आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा

२७ पुष २०७८, मंगलवार ०८:४४

काठमाडौं । नियामक निकायको होत्साही व्यवहार र आर्थिक मन्दीका कारण जीवन बीमा व्यवसायमा गम्भिर असर परेको छ । चर्को आर्थिक संकट र चौतर्फी मारमा परेका अभिकर्ताहरुले चालु आवको दोस्रो त्रैमासमा उल्लेख्य व्यवसाय गर्न नसकेको गुनासो गर्न थालेका छन् ।

बैंकहरुमा बढ्दो तरलता समस्या, शेयर बजारमा आएको गिरावट तथा आर्थिक गतिविधिमा आएको सुस्तताको असर यतिबेला जीवन बीमा व्यवसायमा परेको हो । एक जीवन बीमा कम्पनीका सिईओले भने,‘विगतमा सजिलै टार्गेट पुर्याउने गरेका अभिकर्ताहरुलाई समेत यस पटक निकै धौधौ परेको देखियो ।’

बीमा अर्थतन्त्रको मेरुदण्ड हुने हुँदा ठूला ठूला आर्थिक संकट पर्दा समेत हत्तपत्त बीमा क्षेत्रमा असर पर्दैन । ‘विश्वभरि कोरोना महामारी फैलियो, नेपालमा पनि कैयौं दिन लकडाउन भयो तर जीवन बीमाको व्यवसाय खासै खस्किएको थिएन । तर, यस पटक निकै अप्ठेरो अवस्थाको सामना गर्नुपर्यो’, एलआईसी नेपालका एक अभिकर्ताले बीमापोष्टसँग गुनासो गरे ।

बीमापोष्टको सम्पर्कमा आएका कतिपय बीमा अभिकर्ताहरुले लगातार सिओटी भएकाहरु समेत यस पटक बञ्चित हुनु परेको गुनासो गरेका छन् । पछिल्लो समय बैंकहरुमा देखिएको तरलता समस्याले आर्थिक गतिविधमा सुस्तता आएको र त्यसको असर जीवन बीमा क्षेत्रमा परेको बीमा विश्लेषकहरुको बुझाई छ ।

जीवन बीमाको व्यवसाय कुनै कम्पनी वा क्षेत्रमा मात्रै नभई समग्रमा व्यवसाय खस्किएको पाइएको छ । यसको मुख्य कारण आर्थिक संकट भएपनि सहायक कारणहरुमा बीमा समितिको विवादित काम कारवाही, कोरोना बीमाको दावी भुक्तानी नभएकोले बीमाप्रति आम जनताको विश्वासमाथि नै शंंका उत्पन्न हुनुलगायतका रहेका छन् ।

बीमा समितिले नै अघि सारेर बीमा पुलमार्फत गरेको कोरोना बीमाको दावी भुक्तानी समयमा नहुँदा एक लाख ३० हजार भन्दा बढि सर्वसाधारणले बीमाप्रति अविश्वास गर्दै घृणा गरिरहेको अवस्था जीवन बीमाको योजना लिएर सेवाग्राहीको माँझमा पुग्न निकै कठिन भइरहेको गुनासो समेत अभिकर्ताहरुको छ ।

कतिपय बीमा कम्पनीहरुले बीमा दावी भुक्तानीलाई विभिन्न बाहना बाजी गरर दावी भुक्तानी नगर्ने प्रवृत्ति बढ्दै गएकोले समेत बीमाबारे जनतामा नकारात्मक भ्रम परिरहेको छ । बीमा गर्दा अपनाउनुपर्ने अण्डरराईटिङका विधि प्रक्रियाहरु पूरा नगर्ने तर बीमितको मृत्यु पश्चात ‘मृत्यु’ लाई नै शंकाबाट हेर्ने, नपत्याउने गरेकाले पनि समस्याहरु बढ्दै गएको बीमा अभिकर्ताहरुको भनाई छ ।

उता, बीमा समितिले बीमा अभिकर्ताहरुमाथि हेर्ने दृष्टिकोण सही नबनाउँदा पनि बीमा व्यवसाय प्रभावित भएको छ । बीमा अभिकर्ताहरुले बीमक कम्पनीबाट पाउने ऋण सुविधा कटौति गरिएको छ भने बीमा अभिकर्ताहरुलाई हौसला र प्रेरणा दिनुको साटो बीमा समिति तथा बीमक कम्पनीहरुबाट निरञ्तर प्रहार भइरहेका जस्ता कारणहरु अहिलेको अवस्थाका लागि जिम्मेवार रहेका विश्लेषण गरिएको छ ।

One thought on “आर्थिक संकटको असर जीवन बीमा कम्पनीहरुमा, व्यवसाय प्रभावित हुँदा अभिकर्ताहरु तनावमा

  1. Narendra rai says:

    100%

Leave a Reply to Narendra rai Cancel reply

Your email address will not be published. Required fields are marked *


*