उपभोक्तालाई छैन चिनी, पहुँचवालको घरमा बोरै झार्दिन्छ साल्ट ट्रेडिङको गाडी (घटनासहित)

गुलियो चिनीको तीतो यथार्थ
२६ आश्विन २०८०, शुक्रबार ११:२७

काठमाडौं । सरकारले ठाउँ ठाउँमा दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरेको छ । अन्य आद्यान्न स्टोर तथा पसलहरु पनि सञ्चालन मै छन् । तर, उपभोक्ता एक किलो चिनीका लागि दिनभर भौतारिन्छन् ।

पसलेले पाँच किलो चिनी माग्दा २ किलो र तीन किलो चिनी माग्दा १ किलो मात्रै दिएर पठाउँछन् । त्यो पनि प्रतिकिलो एक सय ३५ देखि एक सय ४० रुपैयाँ ।

केही दिन पहिले सरकारको आधिकारिक विक्रेता खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट्र ट्रेडिङ कर्पोरेशनले सस्तोमा चिनी दिइरहेको प्रचार गरेथे । बजार मूल्य भन्दा सस्तो ९७ रुपैयाँमा प्रतिपरिवार दुई किलो । त्यो सस्तो चिनी लिन केही दिन घण्टौं लाइन बसे उपभोक्ता ।

अहिले यी दुई व्यापार कम्पनीसँग चिनी छैन । साल्ट ट्रेडिङका हाकिम ब्रजेशकुमार झा समयमा आयात अनुमति नपाउँदा चिनी आपूर्तिमा समस्या भएको बताइरहेका छन् ।
तर, उनका कर्मचारी साल्ट ट्रेडिङको लोगो भएकै गाडीमा पहुँचवालाको घरघरमा चिनी पु¥याइरहेका छन् ।

घटना १
मितिः २०८०/०६/२५ गते बिहीबार
समयः साँझ ६ : ३०
स्थानः नयाँ बानेश्वर (शंखमूल जानेबाटो) प्रहरीको उपत्यका अपराध महाशाखा जाने बाटोको ठिक अपोजिट

स्काई ब्लु कलरको सानो कार । निलो रङको गाडीको बडीमा दुई साइड सेतो पेन्टले साल्ट ट्रेडिङ कर्पोरेशन लेखिएको छ । र, लोगो छ । गाडीको पछाडी व्यागेज राख्ने ठाउँमा साल्ट टे«डिङ कै लोगो र नाम भएको सेतो बोरा भरी प्याकेजिङ गरिएको चिनी छ । गोरो वर्ण र होचो कद भएका कर्मचारी गाडीबाट ओर्लिन्छन् ।

र, फुटपाथमा चिनी रिसिभ गर्न उभिएका व्यक्ति नजिकैको फेन्सी र खेलौना पसलबाट लुगा हाल्ने ठूलो धोक्रो ल्याउँछन् । दुबैले गाडीको डिकी खोल्छन् । दायाँ बायाँ मान्छे हेर्छन् । फेन्सी सामान राख्ने बोराको मुखै चिनीको बोरासँगै जोतेर फुत्तफुत्त १० पोका चिनी हाल्छन् ।

त्यो दृष्य हेरिरहेका एक बटुवाले फोटो खिच्न खोज्छन् । हत्तपत्त साल्ट ट्रेडिङका कर्मचारीले गाडी भगाउँछन् । फेन्सी सामान राख्ने बोरामा चिनी थापेका ति पहुँचवाल पोको उचाल्न खोज्छन् सक्दैनन् । उनले सहयोगी बोलाएर त्यो पोको पसलभित्र हुल्छन् ।

घटना २
मितिः २०८०/०६/२६ शुक्रबार
समयः ८:१५ बजे (बिहान)
स्थानः जडिबुटी

गाडी र ड्रेसले साल्ट ट्रेडिङ कै कर्मचारी वा (चालक) भन्ने पक्का हुन्छ । अफिस हुँइकिने हतारोमा हुन्छन् । बाटो पारेर उनले बाहिरपट्टी अर्कै बोराको बर्को हालिएको एक धोक्रो पहुँचवालको घर अगाडि खसालेर हिँड्छन् । पहुँचवालले सहयोगी बोलाएर भित्र लान लगाउँछन् । अन्य मान्छेहरु ट्वाँ पर्छन् ।

र, त्यो दृष्यपछि बोराको वजन हेर्दा पक्कै चिनी हो भन्ने अड्कल काट्छन् । अहिले बजारमा चिनी बराबर नपाइएको समाचार आइरहेकाले त्यसरी खसालिएको चिनी नै हो भन्ने ठान्दा फरकै परेन । सरकारी स्वामित्वका कम्पनीहरुले त यस्तो व्यवहार गर्छन् भने कृत्रिम अभाव सिर्जना गरेर उपभोक्ता सेक्ने कालाबजारीयाहरुले के गरिरहेका होलान् ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*