नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा, बीमालाई जनताले पाउने नैसर्गिक सेवाका रुपमा स्थापित गराउने अध्यक्ष सिलवालको प्रतिबद्धता

१ जेष्ठ २०८०, सोमबार ०८:२५

नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सव विशेष

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आजबाट ५५ औं वर्षमा प्रवेश गरेको छ । ५५ औं बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत तथा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले छुट्टाछुट्टै शुभकामना सन्देशमार्फत नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले गरिब, न्यून आय बर्ग एवम् क्षेत्रहरुमा बीमाको पहुँच बृद्धि गर्न छिटो छरितो ढंगबाट दावी भुक्तानी पाउने व्यवस्था गर्न, बीमा क्षेत्र स्वच्छ प्रतिस्पर्धा एवम् संस्थागत सुशासन कायम गर्न ५५ औं बार्षिकोत्सवको शुभकामना ज्ञापन गरेका छन् । त्यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले जारी गरेको शुभकामना सन्देशमा अन्तर्राष्ट्रिय रुपमा प्रतिपादित बीमाको नविन सिद्धान्तलाई अनुशरण गर्दै बीमा क्षेत्रमा प्रभावकारी नियमन गर्न ५५ औं बार्षिकोत्सवको शुभकामना ज्ञापन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणल बीमा क्षेत्रमा सुशासन कायम गर्ने, स्वस्थ्य प्रतिस्पर्धाको विकास गर्ने प्रतिबद्धता जनाउँदै आजको दिनसम्म नेपाल बीमा प्राधिकरणलाई ल्याईपुर्याउन योगदान गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

२०२६ साल जेठ १ गते स्थापना भएको बीमा समिति गत वर्षको कार्तिक २२ गतेबाट नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भई बीमा क्षेत्रको नियमनमा भूमिका खेलिरहेको छ । नेपालमा बीमा इतिहास धेरै लामो पाइदैन । बीमा समितभन्दा पहिले बीमा कम्पनीहरु स्थापना भई क्रियाशिल भएका थिए । उतिबेला बीमा क्षेत्रलाई अर्थमन्त्रालयमार्फत नै नियमन हुने गर्दथ्यो । २०२६ सालमा नेपालमा बीमा क्षेत्रको नियमनको लागि बीमा समिति स्थापना भएपनि कैयौं वर्षसम्म बीमा समितिलाई अर्थमन्त्रालयको एउटा कुनामा खुम्च्याइएको थियो । बीमा समितिको नियमित बैठक बस्दैनथ्यो । अर्थमन्त्रालयको एउटा कोठामा कार्यालय राखेर सञ्चालित थियो र आवश्यकताका आधारमा मात्रै बैठकहरु बसेर बीमा नियमनको कार्य हुने गरेको थियो ।

बीमा ऐन २०२५ जारी भएपछि २०२६ साल जेठ १ गते तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट नेतृत्वको मन्त्रिपरिषदको बैठकले बीमा समिति गठन गरेको थियो । पञ्चायती संसदबाट बीमा ऐन २०२५ जारी भइसकेको अवस्थामा बीमा समिति गठन गरिएको थियो । बीमा समिति गठन भएपनि समितिलाई स्वायत्त निकायको रुपमा नभई अर्थमन्त्रालयको एउटा सानो कार्यालयको रुपमा एउटा कोठामा सीमित हुन पुग्यो ।
सो समयमा २०२४ सालदेखि बीमा कारोबार गर्दै आएको सालमा राष्ट्रिय बीमा संस्थान र २००४ सालदेखि कारोबार गर्दै आएको नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी लि.लाई मात्रै नियमन गर्न स्थापना भएको बीमा समिति आज नेपाल बीमा प्राधिकरणको नामबाट देशका तीन दर्जन कम्पनीहरुलाई प्रत्यक्ष नियमन गर्दै आएको छ । लघुबीमा, निर्जीवन बीमा, जीवन बीमा र पुनर्बीमा कम्पनीको नियमनमा नेपाल बीमा प्राधिकरणको भूमिका क्रियाशिल रहेको छ ।
सुरुवाती चरणमा अर्थमन्त्रालयभित्र एउटा शाखा कार्यालयको रुपमा रहेको बीमा समिति बीमा ऐन २०४९ जारी भएपछि स्वायत्त निकायको रुपमा काम कारवाही गर्दै आइरहेको छ । २०४८ सालअघि बीमा समितिको बैठक अर्थमन्त्रालयको कुनै कोठामा आवश्यकता परेको बखत मात्रै बस्ने गर्दथ्यो ।

 

नेपालमा २०४६ सालको प्रजातन्त्र पुनस्र्थापना भएपछि तत्कालिन सरकारले लिएको उदार अर्थनीतिको एउटा सुन्दर फूलको रुपमा बीमा समितिलाई लिन सकिन्छ । बीमा समितिले उदार अर्थनीतिमा देशले पाइला राखेसँगै सुन्दर फूलको रुपमा स्वतन्त्र अस्तित्वमा मात्रै आएन देशको दरिलो खम्बा बीमा क्षेत्र हो भन्ने कुरालाई स्थापित गर्दै निरन्तर प्रगतिपथको यात्रा जारी राखेको छ ।

आफ्नै प्रशासन समेत नभएको बीमा समितिले करिब २३ वर्ष अस्तव्यस्त र भद्रगोलका बीचबाट गुज्रिदा नेपालमा बीमाको संस्थागत विकास हुन सकेन । बीमा ऐन २०४९ सो सालको पुस २ गते नयाँ बीमा ऐन लागू भएपछि बीमा समिति स्वतन्त्र अस्तित्वमा आएको हो । त्यसयता बीमा समितिले स्वतन्त्र नियामक निकायको रुपमा भूमिका निर्वाह गर्दै आएपनि राजनीतिक हस्तक्षेपका कारण बीमा क्षेत्रमा छिरेर व्यक्तिगत तथा समुहगत लाभ लिने थुप्रै प्रयत्नहरु हुँदै आएका छन् ।
२०४९ सालमा जारी भएको बीमा ऐन पुरानो भएकोले नयाँ ऐन जारी गर्ने अभ्यास निकै लामो समयदेखि चल्दै आएको थियो । तर, उक्त सपना गत वर्षको कार्तिक २२ गतेदेखि मात्रै पुरा भएको छ । बीमा ऐन २०७९ जारी भयो । सो ऐन अनुसार बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रुपान्तरण गरियो । हिजोको बीमा समिति आज नेपाल बीमा प्राधिकरणको नाममा बीमा क्षेत्रको नियामकको रुपमा सक्रिय रहेको छ ।

स्थापना ५५ औं बार्षिकोत्सव मनाइरहँदा आज बीमा प्राधिकरण एक स्वतन्त्र र अधिकार सम्पन्न बीमा नियामक निकायको रुपमा स्थापित भइसकेको छ । बार्षिक अर्बौको कारोबार, ११० जना कर्मचारी, नेपाल सरकारबाट नियुक्त सञ्चालक समितिसहित दक्ष जनशक्तिमार्फत बीमा क्षेत्रको नियमन गर्दै अघि बढेको बीमा प्राधिकरण अब सुविधा सम्पन्न अत्याधुनिक भवन निर्माण गर्ने प्रक्रियामा अघि निकै अघि बढिसकेको छ । कुपण्डोलस्थित केन्द्रीय कार्यालय भवनमा अबको केही महिनापछि नै नियमित कार्य शुभारम्भ भएपछि नेपाल बीमा प्राधिकरण नेपालकै अत्याधुनिक सुविधा सम्पन्न नियामक निकाय बन्नेछ ।

बीमा प्राधिकरणको स्थायी सरकारको रुपमा व्यवस्थापनतर्फ २६ वर्षदेखि कार्यरत राजुरमण पौडेल कार्यकारी निर्देशकको नेतृत्वमा अनुभवी र दक्ष कर्मचारीहरुले नेतृत्व गरिरहेका छन् । बीमा प्राधिकरणका निर्देशकहरु कमलराज रेग्मी, सुशिल देव ओली, पुजन ढुंगेल अधिकारी, दिनेशलाल कर्णको जुझारु, सक्रिय र निकै मेहनतका साथ बीमा नियमनमा हरदम परिचालित रहेर बीमा क्षेत्रलाई उन्नत र समृद्धि बनाउन योगदान दिइरहेका छन् । आजको यस ऐतिहासिक अवसरमा बीमा प्राधिकरणमा कार्यरत सबै कर्मचारी, सञ्चालक समिति, पूर्व अध्यक्षहरु, पूर्व कर्मचारीहरु, बीमा कम्पनीमा कार्यरत सबै कर्मचारी, बीमा प्रशासक तथा सञ्चालक तथा अध्यक्षहरु सबै सबै बधाईका पात्र छन् ।

५५ औं बार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमालाई प्रविधिमैत्री बनाएर बीमा व्यवसाय नभई जनताले पाउने नैसर्गिक आधारभूत सेवाको रुपमा बीमालाई अघि बढाइने प्रतिबद्धता जनाएका छन् । ५५ औं बार्षिकोत्सवको अवसरमा प्रतिबद्धता जनाउँदै अध्यक्ष सिलवालले बीमालाई अनलाईनमार्फत सजिलै सेवा पाइने बनाउने, बीमित हित संरक्षण कोष बनाउने, बीमालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नियमन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बीमा क्षेत्रका प्रभावकारी नियमनको लागि प्राधिकरणले दक्ष जनशक्ति, अत्याधुनिक सफ्टवयर प्रणालीमार्फत कार्य गर्दै आइरहेको छ । बीमाको पहुँच बृद्धिका लागि नीति निर्माणहरु बनाउने, योजना तर्जुमा गर्ने तथा योजना तथा नीतिहरुको कार्यन्वयनको सुपरिवेक्षण समेत गर्दै आइरहेको बीमा समिति एक अविछिन्न उत्तराधिकार निकाय समेतको रुपमा आफ्नो भूमिकासहित उपस्थित छ । बीमा प्राधिकरण लघु बीमा कम्पनीहरु, निर्जीवन बीमा कम्पनीहरु, जीवन बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीहरुसँग हातमा हात मिलाउँदै, साथमा साथ मिलाउँदै नेपाल सरकार र निजि क्षेत्रलाई जोड्ने सेतु बन्न सफल रहोस्, ५५ औं बार्षिकोत्सवको अवसरमा सबै बीमाकर्मीहरुमा हाम्रो शुभकामना ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*