काठमाडौंमा जारी एशियाली बीमा सम्मेलनः जलवायु परिवर्तनको असरबाट हुने जोखिमदेखि साईबर सुरक्षा जोखिमसम्म छलफल

२६ जेष्ठ २०८०, शुक्रबार २०:१२

काठमाडौं । तीन दिने एशियाली बीमा सम्मेलन हिजोदेखि काठमाडौंमा सुरु भएको छ । हिजो एशियाली बीमा कम्पनीहरुको नियामक निकायसँग भएको बैठकमा पश्चात् आज उद्घाटन भई सुरु भएको बीमा सम्मेलन प्यानल डिस्कसन चलिरहेको छ ।

नेपाल बीमा प्राधिकरण (एनआईए) को आयोजनामा इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस), एसियाली विकास बैंक (एडीबी) र एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभ (एआईआई)को सहयोगमा जारी बीमा सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, जापानसहितका दुई दर्जन बढि देशबाट ५०० भन्दा बढि बीमा प्रतिनिधि, पर्यवेक्षक र पत्रकारहरुको सहभागिता रहेको छ ।

सम्मेलनको उद्देश्य उदयीमान जोखिमहरू बुझ्न, उदीयमान जोखिमहरू पहिचान गर्न, मूल्याङ्कन गर्न र न्यूनिकरण गर्ने प्रविधिहरू बुझ्ने, उदीयमान जोखिमहरूको प्रभावलाई न्यूनीकरण गर्न प्राविधिक क्षमताहरू निर्माण गर्न र आपसी समझदारी र सहयोगलाई सहज बनाउनु रहेको आयोजक प्राधिकरणले जनाएको छ ।

यो विशेष रूपमा बीमा पर्यवेक्षकहरू, अन्तर्राष्ट्रिय र स्थानीय बीमाकर्ताहरू, पुनर्बीमाकर्ताहरू, ब्रोकर कम्पनी र उदीयमान जोखिमहरूको प्रभावको लागि सबैभन्दा जोखिममा रहेका अन्य सम्बन्धित क्षेत्रहरूका सम्बन्धमा बहुआयामिक छालफल गरी साझा धारणा बनाउनु रहेको छ । आज जलवायु परिवर्तनका असर र बीमा क्षेत्रमा परेको जोखिम, जोखिममा आधारित व्यवस्थातर्फ अघि बढ्ने, समावेशी बीमाको विकास, डिजिटल आविष्कार समावेश गर्ने, सूचाकांकमा आधारित बीमा कार्यान्वयन गर्ने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । सम्मेलनमा बीमा कम्पनीहरु, पुनर्बीमा, ब्रोकरेजलगायत अन्य सम्बन्धित क्षेत्रका करिब पाँच सय विदेशी तथा नेपालीको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन सत्रमा बोल्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राविधिक विकासको तीव्र गतिले निम्त्याएका जोखिमहरूको बारेमा थप स्पष्ट हुनुपर्ने बताए । ‘जलवायु परिवर्तन, साइबर खतराहरू र भौगोलिक परिवर्तनहरूले व्यक्तिगत बीमा कम्पनीहरूलाई मात्र नभई सम्पूर्ण क्षेत्रलाई पनि बाधा पु¥याउने सम्भावना छ, जसले वित्तीय स्थायित्व र नीतिधारकहरूको सुरक्षालाई खतरामा पार्छ’, अध्यक्ष सिलवालले भने ।

उनले भने ‘नेपाल बीमा प्राधिकरणले बीमा उद्योगलाई सुव्यवस्थित गर्न र निष्पक्ष अभ्यासहरूलाई प्रवर्द्धन गर्न मर्जर र एक्विजिसनको रणनीति अपनाएको छ । हाल नेपालमा १५ जीवन बीमा, १४ निर्जीवन बीमा कम्पनी र २ पुनर्बीमा कम्पनीहरू सञ्चालनमा छन् ।’

प्राधिकरणले बीमा सूचना केन्द्र, बीमा प्रतिष्ठान र बीमा विकास कोष स्थापनाका लागि आवश्यक पहल गरिरहेको सिलवालले जानकारी दिए ।
“अवशिष्ट जोखिम व्यवस्थापनको लागि विपद् जोखिम न्यूनिकरणको लागि राष्ट्रिय रणनीतिक कार्य योजना, विपद् जोखिम वित्तपोषणलाई प्राथमिकतामा राखेर विपद् बीमा र पुनर्बीमाको माग विस्तार हुने अपेक्षा गरिएको छ, उनले भने ।
नेपाल बीमा प्राधिकरण अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्न र बीमा क्षेत्रमा उदीयमान जोखिमहरूप्रति लचिलोपन निर्माण गर्न जोखिममा आधारित दृष्टिकोणतर्फ अघि बढिरहेको छ ।

पास्केल ल्याम्ब अफ एक्सेस टु इन्स्योरेन्स इनिसिएटिभले डाटाको सीमित र कमजोर उपलब्धता र गुणस्तर र जोखिम मूल्याङ्कन र पूँजी गणना विधिको जटिलता एसिया र प्रशान्त क्षेत्रमा बीमा उद्योगका प्रमुख चुनौती रहेको बताए । उनका अनुसार बजार गतिशिलतासँग नियामक आवश्यकताहरू सन्तुलनमा राख्नु र पर्यवेक्षक अधिकारीहरूमा क्षमता अवरोधहरू अन्य चुनौतीहरू हुन् ।

यद्यपि, उनले डिजिटलाइजेसनले बीमा उद्योगलाई प्रतिस्पर्धी फाइदा र थप विविधता प्रदान गर्न सक्ने र उपभोक्ताको पक्षमा अनुभव, आत्मविश्वास र वित्तीय समावेशीकरणमा सुधार हुने बताइन् ।
त्यस्तै बीमा प्राधिकरणकै निर्देशक सुशीलदेव सुवेदीले नेपालले स्याटेलाइट प्रेसिजन बेस्ड एग्रीकल्चर इन्स्योरेन्स प्रक्रिया अघि बढाइरहेको बताउँदै श्रोत कार्यान्वयन गर्ने योजना बनाएको बेला विभिन्न अवरोधहरु सिर्जना भएर रोकिएको बताए ।

‘यस विशेषीकृत उत्पादनको बजार विस्तार गर्न हामीले इन्डेक्स डाटा प्रयोग गरेर उत्पादन विकास गर्नुपर्छ, नयाँ वितरण च्यानल प्रयोग गर्नुपर्छ, स्थानीय सरकारसँग समन्वय गर्नुपर्छ र इन्डेक्स बीमामा अनुदान दिनुपर्छ,’ निर्देशक सुवेदीले भने । एडीबीका प्रमुख वित्तीय क्षेत्र विशेषज्ञ अरूप चटर्जीले बहुपक्षीय दाताले बीमाकर्ताहरूलाई बजारमा नयाँ उत्पादनहरू पुर्याउनसक्षम बनाउने पाइलट प्रोजेक्टहरू हेरिरहेको जानकारी दिए ।
“एडीबी एक बैंक हो र हामी यसलाई कसरी जलवायु परिवर्तन, लैङ्गिक र लेनदेन अवसरहरूमा पङ्क्तिबद्ध गरिएको छ भनेर हेरिरहेका छौं ताकि हामी लामो समयसम्म संलग्न रहन्छौं,“ उनले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*