आइपीओ भर्दा अब ५ रुपैयाँ मात्रै सि–आश्वा शुल्क काटिने, बिक्री प्रबन्धक र सिडीएसले पाउने शुल्क समेत घट्यो

८ भाद्र २०७९, बुधबार १२:१८

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सार्वजनिक धितोपत्र निष्काशनमा लाग्ने सि–आश्वा शुल्कसहित बैंक तथा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई बुझाउने शुल्क समेत कटौती गरेको छ ।

बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तेस्रो संशोधन भदौ ५ गतेदेखि लागू गरेको छ । उक्त संशोधनअनुसार बैक तथा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलार्य प्रति दरखास्त दश रुपैयाँ बुझाउनु पर्नेमा सो घटाई प्रति दरखास्त दुई रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले सार्वजनिक धितोपत्र निष्काशनमा आवेदन दिने लगानीकर्ताको संख्यामा उल्लेखनीय बृद्धि हुँदै आएको कुरालाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए वापत बढीमा १०० रुपैयाँसम्म आश्वा शुल्क लिन सक्नेमा सो सेवा शुल्क घटाई अब बढीमा पाँच रुपैयाँ सेवा शुल्क मात्रै लिन सक्ने व्यवस्था लागू गरेको हो । जसअनुसार अब लगानीकर्ताले जुन कुनै कम्पनीको आइपीअ‍ोमा आवेदन दिदा आश्वा शुल्क स्वरुप ५ रुपैयाँ मात्रै तिनुपर्नेछ ।

साथै यसबाहेक धितोपत्र बोर्डले धितोपत्रको निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराएवापत निष्काशन तथा बिक्री प्रबन्धक वा बैंक तथा वित्तीय संस्थाले प्रतिदरखास्त वापत २ रुपैयाँका दरले शुल्क बुझाउनुपर्नेमा सो घटाई निष्काशन तथा बिक्री प्रबन्धकले प्रति दरखास्त वापत १ रुपैयाँका दरले मात्रै शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यससँगै अब लगानीकर्ताहरुले सार्वजनिक धितोपत्र निष्काशनमा प्रत्येक पटकको आवेदनमा ५ रुपैयाँका दरले मात्रै सि–आश्वा शुल्क तिर्नुपर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*