खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४० प्रतिशतले घट्यो

११ जेष्ठ २०८०, बिहीबार ०८:००

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् । गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ ।

चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा कम्पनीहरुले कुल ५ करोड २० लाख ३६ हजार रुपैयाँ स्वास्थ्य परिक्षण शुल्कमा खर्च गरेका छन् । गत वर्षको यसै अवधिसम्म कम्पनीहरुले यस्तो सेवामा ८ करोड ६५ लाख ११ हजार रुपैयाँ खर्चिएका थिए । सो अवधिसम्म सबै जीवन बीमा कम्पनीको स्वास्थ्य परिक्षण शुल्क घटेको देखिएको छ ।

गत वर्षको तुलनामा यस अवधिसम्म सबैभन्दा बढी स्वास्थय परिक्षण शुल्क घटाउने कम्पनीमा सिटिजन लाइफ रहेको छ । सिटिजको यस्तो शुल्क ६४.२७ प्रतिशतले घटाएको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफको ६४.०४ प्रतिशत, सुर्यज्योति लाइफको ६३.३८ प्रतिशत, एशियन लाइफको ५८.५६ प्रतिशतले घटेको दे्खिएको छ ।

त्यस्तै युनियन, सन नेपाल, आइएमई र महालक्ष्मीको ५० प्रतिशत भन्दा बढीले घटेको छ, भने गुराँस, प्रभु, राष्ट्रिय बीमा संस्थान र प्राइम लाइफको ३० प्रतिशत भन्दा बढीले स्वास्थ्य परिक्षण शुल्क घटेको छ । त्यस्ते, एलआइसी नेपाल, रिलायबल नेपाल, नेशनल, नेपाल र मेट लाइफको भने अन्य कम्पनीको तुलनामा कमले मात्रै घटेको छ ।

जीवन बीमा कम्पनीहरुले जीवन बीमा गर्नुअघि बीमितहरुको स्वास्थ्य परिक्षण अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान रहेको छ । तर पछिल्लो समय जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण गनुपर्ने प्रावधानलाई कागजमा मात्रै सीमित राखेको वित्तीय विवरणले देखाएको छ । सबै जीवन बीमा कम्पनीको स्वास्थ्य परिक्षण घट्दा बीमा क्षेत्रप्रति नै नकारात्मक असर पर्ने देखिन्छ ।

बीमा कम्पनीहरुले तीन–तीन महिनामा प्रकाशित गरेको वित्तीय विवरणमा स्वास्थ्य परिक्षण शुल्क सूचक छुट्याएका हुन्छन् । तर यसरी खर्चिएको रकम वास्तविक स्वास्थ्य परिक्षणको लागि भने हुँदैन । पछिल्ला दिनमा बीमा कम्पनीहरुले औपचारिकताको लागि मात्रै स्वास्थ्य परिक्षण रिर्पोट तयार गर्ने गरेको देखिएको छ ।

बीमा गर्न अयोग्य व्यक्तिहरुलाई रोक्न स्वास्थ्य परिक्षण अनिवार्य गरिएको हो । क्यान्सर तथा गम्भिर प्रकृतिका रोग लागेका व्यक्तिको बीमा नहोस भनेर स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यवस्था राखिएको हो । यसरी वास्तविक परिक्षण नै नगराइ बीमा गर्दा कम्पनीमा दाबी पर्न सक्ने जोखिम उच्च रहन्छ । तर पछिल्लो समय जीवन बीमा कम्पनीहरुको रिर्पोट हेर्दा कम्पनीहरुले स्वास्थ्य परिक्षण नै नगराई बीमा गराएको देख्न सकिन्छ । जसले गर्दा कम्पनीको जोखिम बढ्दै जाने सम्भावना बढी रहन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*