नेपालको पुँजिबजार चिन्ताजनक अवस्थातर्फ, धैर्यता गुमाए मार्केट क्र्यासको जोखिम

१५ मंसिर २०७८, बुधबार २१:००

काठमाडौं । शेयर बजारका माफियाहरुको क्षणिक लाभको लागि नियोजित रुपमा उच्च बिन्दुमा पुर्याएर निकै तल झरेको नेपालको पुँजि बजार निकै चिन्ताजनक अवस्थामा पुगेको पछिल्ला केही दिनको कारोबारहरुले देखाएको छ । लगानीकर्ताहरुले धैर्यता गुमाएको अवस्थामा मार्केट क्र्यासको जोखिम बढ्दो छ भने संयमित भएको अवस्थामा अझै केही बिग्रिसकेको छैन ।

शेयर बजारका माफियाहरु सधैं शेयर बजारमा उछाल ल्याउने र तल झर्ने योजनामा हुन्छन् । उछाल आएर उच्च बिन्दुमा पुगेपछि बिक्री गर्ने अभियानमा हुन्छन् भने न्यूनतम बिन्दुमा पुगेका बेला किन्न अभियानमा हुन्छन् । शेयर बजारका माफियाहरुलाई उछाल आउँदा शेयरको मूल्य बृद्धि भएर मुनाफा हुन्छ भने शेयरको मूल्यमा उच्च अंकको गिरावट आउँदा आफूसँग शेयर बिक्री गरेर राखेको रकमको क्रयशक्तिबृद्धि हुँदा मुनाफा हुन्छ । तर, शेयर बजारको उच्चतम् बिन्दु र न्यूनतम बिन्दुको सीमा कसरी निर्धारण गर्ने यो अहम् प्रश्न सबैको सामू खडा भइरहन्छ । त्यसैले उच्च गतिमा तल झार्ने र उच्च गतिमा बृद्धि गर्ने दुवै खेल शेयर बजारका लागि निकै घातक हुन्छ ।

गत वर्ष यसै अवधीमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेललाई उदार अर्थमन्त्रीको रुपमा चित्रण गर्दै शेयर बजार अप्रत्यासित रुपमा उच्च बनाइयो र अहिले घटाइएको अवस्था छ । त्यसो त केही जानकारहरु शेयर बजार अझै धेरै घट्न सक्ने चेतावनी समेत नदिएका होइनन् । उच्च बिन्दु ३२०० पुगेको थियो भने घट्दा कतिसम्म तल झारिन्छ त ? यो माफियाहरुकै हातमा निर्भर गर्दछ । उनीहरुले योजनाबद्ध तरिकाले घटाउने भएकोले कतिसम्म तल जान्छ यसको कुनै सीमा हुँदैन ।

बुधबार नेप्सेमा शेयरको मूल्य थोरै अंकले बृद्धि भएपनि र कारोबार भने न्यून देखियो । यसअघि उच्च बिन्दुले शेयर मूल्य घट्दा पनि कारोबार भने पाँच अर्बभन्दा माथि नै थियो । तर बुधबार पछिल्ला तीन महिनाकै न्यून कारोबार हुनुले पुँजि बजारमा चिन्ता बढाएको छ । त्यसको अर्थ लगानीर्ताहरु शेयर खरिद गर्न अनिच्छुक भएको भन्ने पुष्टि गर्दछ । कुनै समय दैनिक २२ अर्बसम्म कारोबार हुने नेप्सेमा अहिले १० प्रतिशत अर्थात दुई अर्बमा झर्नुमा चरम निराशा फैलिएको नकार्न मिल्दैन । दैनिक २२ अर्बको तुलनामा दैनिक २ अर्बमा झर्नु भनेको शेयर बजारमा यतिबेला लगभग शून्यता छाएको छ । यस्तो शून्य अवस्थामा आँधी आउनु अघिको शून्यतामा रुपान्तरण गर्न माफियाहरु लागि रहेका हुन्छन् ।

शेयरको मूल्य अझै घटाउनु छ भने टाट उल्टियो, लौ सकियो भन्दै हल्ला गर्दै स्टक मार्केट कोल्याप्स गर्ने प्रयास गरेका हुन्छन् भने बृद्धि गर्ने योजना अघिको शुन्यता हो भने बजारमा आएको सबै शेयर थोरै अंकले मूल्य बढाएर निरन्तर खरिद गरिरहन्छन् । यतिबेला बैंकहरु तरलता अभावमा टाट पल्टिएकोले तत्काल शेयर बजारमा उछाल ल्याउन सक्ने सम्भावना नरहेकाले बजार क्र्यास गराउन गिरोहहरुले भूमिका खेल्न सक्ने भएकोले आम लगानीकर्ताहरु सचेत हुनु जरुरी छ ।

दैनिक कारोबार १० प्रतिशतमा झर्नुले लगानीकर्ताहरुसँग रकम नभएको तथा बजारबारेमा अन्योल भएका कारण शेयर बजारमा लगानी गर्न ‘पर्ख र हेर’को अवस्थामा रहेको बुझ्न कठिन छैन । शेयरको मूल्य बढ्ने तर कारोबार झनै तल झर्नुले बजारमा माफियाहरुकै चलखेल देखिन्छ ।

बुधबारको तथ्याङ्क हेर्दा कूल २० करोड चुक्ता पुँजि भएको लघुवित्त कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । महिला लघुवित्त कम्पनी आज दोस्रो स्थानमा छ । नेपालमा १० अर्बभन्दा माथि चुक्ता पुँजि भएका धेरै बैंक, २० अर्ब चुक्ता पुँजिको पूर्वाधार विका बैंक समेत सञ्चालनमा छ । उनीहरुको कारोबार पुछारमा हुनु र साना कम्पनीको शेयर कारोबार उच्च हुनुले शंका उत्पन्न गराएको छ । बजारमा सानो संख्यामा शेयर भएको कम्पनीको सर्वाधिक कारोबार हुनु भनेको चलखेलको सम्भावना बढि हुनु हो ।

बैंकमा तरलता संकट छ । कोरोना महामारीका बीचमा कारोबार समेत न्यून हुनुले शेयर बजार निकै संगिन मोडमा आईपुगेको भन्न सकिन्छ । शेयर बजार कम्पनीले आर्जन गरेको मुनाफा, कम्पनीले भविष्यमा गर्नसक्ने प्रगति आदि सम्भावनाहरुकै कारण शेयर मूल्यमा तलमाथी हुने गर्दछ । अहिले नै कम्पनी टाट उल्टिएको वा डुबेको अवस्था छैन । आजको कारोबारको आधारमा आगामी दिनमा शेयर बजार निकै तल ओर्लने सम्भावनालाई नकार्न सकिदैन । त्यसैले लगानीर्ताहरु नआत्तिएर धैर्य गर्ने समय आएको देखिन्छ । शेयर बजार क्र्यास भइहालेको समयमा पनि पीडायुक्त बिक्री नगर्दा पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ । बजार लगातार घट्को अवस्थामा आम लगानीकर्ताहरुले शेयर बिक्री बन्द गरेर दुःखदायी बिक्रीलाई रोक्न सकेको अवस्थामा शेयर बजारको दुर्घटनालाई रोक्न सकिन्छ ।

शेयर बजारमा सधैं धैर्यता अचुक औषधी मानिन्छ । शेयर बजार उच्च गतिमा बृद्धि भएको बेलामा समेत हतार हतार खरिद रोक्न धैर्यताले नै काम गर्दछ भने मार्केट क्र्यास हुँदा समेत धैर्यताले नै काम गर्दछ । त्यसैले अहिलेको चिन्ताजनक अवस्थामा सबैले धैर्य गर्नु नै उत्तम हो कि !

किन घटबढ गराइन्छ शेयरको मूल्य ?
शेयर भनेको खरिद र बिक्रीबाट नै मुनाफा लिने व्यवसाय हो । जान्नेहरुका लागि शेयरको मूल्य घट्दा समेत फाइदा हुन्छ भने नजान्नेहरु कोकोहोलो गर्दै रुन्छन् र आत्महत्या समेत गर्न पुग्दछन् । माफियाहरुले जब उच्च बिन्दुमा पुगेका बेला शेयर बिक्री गर्दछन् । उनीहरुले शेयरलाई नगदमा रुपान्तरण गरेका हुन्छन् । नेप्से ३२०० को बिन्दुमा रहेको समयमा बिक्री गरेको शेयर घटेर २००० मा झरेमा उनीहरुले बैंकमा थुपारेको पैसाले दोब्बर भन्दा बढि कित्ता शेयर जम्मा गर्न सफल हुन्छन् । शेयर मार्केटको मूल्य घट्दैमा कम्पनीले दिने प्रतिफल नघट्ने हुँदा माफियाहरुलाई शेयरको मूल्य घट्दा अप्रत्यक्ष रुपमा अझै बढि फाइदा लिइरहेका हुन्छन् । शेयरको मूल्य घट्दा समेत उनीहरुले बैंकमा थुपारेको रकमको क्रयशक्ति बृद्धि हुँदा नाफा हुन जान्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*