकारको क्षतिबाट कफिको रक्षावरण गरिएको छ । रोग वा किराजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति अन्तर्गत जगली जनावर आदिले नष्ट भएमा, चट्याङ्बाट हुनसक्ने क्षति, भुकम्प, पहिरो वा भूस्खलनका कारणले हुने क्षति, मौसमजन्य क्षतिमा खडेरीका कारण हुने क्षति, पानीजन्य क्षति, असिना, हिमपात समेतबाट हुनसक्ने क्षति, हावाजन्य क्षति अन्तर्गत हुरी बतास, आँधिबेहरी तुफानबाट हुने क्षति, आगोलागी वा अन्य कारणबाट हुने क्षतिबाट कफिको बोटलाई रक्षावरण गर्ने व्यवस्था गरिएको छ ।
बीमा समितिले जारी गरेको कफि बीमालेखमा अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने, अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने, विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम बहन नहुने तथा अन्य बीमामा जस्तै युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षतिको जोखिम बहन नहुने व्यवस्था गरिएको छ ।
यद्यपि कफिको बीमाको लागि बीमितले कफि खेतीका लागि योग्य छ भनेर गुणस्तर परिक्षण गरेर प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । साथै बीमालेखमा बीमक कम्पनीको छ वटा कर्तव्य समेत तोकिएको छ । साथै बीमितले तीन वटा दायित्व पूरा गरेको अवस्थामा मात्रै बीमा दावी भुक्तानी पाउने व्यवस्था गरिएको छ ।
कफि बीमा पोलिसी अनुसार बीमा शुल्क गणना गर्दा कफिको बोट वा उत्पादन दुवैको बीमा गर्न सकिने व्यवस्था गरिएको छ ।
बीमा पोलिसी अनुसार नयाँ कफिको बीमा गर्दा कफिको बेर्ना रोपीसकेपछि मात्रै बीमा गर्न पाइने छ । कफि खेती समुन्द्र सतहबाट ६०० मिटरदेखि २००० मिटिरसम्मको जमिनमा मात्रै गर्न पाइनेछ ।













