अनलाईन जुवाको लतमा एक बैंकरले आफूसँगै बैंक पनि डुबाए, घटनामा प्रकाउ परेकी महिलाको सामाजिक संजालमा चरित्र हत्या

रिना खत्री
८ जेष्ठ २०८०, सोमबार ११:२२

काठमाडौं । अनलाईन जुवाको लतमा एक बैंकरले आफूसँगै बैंक पनि डुबाएको छ। लामो समयदेखि एभरेष्ट बैंकभित्रै कैयौं ग्राहकको पैसा हिनामिना गर्दै आएको पूर्व इटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानले बैंकका कर्मचारी र बाहिरका केही गिरोही समूहको संलग्नतामा गरेको भन्दै प्रहरीले उनीसहित नौ जनालाई प्रकाउ गरेको छ ।

दुई महिनाअघि मात्रै इटहरी शाखाबाट सरुवा भई गाईघाट शाखामा काम गर्दै आएका उनले अनलाईन जुवा खोल्ने क्रममा बैंकको कैयौं खातावालाको रकम दुरुप्रयोग गरेका थिए । गत चैत महिनामा मात्रै दुई घटनाको कारण प्रधानको उक्त हर्कतको बारेमा अनुसन्धानको क्रममा पत्ता लागेको छ । गत चैतमा १९ जना ग्राहकको खाताबाट एकै पटक रकम चोरी देखि विभिन्न शाखा कार्यालयबाट बैंकका ग्राहकका पैसा हराउन थालेपछि यो घटना बाहिरिएको हो ।

हाल प्रहरीले बैंकको निरज प्रधान सहित नौ जना कर्मचारीहरुलाई प्रकाउ गरेको छ। सुनसरीको इटहरीस्थित एभरेष्ट बैंक शाखाका प्रमुखसहित सात कर्मचारी र अन्य दुई जनासहित नौ जना पक्राउ परेका छन् ।ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गरेको आरोपमा शाखा प्रमुखसहित नौ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । यस घटनामा बाहिरी संलग्नता भएका व्यक्तिलाई हालसम्म पक्राउ गरेको छैन । प्रहरीले बैंकका कर्मचारीहरुसँग अनुसन्धान सकेर बाहिरी गिरोहीसँग सोधपुछ र प्रकाउ गर्ने तयारी रहेको जनाएको छ ।

हाल अनुसन्धानमा रहेको उक्त केसमा उनीसँगै टेलरका कर्मचारीसम्म परेको छ। प्रहरीको अनुसन्धानमा रहेको उक्त केशमा प्रकाउ परेकी एक महिलाको सामाजिक संजालमा चरित्र हत्या गर्ने समेत काम भएको छ ।

ब्वाईफेन्डलाई बाईक किन्दिन बैंकको रकम निकाल्न तयारी अवस्थामा रहेको भन्दै अनुसन्धानमा ३० वर्षीया टेलर पवित्रा कटुवाललाई भाईरल बनाएको छ। एक विवाहित महिलामाथि सामाजिक संजालमा भएको प्रहारको बिषयमा बैंकले घोर आपत्ति जनाएको छ।
अनुसन्धानको क्रममा शंकाको घेरामा प्रहरीले यो केशमा जोडिएको आंशका गरेको हुन सक्ने भन्दै कटुवाललाई प्रकाउ गरेको हो । घटनाको टुङ्गो लाग्न नपाउदै उनी सामाजिक संजालमा एका एक भाईरल बनेकि छिन् ।

एक महिलाको बिषयमा सामाजिक संजालमा नकारात्मक पोष्ट र गालीगलौजको कारण यदि उनी निर्दोष सावित भए कति धेरै असर गर्ने बिषयमा नसोची भाईरल बनाएको उक्त पोष्टको बिषयमा गम्भीर आपत्ति बैंकले जनाएको छ ।

यो घटना अनुसन्धानको क्रममा रहेको कारण हाल बैंकले कुनै सूचना जारी गर्न नपाएको बीमापोष्टलाई बैंकको एक उच्च तहका कर्मचारीले बताएका छन् ।
विगत १५ बर्षदेखि बैंकिङ् सेवामा आवद्ध इटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानले विगत केही बर्षदेखि अनलाईन जुवा खोल्ने क्रममा बैंकको खातावालाको रकम हिनामिना गरेको प्रमाण देखिएसँगै उनीविरुद्ध बैंकले नै प्रहरीमा उजुरी दिएर सत्य तथ्य छानविन गरि पाउ भनेर प्रहरी हिरासतमा बुझाएका छन् ।

उनले यसअघि देखि नै खातावालाको खाताको दुरुपयोग गरेका थिए । खातावालाको पैसा हराएको घटना एकाएक बाहिरिएसँगै प्रधानको विस्तृत नालीबोली बाहिर आउन लागेको हो । प्रधानले आफ्नो अधिकारबाहिरको फिनाकल आईडी अर्थात अरुको फिनाकल आईडी प्रयोग गरेर बैंकका कर्मचारीले ग्राहकको खातामाथि पहुँच बनाएका छन् र पैसा चोरेका छन् । यसमा पैसा चोर्ने उनीमाथि होइन, आफ्नो आईडी उनलाई दिने र फिनाकल आईडीको दुरुपयोग हुन दिने बैंक दुवै जिम्मेवार छन् ।

यसअघि पनि खातावालाको पैसाको दुरुप्रयोग कैयौं पटक भएको थियो । मिडियामा नआएका हुनाले यी घटनाहरु गुपचुप छन् । ग्राहकको खाताबाटै पैसा हराउने क्रम बढेसँगै बैंकको विश्वसनीयता र ग्राहकको गुनासोमा खाताबाटै पैसा गायब भएको कारण यो समस्याको हल खोज्दै बैंकले आफै प्रहरी समक्ष उजुरी दिएको थियो ।

बैंकले नै प्रहरीमा दिएको थियो उजुरी

पछिल्लो समय दिनँहु जस्तो ग्राहकहरुले बैंकको गुनासो शाखामा आफनो खाताबाट पैसा हराएको घटना बाहिरिएसँगै बैंकले यो बिषयलाई गहन रुपमा हेर्न थालेको थियो । यसअघि भएको घटना नै पुन दोहरीएको आंशका गर्दै बैंकले उनीमाथि उजुरी दिएको थियो । उनलाई गाईघाटबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले बुझ्दै जादा उनीसँगै नौ जनापरेका छन् । बैंक बाहेक दुई जना मात्रै बाहिरको व्यक्ति प्रकाउ परेको छ। धेरै नै हुन सक्ने बैंकले आशंका गरेको छ।

एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङले बैंक कर्मचारी प्रधानको फट्याईका कारण आफ्ना ग्राहकहरूको रकम ठगी भएकोमा चिन्ता व्यक्त गरे। उनले ग्राहकको रकम हराएको घटना सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रधानविरुद्ध बैंकले नै उजुरी दिएको बताए।

यसअघि भएको ठगी
इन्चार्ज निरज प्रधानले यसअघि पनि एभरेष्ट बैंक इटहरी शाखाका एक कर्मचारीले ग्राहकको एक करोडभन्दा बढी रकम ठगी गरेका थिए । एभरेष्ट बैंक इटहरी शाखामा कार्यरत अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना बचतकर्ताहरूको रकम ठगी गरेका थिए ।प्रधानले १९ जना बचतकर्ताहरूको रकम अन्य ग्राहकको खातामा ४५ पटक ट्रान्सफर गरेका थिए । बैंक खातामा जम्मा गरेको रकम झिक्न जादा बैंकका कर्मचारीले खातामा पैसा नभएको बताएपछि बचतकर्ताहरु नै ठगिएको खुलेको थियो ।
सुरुमा एकजना ग्राहकको रकम हराएको घटना सार्वजनिक भएको थियो। पछि अनुसन्धान गर्दै जादा बैंकबाट ठगिने ग्राहकको संख्या १९ पुगेको छ। ग्राहकहरूको बयानको आधारमा एक करोडभन्दा बढी रकम ठगी गरेको पाइएको थियो । अप्रेशन इन्चार्ज प्रधानले आफूले चिने जानेकाहरूको फोटो र नागरिकताको फोटोकपी मागेर एभरेष्ट बैंकमा ३२ जनाको खाता खोलेर १९ ग्राहकको रकम ट्रान्सफर गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
एभरेष्ट बैंकका अप्रेशन इन्चार्ज निरज प्रधानले १९ जना ग्राहकको एक करोडभन्दा बढी रकम अन्य ग्राहकको खातामा पठाएर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बुटवलमा भएको घटना
बुटवलको बिपी चोकमा रहेको एभरेष्ट बैंकमा पैसा जम्मा गर्ने क्रममा ३० हजार चोरी भएको छ । दीपक गौतमले काठमाडौंमा रहेकी सालीको खातामा पठाउन लगेको पैसा चोरिएको हो । भौचर भरेर काउन्टरमा पुगेर डिपोजिट गर्न पैसा दिन खोज्दा पैसा नभेटिएपछि केहीबेर बैंकमा तनाव भएको थियो । बागेश्वरी मेडिसिन डिस्ट्रव्युटर ज्योति पथमा काम गर्ने दीपकले आफूले भौचर भर्ने बेलामा छेउमा भएको व्यक्तिले पैसा लिएर भागेको समेत आशंका गरिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले रकम जम्मा गर्ने व्यक्तिकै लापरवाहीका कारण रकम चोरी भएको भन्दै उक्त केश बन्द गरिएको थियो । यसअघि पनि सो बैंकमा रकम जम्मा गर्न गएका एक जनाको २ लाख २३ हजार रुपैयाँ चोरी भएको थियो ।

स्याङ्जामा भएको घटना
स्याङ्जाकी रेखा गुरुङको रकम बैंकबाटै एकाएक हराएसँगै बैंकमा गुनासो गर्न पुग्छिन् । उक्त घटनामा निरज प्रधानले नै ग्राहकको पैसा हिनामिना गरेको पत्ता लागिएको देखिएको थियो । ती कर्मचारीले ग्राहकको रकम चोरेर अन्यत्र सार्दा रेखा गुरुङको पैसा पनि उनले यसरी नै चोरेका रहेछन् । यो घटनापछि उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो । यस घटना भएको समय प्रधान बैंकको इटहरी शाखाका अपरेशन इन्चार्ज थिए । प्रधानकै कारण एभरेष्ट बैंकको थुप्रै खातावालाको पैसा दुरुपयोग भएका छन् । रेखा गुरुङको केस त बाहिर आयो र सबैले थाहा पाए, उनको पैसा हराएको समाचार सामाजिक संजालदेखि टिकटिकसम्म भाईरल भएको थियो ।

हाल अनुसन्धानमा खुलेको घटना
प्रहरीका अनुसार बैंकका कर्मचारीले बैंकको कम्प्युटर आइडी पासवर्ड दुरुपयोग गरी कन्ट्र्याक आइपीएस मार्फत् १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम नक्कली चेक मार्फत् झिकेर हिनामिना गरेका थिए ।

बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एकसय ५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको प्रहरी नायब उपरिक्षक राईले बताए । पक्राउ परेका कर्मचारी सहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको राईले बताए ।

खातावालाबाट हराएको रकम ग्राहकको खातामा जम्मा गरिसकेका छौं: बैक

आइतबार एक विज्ञप्ति जारी गर्दै कर्मचारीले हिनामिना गरेको भनिएको रकम चैत २२ गते नै सम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेको बताएको छ । ग्राहकको खाताबाट अनाधिकृत रूपले रकमान्तर गरेकाले बैंकले तत्कालै आन्तरिक अनुसन्धान गरी सम्बन्धित ग्राहकको खातामा उक्त रकम शोधभर्ना गरी नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको थियो, विज्ञप्तिमा लेखिएको छ, सो हिनामिना कार्यमा संलग्न कर्मचारीलाई बैंककै जाहेरीमा मिति २०७९ साल चैत्र २२ गते प्रहरीलाई जिम्मा लगाएको र हाल सो विषय प्रहरी अनुसन्धानमा नै रहेको जानकारी गराउन चाहन्छौं ।

आफ्ना ग्राहकको खाता र व्यक्तिगत गोपनीयतालाई उच्च प्राथमिकता र गम्भीरताका साथ लिएको बैंकले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, हामी हाम्रा समस्त ग्राहक महानुभावहरूको सम्पूर्ण निक्षेप रकम बैंकमा सुरक्षित रहेको जानकारी गराउँदछौं । साथै सामाजिक सञ्जालमा प्रकाशित यी र यस्ता भ्रामक समाचारका पछि नलाग्न सम्पूर्ण ग्राहक महानुभावहरू तथा सरोकारवालाहरू समक्ष हार्दिक अपिल गर्दछौं ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*