नियमविपरीत शेयर बेचेको बिषयमा हिमालयन लाइफ इन्स्योरेन्सका शाहिल अग्रवालाई धितोपत्र बोर्डले सोध्यो स्पष्टीकरण

३ श्रावण २०८०, बुधबार १०:४६

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका संस्थापक शेयर नियमविपरित बिक्रि गरेको बिषयमा नेपाल धितोपत्र बोर्डले छानविनको प्रकृया अघि बढाएको छ। शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हालै बिक्री गरेको शेयरको विषयमा छानबिन थालेको हो।

संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरी बेचेको हो वा अग्रवाल सँग पहिले नै भएको शेयर बिक्रीमा आएको हो भन्ने विषयमा बोर्डले छानबिन थालेको जनाएको छ। यस बिषयमा बोर्डले अग्रवाललाइ चिठी समेत काटेका छ । चिठीको आसय चाँही के कस्तो शेयर बिक्री भएको हो भन्ने जानकारी मागिएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ।

अग्रवालले गत असारको पाँच कारोबार दिनमा मात्रै हिमालयन लाइफको करिब २८ करोड मूल्य बराबरको सेयर बिक्री गरेका थिए । तर, सोही कारोबारमाथि बैधताको प्रश्न उठाउँदै बोर्डले अग्रवालसँग स्पष्टिकरण सोधेको बोर्डका एक उच्च अधिकारीले जनाएका छन् । ‘साहिल अग्रवालले बिक्री गरेको हिमालयन लाइफको सेयर गैरकानुनी भएको भन्दै बोर्डमा गुनासो आएको थियो ।’, बोर्डका ति अधिकारीले भने, ‘सोही गुनासोका आधारमा स्पष्टिकरण सोधेको हौं ।’

खासगरि परिवर्तन गराएको संस्थापक शेयर नै बिक्री भएको हो वा पहिले नै भएको शेयर बिक्री भएको हो भन्ने विषयमा विभागले छानबिन गर्दै छ । यस बिषयमा बोर्डले अग्रवाललाइ चिठी समेत काटेका छ ।
दुई वर्ष अघि युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत थियो। २०७७ असार २४ गते प्राथमिक शेयर निष्कासन गरेको कम्पनीले असार ३१ गते शेयर बाँडफाँट गरेको थियो। कुनै पनि कम्पनीका संस्थापक शेयरधनीले प्राथमिक शेयर निष्कासन भएको तीन वर्षसम्म शेयर बिक्री गर्न पाउँदैनन्। त्यस हिसाबले युनियन लाइफका संस्थापक शेयरधनीले ३० असार २०८१ पछि मात्रै संस्थापक शेयर बिक्री गर्न पाउँछन्।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली,२०७३ को नियम ३८ मा धितोपत्र बिक्री गर्न नपाइने भन्ने व्यवस्था छ। उक्त व्यवस्थाको (१) मा “विवरण पत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र सङ्गठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको शेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन” भनिएको छ।

सो नियमको स्पष्टीकरण दिँदै नियमावलीले “यस उपनियमको प्रयोजनको लागि “अन्य समूहको धितोपत्र” भन्नाले सङ्गठित संस्थाले विवरण पत्र प्रकाशन गरी सार्वजनिक निष्कासन गरेको तथा सर्वसाधारण समूहमा रहेको धितोपत्र बाहेक संस्थापक वा अन्य समूहले लिएको धितोपत्र र सो धितोपत्रमा प्रदान गरिएको बोनस वा हकप्रद धितोपत्र समेत सम्झनु पर्छ,” भनेको छ।

स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले शेयर बिक्री गरेका हुन्। उनी युनियन लाइफका संस्थापक शेयरधनी हुन्। पछिल्लो समय युनियन लाइफले प्रकाशित गरेको विवरण अनुसार शाहिल अग्रवालको १९.९३ प्रतिशत शेयर स्वामित्व छ। शाहिलका सहोदर दाजु सुलभ अग्रवालको नाममा १८.०४ प्रतिशत हुन आउने २७ लाख १५ हजार कित्ता संस्थापक शेयर छ। अहिले उनका दाजु हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष छन्।

अहिले युनियन लाइफ अस्तित्वमा छैन। युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्ज भएर ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ बनेको छ।तीन कम्पनी मिलेर बनेको हिमालयन लाइफको कारोबार गत वैशाख २६ गतेदेखि खुला भइसकेको छ। कारोबार खुले लगत्तै युनियन लाइफमा रहेको शाहिल अग्रवालको नामको संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गरी बिक्रीमा आएका हुन्। सोही विषयमा बोर्डले परिवर्तित संस्थापक शेयर बिक्री भएको हो वा पहिलेकै शेयर बिक्रीमा आएको हो भन्ने निर्क्योल गर्न बोर्डको सुपरिवेक्षण शाखाले छानबिन थालेको जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*