एनआईसी बैंकका भित्रि रहस्य, सीईओ भन्दा डेपुटी र अध्यक्ष भन्दा सदस्यको शेयर धेरै

३० आश्विन २०८०, मंगलवार १३:२५

काठमाडौं । वाणिज्य बैंकहरुको भीडमा सँधै चर्चामा रहने एनआईसी एशिया बैंकको आन्तरिक मामला पनि कम्ता रोचक छैन । भरखरै २६औँ साधारणसभा सम्पन्न गरेको एनआईसीको आन्तरिक मामला बडो रोचक छ ।

एनआईसीको अमुक सञ्चालक वा व्यवस्थापक भन्दा बढी शेयर स्वामित्व दोस्रो लियरका सञ्चालक तथा कर्मचारीहरुको छ । एनआईसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनराज न्यौपाने भन्दा बढी शेयर स्वामित्व डेपुटी कार्यकारी अर्थात् निमित्त सीईओ सुधिर नाथ पाण्डेको छ ।

सीईओ न्यौपानेको संस्थापक ३००६ कित्ता र साधारण २७४६ गरी ५ हजार ७५२ कित्ता शेयर स्वामित्व हुँदा निमित्त सीईओ पाण्डेको साधारण शेयर नै १० हजार ७५५ कित्ता शेयर स्वामित्व छ । यस्तै, सञ्चालक समितिको अध्यक्ष भन्दा सदस्यको शेयर स्वामित्व बढी छ ।

सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालको संस्थापक १५ लाख ७४ हजार ५८५ कित्ता र ४ लाख ८८ हजार २२६ कित्ता साधारण गरेर २० लाख ६२ हजार ८११ कित्ता शेयर स्वामित्व हुँदा सर्वाधिक शेयर स्वामित्व भएका सञ्चालक समिति सदस्य त्रिलोक चन्द अग्रवालको संस्थापक ५५ लाख २३ हजार ९ कित्ता र साधारण ६ लाख ४७ हजार ३६७ कित्ता गरेर ६१ लाख ७० हजार ३७६ कित्ता शेयर स्वामित्व रहेको छ ।

शेयर स्वामित्वको दोस्रो नम्बरमा रहेका रामचन्द्र संघईको संस्थापक र साधारण गरेर ५१ लाख २ हजार ७५१ कित्ता शेयर स्वामित्व रहेको छ । निवर्तमान सञ्चालक समिति सदस्य निकुञ्ज अग्रवालको अध्यक्ष तुलसीराम भन्दा अलिक कम २० लाख ५७ हजार ३९५ कित्ता शेयर स्वामित्व रहेको छ ।

सेवा सुविधा पनि रोचक
संचालक समिति अध्यक्षले प्रति बैठक भत्ता २२ हजार पाउँदै आएकामा अब ३० हजार पुगेको छ । सदस्यहरुको प्रति बैठक भत्ता १८ हजारबाट बढेर २४ हजार पुगेको छ । अनि, दैनिक भ्रमण भत्तातर्फ काठमाडौं पोखरामा १२ हजार र अन्य स्थानमा १० हजार रहेकामा त्यो बढेर काठमाडौं पोखरा १५ हजार र अन्य स्थानमा १२ हजार भएको छ । अचम्म के भने ? दिल्लीको भन्दा धनगढीको हवाइभाडा किन बढी ? भनेर प्रश्न उठिरहेका बेला एनआईसीको काठमाडौं र नजिकका शहरको भ्रमणभत्ता धेरै राखिनु तथा अन्य शहरमा कम राखिनुलाई कमाई सञ्चालक वरपरै घुमाउने प्रपन्चका रुपमा अथ्र्याउन थालिएको छ ।

भारतको महानगरीय शहरमा जाँदा दैनिक १५ हजार भारु र अन्य स्थानमा जाँदा दैनिक १० हजार भारु दैनिक भत्ता दिने व्यवस्था रहेकामा अब भारतको महानगरीय शहरमा जाँदा दैनिक भत्ता २२ हजार ५ सय भारु र अन्य शहरमा जाँदा १५ हजार भारु दैनिक भत्ता हुनेछ ।

भारतबाहेक अन्य सार्क मुलुकहरुमा जाँदा दैनिक भत्ता अमेरिकन डलर १५०, एशियाली देशहरुमा अमेरिकन डलर २ सय दैनिक भत्ता र अन्य देशहरुमा जाँदा दैनिक ३०० अमेरिकी डलर दैनिक भत्ता रहेकामा त्यो बढेर भारतबाहेक अन्य सार्क देशहरुमा जाँदा दैनिक भत्ता अमेरिकन डलर २२५ , अन्य एशियाली देशहरुमा जाँदा दैनिक ३०० डलर र अन्य देशहरुमा जाँदा दैनिक भत्ता ४५० अमेरिकन डलर हुने भनिएको छ ।

अध्यक्षलाई पत्रपत्रिका तथा टेलिफोन भत्ता वापत एकमुष्ट २० हजार प्रतिमहिना र संचालकहरुलाई १७ हजार प्रतिमहिना रहेकामा त्यो पनि बढेर अध्यक्षलाई ३० हजार प्रतिमहिना र सञ्चालक समिति सदस्यहरुलाई प्रतिमहिना २५ हजार दिइने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*