एनसेलको डाटा सेन्टर नै गैरकानूनी, आईएसपी र एनएसपीको गतिविधि पनि शंकास्पद

२९ आश्विन २०८०, सोमबार १७:०३

काठमाडौं । विवादै विवादले घेरिएको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल गैरकानूनी ढंगले व्यवसाय गरिरहेको भन्दै नागरिकस्तरबाटै विरोध हुन थालेको छ । एनसेलले राजस्वमा गरेको गडबडी तथा सरकारी जग्गा हिनामिना सम्बन्धमा छानविन गर्न माग गर्दै नागरिक समाजले संसद भवनअघि विरोध सभा नै गरेको छ ।

दूरसञ्चारसँग सम्बन्धित काम गर्न पाउने गरी विदेशी लगानीमा स्थापना भएको एनसेल नेपालको कम्पनी ऐन २०६३ बमोजिम नाफामूलक कम्पनीका रुपमा दर्ता भएको र उद्योग विभागबाट सञ्चालन अनुमति मात्रै लिएकाले अन्य कुनै व्यवसाय गर्नु परेमा उद्योग विभागबाट छुट्टै अनुमति लिनुपर्ने कानूनी प्रावधान सरासर अवज्ञा गरिरहेको आरोप नागरिक समाजले लगाएको छ ।

एनसेलले आफ्ना सेवाहरु उद्योग विभागको अनुमतिविना गैरकानूनी रुपमा सञ्चालन गरिरहेको भन्दै वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, बोधराज न्यौपाने, अधिवक्ता ओमप्रसाद रेग्मी, हरिप्रसाद कट्टेल लगायतले छानविनको माग गरेका छन् ।
उनीहरुले एनसेलका सन्दिग्ध क्रियाकलापहरुको साक्षी नबन्न र त्यसरी गैरकानूनी रुपमा सञ्चालित सेवाहरु नलिन समेत आम नागरिकलाई आग्रह गरेका छन् । एनसेलले नेपालको कानूनी प्रावधानको बेवास्ता गर्दै उद्योग विभागबाट अनुमति नै नलिई सोझै आफुखुसी सेवाहरु सञ्चालन गरिरहेको उनीहरुको ठहर छ ।

विदेशी लगानी भित्र्याएर व्यवसाय गरी कमाएको नाफाबाट अन्य क्षेत्रमा लगानी गर्न पाउने भए पनि त्यसको लागि उद्योग विभागबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने कानूनी प्रावधान हुँदाहुँदै एनसेलले त्यसलाई बेवास्ता गरी अन्य क्षेत्रमा लगानी गरेको तथा व्यवसाय विस्तार गरेको देखिएको कानून व्यवसायीहरुको भनाइ छ ।

मलेसियन कम्पनी आजियाटाको ८० प्रतिशत शेयर रहेको एनसेललाई नेपालको प्रचलित नियम कानूनको बेवास्ता गरी आर्ईएसपी सेवा सञ्चालनका लागि लाइसेन्स लिएको, एनएसपी सेवा सञ्चालनका लागि समेत लाइसेन्स लिएको र डाटा सर्भिस सेन्टर सञ्चालनका लागि समेत उद्योग विभागको अनुमति नलिएको औँल्याइएको छ । जुन सेवा सञ्चालन गर्न अनिवार्य अनुमति लिनुपर्ने भनिएको छ ।

नेपालको प्रचलित कानूनले निर्धारण गरेको मापदण्ड तथा कार्यविभाजन बमोजिम नेपाल सरकारबाट अनुमति नलिई गैरकानूनी रुपमा सञ्चालनमा रहेको एक विदेशी कम्पनीको डाटा सेन्टरको मातहतमा नेपालका ठूलठूला बैंक तथा वित्तीय संस्थाहरुका दैनिक कारोबार एवं गतिविधिहरु, तिनका बौद्धिक सम्पत्ति एवं तथ्याङकरु, भविष्यमा आवश्यक पर्ने महत्वपूर्ण सूचनाहरु तथा नेपाली नागरिकको व्यक्तिगत गोपनीयता र सबै किसिमका सुरक्षासम्बन्धी सूचनाहरुको विवरण समेत संग्रह गरेर राख्न सकिने आईएसपी र एनएसपी जस्ता संवेदनशील सेवाहरु आफुखुशी सञ्चालन गरिरहेका कारण त्यसबाट हुने अपुरणीय क्षतिका लागि राज्य र आम नागरिक सचेत हुनुपर्ने नागरिक समाजको तर्फबाट सत्य र न्यायको खोजी अभियानले आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*