शेयरबजार गिराउने ‘दशैं’ होइन, ‘राष्ट्र बैंक’

२९ आश्विन २०८०, सोमबार १६:२२

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट जारी छ । तर, निरन्तर बजार घट्नुको कारण के ? भन्दा, उत्तर सपाट छ, ‘राष्ट्र बैंकको खराब पोलिसी ।’ लगानीकर्ताले गुमाएको १८ खर्ब गायब छ । त्यसमध्येको ६ खर्ब बैंकहरुसँग छ, भनिन्छ ।

तर, बैंकहरु ऋण दिन मुठ्ठी खोल्दैनन् । शेयर धितो कर्जाको सीमामा १२ करोडको क्याप लगाएर निकै समय लगानीको वातावरण विथोलेको राष्ट्र बैंकले त्यो सीमाको किलो सारेर व्यक्तिगत १५ र संस्थागत २० करोड बनाउनु बाहेक अन्य उपलब्धि गर्न सकेन ।

व्याजको दर घटाउनु पर्नेमा त्यसो हुन सकेन । राष्ट्र बैंक कै अकर्मण्यताका कारण अहिले मान्छेहरुसँग दशैं खर्च छैन । व्याज बुझाउने रकम छैन । खल्ती रित्तिएका कारण आम जनसाधारणले वाध्यात्मक सरसामानबाहेक अन्य वस्तु खरिद गर्ने आँट गरेका छैनन् । त्यसैले बडा दशैंको मुखमा पनि बजारमा उति साह्रो चहलपहल छैन ।

लगातार शेयर बजार घट्नुको कारण के हो ?
राजनीतिक ढल्काव राख्ने र राष्ट्र बैंकका गभर्नर कै प्रसंशसामा रमाउनेहरुले दशैं र तिहारका बेला शेयरबजार जहिल्यै शिथिल हुने तर्क गरिरहेका छन् । तर, वास्तविक लगानीकर्ताहरु दशैंका कारण शेयर बजार घट्ने तर्कसँग सहमत छैनन् । उनीहरु चाडबाडका कारण शेयर बजार घट्नु पर्ने कारण नरहेको बताउँछन् ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘दशैंका कारण शेयर बजार प्रभावित भयो भन्न मिल्दैन । त्यसो हो भने शेययरबजारमा आउनु पर्ने क्यास किनमेलमा गयो भन्ने अर्थ लाग्छ । तर, मान्छेसँग किनमेल कै लागि पैसा छैन । बजारमा चहलपहल न्यून छ । अनि, चाडबाडले पूँजी बजार प्रभावित भयो भन्न मिल्छ ? पैसा कहिँ न कहिँ गएको देखिनु पर्दैन र ?’

रौनियार त मूख्य दोषी राष्ट्र बैंक नै हो भन्छन् । पूँजी बजारलाई गलत व्याख्या गर्ने परिपाटी झन् बढ्दै गएको बताउँदै रौनियारले राजनीतिक हस्तक्षेप बढेका कारण पूँजी बजार अस्वस्थ भएको हो, भनेका छन् ।
२०-२२ वर्ष पूराना प्रमोटर शेयर समेत अहिले १०० रुपैयाँमा पाउने अवस्था आयो, उनी अगाडि भन्छन्, ‘लगानीको अवस्था यस्तो छ । यो भन्दा दुर्भाग्य के हुन्छ ?’

पछिल्लो समय विभिन्न कम्पनीले आईपीओ र एफपीओ जारी गरेका कारण पनि पूँजी बजार प्रभावित भएको कुरामा पनि त्यति गुदी नभएको उनको भनाइ छ । धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर आफुहरुले नेगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ र एफपीओ जारी गर्नबाट रोक्न आग्रह गरेको रौनियारले बताएका छन् ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेका पूर्व महाप्रबन्धक चन्द्रसिं साउद भने राष्ट्र बैंकको खराब नीति र पूँजीगत खर्चको नियतीका कारण शेयर बजार तंग्रिन नसकेको बताउँछन् । अहिले त्रैमासिक व्याज बुझाउने समय भएका कारण पनि मान्छेहरु क्यापिटल मार्केटमा नआएको हुन सक्छन्, उनले भने, ‘कार्तिकपछि शेयर बजार तंग्रिने आशा गर्न सकिन्छ । दशैं तिहारपछि सरकारको पूँजीगत खर्च पनि बढ्ला । अन्य ढोकाहरु पनि खुल्लान् ।’

कर्जाको क्याप हटाइदिएको भए ठूला लगानीकर्ताले अर्बको ऋण चलाउँथे, पूँजी बजार चलायमान हुन्थ्यो । क्यापिटल मार्केटमा पकड भएकै ठूला लगानीकर्ताले समेत कर्जाको सीमाका कारण ऋण लिन सकेका छैनन् । अब त, लगानीकर्ताहरुले राष्ट्र बैंक र अन्य बैंकहरु मिलेर कार्टेलिङ गरिरहेको शंका गर्न थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*