लगानीकर्ताले बुझाए नेप्सेमा ध्यानाकर्षण पत्र, बिहिबारसम्म बोर्डको प्रस्ताव स्वीकृत नभए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । शेयर लगानीकर्ता एकता समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई पुँजीबजार सुधारका लागि सहमति भएका १९ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रस्ताव गरेको ब्रोकर लाइसेन्स सम्बन्धि नीतिगत प्रस्ताव मन्त्रिपरिषदमा गएर रोकिएको र सरकार मातहतका केही मन्त्रीहरुको तर्फबाट सो प्रस्तावलाई असफल पार्ने भूमिका खेलिएको भन्ने आरोप सहित शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीर्ताहरु नेप्सेमा पुगेका हुन् ।
शेयर लगानीकर्ताहरुको संगठन लगानीकर्ता एकता समितिले सोही विषयलाई लिएर पुँजीबजार सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपालको पुँजीबजारलाई नीति, नियम, प्रविधि, पूर्वाधार र सहि नियमनद्धारा समुन्नत पारी लगानीकर्ताको हित संरक्षणको दरिलो आधार तय गर्न शेयरलगानीकर्ता तिलक कोइरालाले १० दिनसम्म आमरण अनसनमा बसेका थिए । प्रधानमन्त्री शेर बहादुर देउवाको हस्तक्षेपपछि नेपाल धितोपत्र बोर्ड र शेयर लगानीकर्ता एकता समितिबीच १९ बुँदे सहमति भएको थियो ।
सोही सहमति कार्यान्वयनको सिलसिलामा ब्रोकर लाइसेन्स सम्बन्धित सेबोनले गरेको नीतिगत प्रस्ताव मन्त्रीपरिषद्को बैठकमा गएर रोकिएपछि ५३ लाख लगानीकर्ताहरु आक्रोशित भई उक्त १९ बुँदे सहमति तत्कालै कार्यान्वयमा ल्याउन माग गरेका हुन् ।
साथै ५० लाख भन्दा बढी लगानीकर्ताहरुको संख्या थपिसक्दा पनि ५० वटा ब्रोकर कम्पनी नै यथावत् रहेको भन्दै खुला प्रतिस्पर्धामा अन्य सक्षम ब्रोकरलाई लाइसेन्स बाँड्नुपर्ने माग समेत गरेका छन् ।
आउने बिहिबार सम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भइ कार्यान्यनमा नआए अहिलेको पार्टी र मन्त्रीहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी लगानीकर्ताले दिएका छन् । समितिले आज नै प्रधानमन्त्री कार्यालयमा पनि ध्यानाकर्षण गर्न जाने कार्यक्रम राखेका छन् ।














