खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख रुपैयाँको आवेदन

काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा ८ लाख ५८ हजार ६१२ जनाले ९९ लाख २६ हजार ८०० कित्ताका लागि आवेदन दिएका हुन् ।
उक्त लघुवित्तले जारी पूँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो । यस अनुसार लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल शेयरमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । तर पछिल्लो समय कुनै पनि कम्पनीको आइपीओमा मागभन्दा बढी गुणा आवेदन पर्ने गरेको छ । यसर्थ आवेदकले सो संस्थाको आइपीओमा १० कित्ताका लागि मात्रै आवेदन दिए पुग्दछ ।
सो आइपीओमा छिटोमा भदौ १२ गते र ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।













