जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

लक्ष्मी प्रसाद दास
८ मंसिर २०७८, बुधबार २१:२८

लक्ष्मी प्रसाद दास, सिईओ एलआईसी नेपाल

आजको समाज निकै आधुनिक बनिसकेको छ । प्रविधिका कारण मानिसको जीवनमा ठूलो परिवर्तन आइसकेको छ । पछिल्ला केही दशकमा बैंकिङ क्षेत्रमा ठूलो प्रगति भएको छ । औलाले क्लीक गरेकै भरमा लाखौं, करोडौं रुपैयाँको कारोबार सम्भव भएको छ भने परम्परागत रुपमा बैंकको चेक काटेर लाइन बसेर पैसा झिक्ने प्रचलन हटेर कार्डबाट भुक्तानी गरी क्यासलेसको प्रयोग बढ्दो छ ।

देशको अर्थमन्त्रको सबैभन्दा बलियो पाटो अर्थात ब्याक बोन मानिएको बीमा क्षेत्रले अन्य क्षेत्रको तुलनामा अझै धेरै प्रगति गर्न बाँकी छ । आम मानिसलाई जोखिममा रक्षावरण गर्ने र बचत गर्न सिकाउने बीमा मानव जीवनका लागि निकै नै महत्वपूर्ण छ । यति हुँदा हुँदै पनि बीमाबारको सचेतना अझै धेरै मानिसहरुका बीचमा पुग्न बाँकी छ । बिशेष गरी जीवन बीमा जसले कम्पनीको मुनाफामा भाग लिन्छ (नाफासहितको जीवन बीमा), का बारेमा घोषणा गरिएको बोनस दर, बोनसदरको प्रकार तथा यसको निर्धारण विधिका सम्बन्धमा आम जनतामा निकै ठूलो उत्सुकता रहेको पाइन्छ । बीमा गर्दा जोखिमको रक्षावरणसँगै प्राप्त हुने मुनाफा बोनस दरका रुपमा आउने भएकोले पनि यसमा आम सर्वसाधारण र बीमितको चासो हुनु स्वाभाविक नै छ ।

बोनस र बोनस दरबारे
बोनस भनेको साधारण भाषामा नाफा हो । जीवन बीमा कम्पनीहरुले एक आर्थिक बर्षमा दुई प्रकारको बोनसदर घोषणा गर्ने गर्दछन् । एउटा कम्पनीका शेयरधनीले पाउने बोनस हो भने अर्को पोलिसी लिने बीमितले पाउने बोनस हो । त्यसैले अन्य कम्पनीहरुको तुलनामा जीवन बीमा व्यवसाय एक विशिष्ट र फरकखालको व्यवसाय हो ।

जीवन बीमा गरेपछि बीमितले त्यो रकम बचत पनि गरेको हुन्छ । त्यसैले बीमा कम्पनीले बीमितलाई ब्याज दिँदैन तर कम्पनीले उक्त अवधीमा आर्जन गरेको मुनाफालाई नै बोनसको रुपमा बीमितलाई फिर्ता दिन्छन् । यसैलाई बोनस भनिन्छ । त्यसरी फिर्ता दिने दरलाई बोनस दर भनिन्छ ।

अर्को बोनस भनेको कम्पनी आम्दानी खर्च गणना गरी आउने मुनाफा भने पुँजिको रुपमा लगानी गरेका शेयरधनीले पाउने लाभांशलाई पनि बोनस भनिन्छ । यसको गणना गर्ने निश्चित विधि र प्रक्रिया हुन्छ ।

जीवन बीमाको रुपमा बोनस गणना गर्दा प्रतिहजार प्रतिवर्षका दरले गणना हुन्छ । उदाहरणको लागि एलआईसी नेपालले हालै घोषणा गरेको बोनसदरमा अधिकतम् ७० रुपैयाँ छ, कूल बीमाङ्क रकमको प्रतिहजार प्रतिवर्ष ७० रुपैयाँ हो ।

जसरी जसरी कम्पनीले आय–व्ययमा आम्दानी बढी र खर्च कम हुँदा निस्केको मुनाफा शेयरधनीहरुलाई वितरण गरे झै बीमितले बीमा गरेको पोलिसी जति बेला नाफामा जान्छ, त्यति बेला मात्रै पोलिसी होल्डर बोनसका लागि योग्य रहेको मानिन्छ ।
जीवन बीमा पोलिसीको अर्को विशेषता के छ भने कम्पनीले घोषणा गरेको बोनस दरमा तलमाथि वा संशोधन नगरी बीमितको बीमा पोलिसी परिपक्व भएपछि फिर्ता गर्नैपर्दछ । त्यसैले यो महत्वपूर्ण छ । त्यकारण आज राम्रो बोनस भएको कम्पनीको बीमालेख खरिद गरिएको छ भने भोलिका दिनमा प्रतिफल लिँदा पनि राम्रै पाइने निश्चित हुन्छ । घोषित र बीमा समितिबाट स्वीकृत भएको बोनस दरमा तलमाथि नभई बोनस पाइने ग्यारेन्टी गरिएको हुन्छ ।

जीवन बीमाको बोनस दर घोषणा गर्ने विधि
जीवन बीमा कम्पनीहरुले आथिक बर्षको अन्त्यसम्मको वित्तिय विवरण तयार भएपछि एक्चुरी (बीमाङ्की) बाट जोखिमको मूल्याङ्कन गराउनुपर्दछ । त्यसरी मूल्याङ्कन गराउँदा कम्पनीमाथि आईपर्नसक्ने दायित्व तथा सम्पत्तिको सुक्ष्म विश्लेषण गरी तथ्यहरुको आधारमा निष्कर्ष निकालिन्छ ।

जीवन बीमा कम्पनीको बीमाङ्कीय मूल्याङ्कनपश्चात् कम्पनीको सल्भेन्सी मार्जिन र बोनस दरको अवस्था कस्तो छ भन्ने बिषयमा सपष्ट रुपमा देख्न सकिन्छ । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कन उच्च दक्षतायुक्त बीमाङ्कीबाट गराइन्छ । जुन लेखापरिक्षण भन्दा वा डिडिए भन्दा पनि माथिल्लो तहको तथा सुक्ष्म र बहुकोणबाट जोखिमहरुको विश्लेषण गरेर वास्तविक रुपमा दायित्व तथा सम्पत्तिहरुको गणना गरिएको हुन्छ ।

……………………..0-0-0…………………….

जीवन बीमा कम्पनीहरुले जोखिम बापत जगेडा कोषमा रकम जम्मा गरिसकेपछि बाँकी रहेको रकमको ९० प्रतिशत बीमितले बोनसबाट वितरण गर्न जीवन बीमा कोषमा राखिन्छ भने १० प्रतिशत रकम लगानीकर्ता अर्थात शेयरधनीहरुले पाउँछन् ।

……………………..0-0-0…………………….

बीमाङ्कीले मूल्याङ्कनको क्रममा एक एक गरेर हरेक बीमा पोलिसीले लिएको बीमितप्रतिको दायित्वको आधारमा जगेडा कोषमा जीवन बीमा कम्पनीले जम्मा गर्नुपर्ने रकमको निर्धारण गरिएको हुन्छ । त्यसपछि बाँकी रहेको रकम बीमित र शेयरधनीलाई भागबण्डा गरिएकोहुन्छ ।

यसरी हरेक बीमा पोलिसीमाथिको दायित्वहरुको सुक्ष्म विश्लेषण गरी कोषमा जम्मा गरिसकेपछि बाँकी रहेको रकमबाट कपनीले बीमितलाई कति रुपैयाँसम्म बोनस दिन सक्छ भन्ने कुरा निधारण गर्ने गरिन्छ । त्यस आधारमा बीमा पोलिसी अनुसार फरक फरक बोनस दर घोषणा गरिएको हुन्छ ।

जोखिम बापतको रकम जगेडा कोषमा जम्मा गरिसकेपछि बाँकी रहेको रकम बीमित र शेयर होल्डरलाई बोनसको रुपमा वितरण गरिन्छ । जीवन बीमा कम्पनीहरुले जोखिम बापत जगेडा कोषमा रकम जम्मा गरिसकेपछि बाँकी रहेको रकमको ९० प्रतिशत बीमितले बोनसबाट वितरण गर्न जीवन बीमा कोषमा राखिन्छ भने १० प्रतिशत रकम लगानीकर्ता अर्थात शेयरधनीहरुले पाउँछन् । बीमितले पाउने ९० प्रतिशत रकम जीवन बीमा कोषमा राखेर सोही कोषबाट प्राप्त आम्दानीबाट बीमितलाई बोनस दिइने विद्यमान व्यवस्था छ ।

छोटा अवधीको बीमा पोलिसीमा कम बोनसदर हुन्छ भने लामो अवधीको बीमा पोलिसीमा बढि बोनसदर घोषणा गरिएको हुन्छ ।

बोनस दर किन बढ्छ र घट्छ ?
जीवन बीमा कम्पनीले घोषणा गर्ने बोनस दर बीमित तथा बीमा कम्पनीकै लागि निकै महत्वपूर्ण हुन्छ । जीवन बीमा गर्दा बुझाएको बोनसदर अर्थात कम्पनीको मुनाफामा सरिक हुने भएकोले बीमा पोलिसी परिपक्व हुँदा सोही बोनस दरकै आधारमा रकम प्राप्त हुने हुँदा बीमितका लागि निकै महत्वपूर्ण हुन्छ । त्यस्तै, बीमा कम्पनीले थप व्यवसाय विस्तार तथा बीमितलाई आफूतिर आकर्षित गर्नको लागि जति राम्रो बोनस दर भयो उति नै राम्रो हुने गर्दछ ।

……………………..0-0-0…………………….

बीमाको सिद्धान्त नै सामूहिकता भएकोले एक जनाले बीमा पोलिसी खारेज (समर्पण) गर्दा वा नविकरण नगर्दा (ल्याप्स) सबै बीमितले पाउने लाभ तलमाथि हुने गर्दछ । त्यसैले जीवन बीमा कम्पनीको बोनस निकै प्राविधिक र संवेदनशिल विषय हो ।

……………………..0-0-0…………………….

यतिधेरै महत्वपूर्ण हुनाले बोनस दर घटबढ हुँदा आम सर्वसाधारण र बीमितको चासो हुनु स्वाभाविक नै छ । बीमा कम्पनीको आन्तरिक तथा बाह्य दुवै कारणले बोनस तलमाथि हुनसक्दछ । जीवन बीमा कम्पनीले घोषणा गर्ने बोनसमा बाह्य कारणको रुपमा नियामक निकायको निर्णय, देशको आर्थिक सामाजिक अवस्थामा बैंकको ब्याजदर सामाजिक र आर्थिक परिवेश, बैंकको ब्याजदर र विश्वअर्थतन्त्र तथा महाविपत्तीको अवस्था आदिले प्रभाव गर्दछ ।

त्यस्तै आन्तरिक कारणमा बीमा कम्पनीले जारी गर्ने बीमा पोलिसी, प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क आर्जन र सेल्भेन्सी स्तर, कम्पनीमा भएको पोलिसी समर्पण र ल्याप्सले पनि बोनसदर घट्ने वा बढने कुरा निर्धारण गरेको हुन्छ । धेरै बीमा पोलिसीहरु समर्पण वा ल्याप्स भएको अवस्थामा पनि बोनसदर घट्ने सम्भावना हुन्छ । त्यस्तै, प्रथम बीमा शुल्क, नविनकरण बीमा शुल्कमा बृद्धि, ल्याप्स र समर्पण घट्दा बीमा कम्पनीले दिने बोनसदर बढ्ने सम्भावना हुन्छ । बीमाको सिद्धान्त नै सामूहिकता भएकोले एक जनाले बीमा पोलिसी खारेज (समर्पण) गर्दा वा नविकरण नगर्दा (ल्याप्स) सबै बीमितले पाउने लाभ तलमाथि हुने गर्दछ । त्यसैले जीवन बीमा कम्पनीको बोनस निकै प्राविधिक र संवेदनशिल विषय हो ।

फ्युचर बोनस भनेको के हो ?
यतिबेला फ्युचर बोनस चर्चामा छ । नियामक निकाय बीमा समितिले फ्युचर बोनसको लागि पाँच वर्षमा १०० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको र त्यसले सिंगो बीमा क्षेत्रमा पारेको असरबारे चर्चा र बहस भइरहेको हो । आम बीमितहरुले फ्युचर बोनसबारे जिज्ञाशा रहेको पाइन्छ । फ्युचर बोनस भनेको आज बीमा गरेका बीमितले भविष्यमा कम बोनस नपाउन् भनेर गरिएको व्यवस्था हो । फ्युचर बोनसले बीमित र बीमा कम्पनीलाई फाइदा पुग्दछ । बीमा कम्पनीका लागि जोखिम व्यस्थापन भई फाइदा पुग्दछ भने बीमितले भविष्यमा पाउने बोनस धेरै नघट्ने हुँदा फाइदाजनक हुन जान्छ । फ्युचर बोनसको प्रोभिजन सम्बन्धी व्यवस्थाले आज बोनसदरमा केही घटेपनि भोलिका दिनमा थप सहज र फाइदाजनक छ भनेर हामीले बीमित, बीमा गर्न चाहने सबैलाई बुझाउन सक्नुपर्दछ । विश्वव्यापी रुपमा फ्युचर बोनसका लागि प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । भारतको एलआईसी इण्डियामा धेरै पहिलादेखि नै यस्तो व्यवस्था थियो भने विश्वका धेरै देशहरुमा यस्तो व्यवस्था पहिलादेखि नै छ ।

नेपालमा भने पहिलो पटक फ्युचर बोनसको लागि प्रभोजिन गर्न लागिएको हो । फ्युचर बोनसको लागि प्रोभिजन गर्दाका एक पटक मात्रै बोनस दर र लाभांशमा असर पर्दछ भने १०० प्रतिशत प्रोभिजन गरिसकेपछि यस्तो असर स्वतः कम हुँदै जाने हुँदा नयाँ व्यवस्थाबाट तत्काल आत्तिनुपर्ने अवस्था छैन । फ्युचर बोनसका लागि प्रोभिजन गरेको कारण अहिले केही घटेको बोनसका आगामी दिनमा बढ्न सक्नेछ त्यसैकारण आम बीमितहरु कोही पनि आत्तिनु वा दुःखी हुनु पर्दैन । बरु आगामी दिन बीमाबाट लाभ लिने कुरा निश्चित छ, समृद्धि सुनिश्चित छ र भविष्य झनै उज्वल हुने हुँदा सबैमा निश्चिन्त हुन आह्वान गर्दछु ।

(लेखक एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् । प्रस्तुत लेखमा व्यक्त विचार उहाँको निजि हो, संस्थागत प्रतिनिधित्व गर्दैन ।)

One thought on “जीवन बीमा कम्पनीको बोनस किन घट्दैछ ? धैर्य गरौं आगामी वर्षहरुमा समृद्धि सुनिश्चित छ

  1. कृष्ण प्रसाद आचार्य says:

    लेख त प्रष्ट छ,, तर परिपक्व बिमा, लोन लिदा, सरेण्डरमा जादा तत्काल असर पक्कै पर्छ, कम्पनि बलियो बन्छ, तत्काल दिन पर्ने नाफा दिनु नपरे पछि जुनसुकै रुपमा बाहिरिनेहरुलाइ ठुलो नोक्सान हुन्छ, पछि तिनीहरुलाई बोलाएर तपाइले कम्पनि मजबुत बनाउन योगदान गर्नु भएकोले ल यो लिनुस त भन्दैन। तर लगानि कर्ताको मुनाफा त त्यसबाट पनि बड्ने हुदा फ्युचर बोनसको प्रोभिजन शेयर होल्डरको मुनाफाबाट गरिनु उपयुक्त हुन्छ। बिमित निश्चित अबधिमा खालिहात पठाउनु उपयुक्त हैन। शेयर होल्डरले त प्रत्येक बर्ष धेरै-थोर कम्पनि रहुन्जेल अनन्त पुस्तौ पुस्ता पाइरहन्छ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*