कार्तिकदेखि अधिकांश बैंकहरुले व्याज घटाउने संकेत

कर्जा विस्तारमा हामी तगारो बन्दैनौँ : राष्ट्र बैंक
२६ आश्विन २०८०, शुक्रबार १३:०४

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कार्तिकदेखि व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट व्याज बढेको बढ्यै छ । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको प्रक्षेपण थियो । त्यस विपरीत साउनबाट असोजसम्म लगाचार व्याज बढेको अवस्था छ । राष्ट्र बैंकको मौद्रीक नीतिले औषतमा १० प्रतिशत भित्रै रहेर व्याजदर कायम गर्न भनेकामा साउनदेखि निरन्तर बैंकहरुले निक्षेपको व्याज दर बढाइरहेका छन् ।

९.९९ प्रतिशतमा झरेको मुद्दती निक्षेपको अधिकतम व्याज अहिले ११.०५४ प्रतिशतमा उक्लिसकेको छ । बचतको व्याज पनि त्यसै अनुपातमा माथि चढेको छ । सरकारले बिना व्याज स्थानीय तहको ६० अर्ब रुपैयाँ उपलब्ध गराउँदा समेत बैंकहरुले निक्षेपको व्याजदर बढाउन छोडेनन् । कार्टेलिङ खारेजीपछि अहिले सम्बन्धित बैंकले नै व्याज तोक्ने गरेका छन् ।

कार्तिकमा २० मध्ये अधिकांशले व्याज घटाउने देखिएको छ । कात्तिकमा दशैँ र तिहार विदाका कारण कुल मिलाएर १६ दिन कार्यालय खुल्ने छन् । र, त्यस्तो अवस्थामा ठूलो कारोबार केही नहुने भएकाले निक्षेपको व्याज बढाइरहनु उपयुक्त नहुने मनसाय उनीहरुले बनाएका छन् ।

राष्ट्र बैंकले कर्जा विस्तार गर्नलाई अहिले पनि आफुहरुले कुनै प्रकारको तगारो नहालेको बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘बैंकहरुले आफ्नो सोर्सको अवस्था हेरेर ऋण प्रवाह गर्ने हो । त्यो लङटम जान्छ कि जाँदैन भनेर पनि हेर्नु पर्छ । हाम्रा कारणले ऋण विस्तार रोकिएको भन्न मिल्दैन ।’

व्याजको दर घटाउन र ऋण विस्तार गर्ने कुरामा हामीसँग छलफल आवश्यक पर्दैन, उनले अगाडि भने, ‘उनीहरुले आफ्नो पोटफोलियो हेर्छन् । अवस्था सहज देखे ऋण प्रवाह गर्छन् ।’ बैंकहरुले साह्रै असज अवस्थामा पुगेको भने कै कारण राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत अकोमोडेट पोलिसी अख्तियार गरेको तर्क प्रवक्ता भट्टले गरे ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले कार्तिकमा पनि व्याज बढाउनु भनेको थप लागत बोक्नु हो, भनेका छन् । उनले भने, ‘लागत बोकेको बराबर ऋण दिन पाइए त ठिकै हो, तर चाडबाडमा त्यस्तो नहुनसक्छ । चाडबाडमा ऋणको माग हुँदैन ।’

अहिले बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८२ प्रतिशत हाराहारी छ । जुन ९० प्रतिशतसम्म भए नियामकीय प्रावधानभित्रै पर्छ । बैंकहरुसँग तरलता (लिक्विडिटी) पनि एक खर्ब रुपैयाँ छ । सीडी रेसियोबाट गणना गर्दा अहिलेको अवस्थामा बैंकहरु ४ खर्ब रुपैयाँ ऋण प्रवाह गर्न सक्छन् ।

मुख्य चाडबाडमा समेत आयात घटेका कारण विदेशी मुद्राको सञ्चिति बढेको छ । आन्तरिक मागले ऋण बिस्तार रोकिएका बेला बढ्दो तरलताले बैंकहरुलाई व्याज घटाउन दबाब दिइरहेको छ । तर, बैंकहरुले त्यसो गरेका छैनन् ।
एक दुईटा बैंकबाहेक अधिकांशमा पर्याप्त पैसा छ । पैसा थुप्रिरहने, ऋण नजाने, अनि निक्षेपको व्याज बढाउँदै जाने हो भने त आम्दानी घट्ने मात्र नभई बैंक घाटामा जानसक्ने खतरा रहने भएका कारण व्याजदर घट्ने केही बैंकरहरुले बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*