वाणिज्य बैंकहरुको प्रोभिजन ८ अर्ब २१ माथि, प्रोभिजन बढ्दा बैंकहरुको मुनाफा प्रभावित

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तिय विवरण सार्वजनिक गरिसकेको २६ मध्ये १९ वाणिज्य बैंकले ८ अर्ब २१ करोड रूपैयाँ कर्जा नोक्सानी बापत (प्रोभिजन) छुट्याएका छन्। राष्ट्र बैंबकले सुपरीवेक्षणमा गरेको कडाइले गर्दा बैंकहरुले यसपटक प्रोभिजन रकम बढाएका छन् ।अर्कोतर्फ असोजमा कर्जा असुली पनि खासै राम्रो नदेखिएको र असोजमा बैंक्हरुले असुलीलाई प्राथमीकतामा पनि राखेनन् ।
ब्याज नउठेपछि त्यसलाई सम्भावित जोखिमको रुपमा प्रोभिजन गर्नुपर्दा बैंकहरुको प्रोभिजन बढेको बैंकका अधिकारीहरु बताँउछन् । व्यवसायीले बैंक बहिस्कार भनेर अभियान चलाउने आन्दोलन गर्ने जस्ता कार्यले पनि कर्जा रिकभरीमा समस्या भएको र यसले वित्तीय क्षेत्र नै जोखिमा जानसक्ने अधिकारीहरुको भनाई छ ।
‘प्रोभिजन बढ्नुको एउटा कारण असोजमा उठ्नुपर्ने ब्याज नउठेको भएर हो भने अर्को राष्ट्र बैंकले पनि सुपरीवेक्षणका क्रममा औंल्याएको कमजोरीहरुमा पनि प्रोभिजन गर्नुपयो’, एक बैंकको सिईओले बताए । ‘पैसा नतिर्ने भनेपछि प्रोभिजन बढ्ने नै भयो । यसले बैंकहरुमा निष्कृय कर्जा अनुपात बढ्ने संकेत देखिएको छ । अहिलेसम्म वित्तीय क्षेत्र सन्तुलित थियो यस्तै अवस्था हुने हो भने बैंकहरुमा पनि समस्या आउँछ ।’
प्रोभिजन बढेको कारण एक दर्जन बैंकहरुको नाफा आर्थिक वर्ष २०७८/७९ को तुलनामा घटेको छ । औषतको आधारमा हेर्दा गत आर्थिक बर्षको तुलनामा ५। ८८ प्रतिशतले बढेको बैंकहरुले प्रकाशन गरेको तथ्यांकमा उल्लेख रहेको छ।
गत आर्थिक वर्षको प्रथम त्रैमासमा १७ अर्ब ७१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएका बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ७५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

१९ वाणिज्य बैंकहरुको प्रथम त्रैमासको तथ्यांकमा आधारित
बैंक तथा वित्तीय क्षेत्रमा खराब कर्जा बढ्नु नराम्रो मानिन्छ। खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीको लागि प्रोभिजन छुट्याउनु पर्छ।बैंक तथा वित्तीय संस्थाका ऋणीले कर्जा सम्झौताअनुसार कर्जा प्रवाह गर्छन्। सम्झौताअनुसार ऋणीले तोकिएको समयमा साँवा ब्याज भुक्तानी नगरे उक्त ऋणलाई खराब कर्जामा राख्नुपर्ने हुन्छ।कर्जामा बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले तोकको कर्जा नोक्सानी वापत प्रोभिजन गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएमा त्यसमा जोखिम भएको मानिन्छ।
बैंकहरूले प्रवाह गरेको कर्जामध्ये साँवा ब्याज भुक्तानी गर्ने भाखा नाघि एक वर्ष नपुगेको कर्जालाई खराब कर्जाको रूपमा राख्नुपर्ने व्यवस्था छ।बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाहित कर्जालाई केन्द्रीय बैंकले वर्गीकरण गरी प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको हो।
जसमा कर्जा प्रवाह गरेको ३० दिनसम्म असल कर्जामा वर्गीकरण गरी १.३ प्रतिशत प्रोभिजन कायम गर्नुपर्ने व्यवस्था छ।१ महिनादेखि ३ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा त्यो कर्जालाई वाचलिष्टमा राखी कर्जा ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। साथै, ३ महिनादेखि ६ महिनासम्म कर्जाको साँवा ब्याज भुक्तानी नभएमा कर्जालाई कमसल कर्जामा वर्गीकरण गरी कुल कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।
यदी ऋणीले कर्जा लिएको ६ महिनादेखि १ वर्षसम्म पनि साँवा ब्याज भुक्तानी नगरेमा त्यो कर्जालाई शंकास्पद कर्जामा वर्गीकरण गरी कर्जाको ५० प्रतिशत प्रोभिजन बैंकले गर्नुपर्छ। साथै, १ वर्षभन्दा माथि साँवा ब्याज भुक्तानी नभएमा सोमा शतप्रतिशत प्रोभिजन बैंकले गरेर सो कर्जालाई खराब कर्जामा राख्नु पर्ने व्यवस्था गरिएको छ।चालु आबको प्रथम त्रैमासमा सबैभन्दा धेरै प्रोभिजन गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकको प्रोभिजन रकम ९८ करोड ३४ लाख रुपैयाँ रहेको छ।
त्यस्तै, सिद्धार्थ बैंकको ८९ करोड ३० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।कुमारी बैंक र एनआईसी एशिया बैंकले भने प्रोभिजन राइट ब्याक गरेको छ । कुमारी बैंकले ७ करोड ७ लाख रुपैयाँ राइट ब्याक गर्दा, एनआईसी एशिया बैंकले १२ करोड ७९ लाख राइट ब्याक गरेको छ ।