बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका जारी, प्रदेश कार्यालय अनिवार्य, प्राथमिकतामा कम पहुँच भएको जिल्ला तोक्नुपर्ने

९ चैत्र २०७९, बिहीबार १७:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ। प्राधिकरणले बीमकको शाखा कार्यालय स्थापना गर्ने कार्यलार्य व्यवस्थित बनाउन बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गर्दै नयाँ निर्देशिका जारी गरेको हो ।

प्राधिकरणको यसअघिको नियम खुकुलो भएको कारण आफूहरुलार्य पायक पर्ने स्थान एवं सुगम जिल्लाहरुमा मात्रै शाखा कार्यालय खोल्ने हुँदा बीमितले दुख पाउने गरेको थियो। बीमितलाई सबै क्षेत्रमा सुविधा दिन यस निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कार्यालय स्थानान्तरण गर्दा, बन्द गर्दा वा गाभ्दा सेवाग्राहीलाई पर्न सक्ने असर, समाधान तथा व्यवस्थापनका उपाय सहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
तत्काल बहाल रहेका जनशक्तिको व्यवस्थापनको कार्ययोजना, कार्यालय स्थानान्तरण गर्दा वा गाभ्दाको हकमा यसरी स्थानान्तरण भए पछि वा गाभिए पछि कायम हुने कर्मचारीहरुको पद तथा सङ्ख्या सहितको विवरण समेत प्राधिकरणमा पेश गनुपर्ने उल्लेख गरेको छ ।

त्यस्तै, बीमा प्राधिकरणको कार्यालय खोल्दा बीमाको दायरा नरहेको, बीमकहरूको उपस्थिति न्युन रहेको स्थान र कुनै पनि बीमा कारोबार गर्ने इकाई नभएको गाँउपालिका वा नगरपालिकामा शाखा वा उप शाखा कार्यालय खोल्न प्राथमिकता दिनु पर्ने निर्देशिकामा उल्लेख रहेको छ।

त्यस्तै, कृषि, बाली, पशुपन्छी तथा जडीबुटी बीमा सेवा प्रदान गर्न प्राधिकरणले जिल्लागत रुपमा कार्यालय खोल्न तोकेको अवस्थामा सो जिल्लामा प्राथमिकता दिई कार्यालय खोल्नु पर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले तोकेको जिल्लामा कार्यालय स्थापना गरे पश्चात मात्र अन्य स्थानमा कार्यालय खोल्न स्वीकृति प्रदान गरिने निर्देशिकामा उल्लेख रहेको छ।

कम्पनी सञ्चालक समितिले सीमा तोकेर प्रदेश कार्यालयलाई आफ्नो प्रदेश अन्तर्गतका शाखा, उपशाखा निरीक्षण, सुपरिवेक्षण वा कर्मचारी सरुवा गर्ने अधिकार, बीमा बजारिकरण तथा कार्यालय व्यवस्थापन सम्बन्धी अधिकार दिइएको निर्देशिकामा व्यवस्था रहेको छ ।
प्रदेश कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालय खोल्नु अघि बीमकले त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नुपर्नेछ । बीमा कम्पनीहरुले कार्यालय खोल्नको लागि प्रस्तावित स्थानमा वित्तीय रुपले सम्भाव्य रहे वा नरहेको, बीमा सेवा पहुँचको अवस्था बस्तुनिष्ठ रुपमा तयार भए वा नभएको, आर्थिक तथा वित्तीय क्रियाकलापको बारेमा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको छ ।

व्यवसायको लागि चुनौति र अवसरका साथै रणनैतिक योजना, शाखा स्थाथपना तथा विस्तारका लागि हुने पूँजीगत तथा अन्य खर्च र तीन वर्ष भित्रमा बीमा कारोबारबाट प्रस्तावित मुनाफामा संचालन हुन सक्ने औचित्यपूर्ण आधारको बारेमा अध्ययन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ।

बीमकको-शाखा-कार्यालय-सम्बन्धी-मार्गदर्शन-२०७९

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*