हैसियतभन्दा बढि हिस्सा खोज्दा प्रभुसँग अजोडको डिमर्जर, दोस्रो मर्जर प्रयास सफल हुनेमा आशंका

२८ पुष २०७९, बिहीबार १४:५४

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीसँग अकारण मर्जर तोकेको अजोड इन्स्योरेन्सको आगामी मर्जर पनि सफल हुनेमा शंका व्यक्त गरिएको छ । डिडिएको क्रममा निस्केको वित्तीय विवरणलाई सञ्चालकहरुले विश्वास नगर्ने तथा हैसियतभन्दा बढि बखेडा झिकेका कारण प्रभु इन्स्योरेन्स कम्पनीसँग अजोड इन्स्योरेन्सको मर्जर भाँडिएको तथ्य खुलेको छ ।

पछिल्लो पटक एक तारे होटलमा भएको छलफलमा अजोडले प्रभु इन्स्योरेन्स कम्पनीसँग आफ्नो हैसियत भन्दा बढि, स्वाप रेसियो र नामसँग सौदाबासी गर्न खोजेको पाइएको छ । जसका कारण मर्जर भाँडिएर अर्को बीमा कम्पनीसँग टाँसिन पुगेको छ ।

मर्जर प्रक्रियामा रहेका प्रभु र अजोड इन्स्योरेन्स दुई पुराना र नयाँ कम्पनीहरु हुन् । पुराना कम्पनीको कोषमा ठूलो मात्रामा रहेको रहेको हुन्छ । जसका कारण स्वाप रेसियो बढि आउँछ । त्यस्तै, अजोड इन्स्योरेन्स नयाँ कम्पनी हो । तुलनात्मक रुपमा बीमा कोषमा रकम कम हुँदा सम्पत्ति मूल्याङ्कन प्रभावित भई तुलनात्मक रुपमा कम स्वाप रेसियो आउँछ । यी दुवै कम्पनीको मर्जरमा यही यथार्थ स्वीकार नगर्दा समस्या उत्पन्न भएको पाइएको छ । बीमा कोषमा ९४ करोड रुपैयाँ संचित भएको प्रभु इन्स्योरेन्स र जम्मा १७ करोड रुपैयाँ कोषमा संचिती भएको अजोड इन्स्योरेन्सको बीचको डिडिएमा स्वाप रेसियो निकै अन्तर पर्नु स्वाभाविक नै थियो । तर, अजोड इन्स्योन्स कम्पनीले तथ्याङ्कीय यथार्थ भन्दा हैसियतभन्दा माथिको हठ राखेका कारण मर्जर भाँडिएको तथ्य उजागर भएको छ ।

सुरुवाती चरणमा १००ः७० स्वाप रेसियोमा प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जान खोजेका थिए । तर, यही बीचमा अजोड इन्स्योरेन्स कम्पनीको ठूलो मात्रामा संस्थापक शेयर साधारण शेयरमा परिणत गरियो । मर्जर कमिटीसँग समेत सहमति नगरी भएको यही शेयर रुपान्तरण समेत प्रभु अजोड मर्जर भाँडिनु एक कारण हो । अजोडको सो कार्य मर्जर भाँड्न वा बढि लाभ लिने उद्देश्यले गरिएको थियो । नियामकीय निकाय बीमा प्राधिकरणले अजोड इन्स्योरेन्सका बिचौलियाको कुरा सुनेर १९ प्रतिशत संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गरिदिएको थियो । यसले प्रभु इन्स्योरेन्स झस्कियो र ७०ः१०० अनुपातमा स्वाप गर्ने भनिएकोमा डिडिएमा सम्पत्ति समेत धेरै देखिएको र शेयर समेत रुपान्तरण गरेकोले ‘अब १००ः६५ स्वाप रेसियोमा मर्जरमा जाऔं’ भन्ने प्रस्ताव गर्यो । अजोड समस्या पर्यो ।

अजोडले मानेन । बरु उल्टै सञ्चालक पनि बराबरी हिस्सा चाहिने र नाममा समेत अजोड हुनै पर्ने अडान राख्न थाल्यो । शेयरधनी धेरै रहेको अजोड इन्स्योरेन्समा स–साना लगानीकर्ताहरुले समेत व्यापक चलखेल गरे । अध्यक्ष आजाद श्रेष्ठलाई अजोड इन्स्योरेन्स कम्पनीका बिचौलिया लगानीकर्ताहरुले टेलिफोन गरेर प्रभुसँग मर्जर गरेकोमा तनाव समेत दिइरहेका थिए । जसको परिणाम एनई ग्रुपका रविभक्त श्रेष्ठसँग आजाद श्रेष्ठले छलफल चलाए र पुसको पहिलो साता नै अजोड र युनाईटेडका बीचमा मर्जरमा जाने लगभग सहमति भयो । तर, प्रभुसँग मर्जर प्रक्रियामा रहेकोले अब उसले उक्त मर्जर टुङ्ग्याएर यता अर्को कम्पनीसँग सम्झौता गर्नुपर्ने भयो । त्यसपछि अजोडले प्रभुसँग पुनः छलफल चलायो र यस पटकको छलफल सफल पार्न होइन मर्जर टुंग्याउने उद्देश्यले सुरु गर्यो । पछिल्लो पटक एक तारे होटलमा भएको छलफलमा अजोडले अत्याधिक धेरै डिमाण्ड राख्यो र नमानेमा मर्जर प्रक्रिया नै अन्त्य गर्ने प्रस्ताव गर्यो ।

प्रभुका एक सञ्चालकले भने, ‘अजोडले हुनै नसक्ने कुरा भन्न थाल्यो, हामीले मानेनौं, उसोभए डिमर्जरमा जाऔं भन्यो हामीले हुन्छ भनिदिऔं ।’ अनि डिमर्जरमा जान दुवैले सहमति जनाए र गत आइतबार डिमर्जर प्रक्रियामा सहमति गरे । स्वीकृतिको लागि बीमा प्राधिकरणमा पुग्दा बीमा प्राधिकरणले के भएको हो ? एक पटक छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन भन्यो । गत सोमबार भएको छलफलमा दुवै पक्षले आफ्नो अडान नछाड्ने जनाएपछि अपरान्ह १ बजे बीमा प्राधिकरणबाट दुवैले डिमर्जरको चिठ्ठी लिएर फर्किए ।

त्यसरी सहमति भंग भएको १२ घण्टाभित्रैमा अजोड इन्स्योरेन्स कम्पनीले दोस्रो सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । पूर्व तयारी अवस्थामा राखिएको सम्झौता पत्रमा दुवै कम्पनीका मर्जर टोलीले हस्ताक्षर गरे अनि दुवै कम्पनीका अध्यक्षहरुले ताली बजाए ।

मर्जर भंग भएकै दिन नयाँ सम्झौता गरेकोले अजोड इन्स्योरेन्स कम्पनीले नियामक निकाय बीमा प्राधिकरणलाई समेत धोका दिएको पुष्टि भएको छ । पछिल्लो पटक कम्पनीले बुझाएको क्यापिटल प्लानमा समेत प्रभुसँग मर्जरमा जाने भन्ने उल्लेख थियो । प्राधिकरण प्रभु र अजोड मर्जरमा जान्छन् भनेर ढुक्का थियो । तर, आइतबार एकाएक डिमर्जरको प्रस्ताव लिएर पुगेपछि प्राधिकरण समेत झस्कियो । प्रभु इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया अन्त्य नगरी अजोडले भित्री रुपमा छुट्टै मर्जर कमिटि बनाएर छलफल अर्को बीमा कम्पनीसँग छलफल अघि बढाएको थियो । अर्थात अजोड इन्स्योरेन्स कम्पनीले एकै पटक दुई वटा मर्जर कमिटी बनाएर काम गरिरहेको थियो । जब युनाइटेड इन्स्योरेन्ससँग सहमति नजिक पुग्यो त्यसपछि यता प्रभु इन्स्योरेन्स कम्पनीसँगको वार्तामा दम्भपूर्ण रुपले बार्गेनिङ गरेको थियो । जसमा हैसियतभन्दा बढि डिडिए रिपोर्टमा नआएको स्वाप रेसियो माग गरेको थियो ।

नयाँ कम्पनीसँग सम्झौता गरेको अजोड इन्स्योरेन्सको दोस्रो पटकको मर्जर समेत हुनेमा सफल हुनेमा शंका उत्पन्न भएको छ । हाल मर्जरमा जान लागेको कम्पनी समेत पुरानो भएकोले उसको सम्पत्ति निकै बढि छ । अजोड इन्स्योरेन्सको बीमा कोषमा १७ करोड मात्रै संचित छ भने ४३ करोड रुपैयाँ संचिती रहेको छ । पुरानो कम्पनी भएकोले अजोडको भन्दा दोस्रो कम्पनीको स्वाप रेसियो बढी आउने छ । हाल डिडिएमा आधारित स्वाप रेसियो भनिए पनि १००ः९० को रेसियोमा मर्जरमा जाने अनौपचारिक सहमति भएको र डिडिए हेरेर थप निर्णय गर्ने अण्डरस्टाण्डिङ बनाइएको छ । तर, डिडिए भएर आउँदा अझै तल झर्न सक्ने अवस्थामा अजोड मर्जरमा जान तयार होला किन नहोला ? अर्को प्रश्न जन्मिएको छ । त्यस्तै, नाम र सञ्चालकको विषयमा समेत अजोडले झिक्ने बखेडा अर्को कम्पनीले कुन रुपमा प्रस्तुत होला त्यो प्रतिक्षाको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*