को हुन् बीमा अभिकर्ता ? बीमा अभिकर्ताले गर्नै पर्ने र गर्न नहुने कुराहरु के हुन ?

पुरुषोतम नेपाल
६ कार्तिक २०८०, सोमबार १४:३७

काठमाडौं । सरल भाषामा बीमित र बीमकको बीचमा मध्यस्तकर्ताको रुपमा रही काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भन्ने गरिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताहरुलाई मेरुदण्डका रुपमा लिने गरिएको छ । कम्पनीको निश्चित कमिशनका आधारमा बीमकको तर्फबाट बीमितसक्षम गई समन्वय गर्ने व्यक्ति नै बीमा अभिकर्ता हुन् ।

बीमाको पहुँच अझै पनि आम जनतासमक्ष पूर्ण रुपमा पुगिसकेको छैन । बीमाका लागि बीमितिमाझ पुगेर जनचेतना दिनु नै अभिकर्ताको मुख्य पेशा हो । त्यसैकारण यस पेशालाई सेवामूलक पेशा पनि भन्ने गरिएको छ । बीमा अभिकर्ताहरुले बीमितलाई बीमा कम्पनीका नीति तथा बीमाका प्रकार, सुविधा तथा फाइदा आदिका बारेमा सम्पूर्ण प्रावधान बताई मानिसहरुलाई बीमा गर्न प्रेरित गर्ने गर्दछन् ।

बीमा अभिकर्ता बन्न चाहिने योग्यता के हो ?

बीमा अभिकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ भने अहिलेको अवस्थामा अभिकर्ता तालिमलाई समेत अनिवार्य गरिएको छ । शैक्षिक योग्यता पुगेका जो–कोही व्यक्ति अभिकर्ता बन्न सक्छन् तर त्यसका लागि उक्त व्यक्तिले बीमा समिति वा सम्बन्धित बीमकले सञ्चालन गरेको बीमा अभिकर्ता सम्बन्धी तालिमसहित परीक्षा समेत दिएको हुनुपर्दछ । त्यसपछि बीमा अभिकर्ताको इजाजत पत्रको लागि बीमा समितिले तोकेको ढाँचामा निवेदन दिई इजाजतपत्र प्राप्त गरी अभिकर्ता बन्न सक्नेछन् ।

बीमा अभिकर्ताको काम, कर्तव्य के हो ?

बीमा अभिकर्ताको इजाजतपत्र प्राप्त गरेपछि अभिकर्ताले आफ्नो काम र कर्तव्य नियामक निकाय बीमा प्राधिकरणले तोकिदिएको अधिकार क्षेत्रभित्र रहेर गर्नुपर्दछ । अभिकर्ताको मुख्य काम भनेको बीमा कम्पनीको तर्फबाट प्रतिनिधिको रुपमा बीमा गराउन चाहने मानिसको सम्पर्कमा पुग्ने, बीमा प्रस्ताव फारम भराउन सहयोग गर्ने, बीमितलाई बीमासम्बन्धी आवश्यक सरसल्लाह दिने तथा दाबी भुक्तानीको समयमा बीमितको परिवारलाई आवश्यक सहयोग गर्ने आदि हुन् ।

बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरु के–के हुन ?

बीमा अभिकर्ताले बीमा समितिबाट प्राप्त बीमाको किसिम समेत खुलेको बीमा अभिकर्ताको इजाजत पत्र सधैं साथमा राख्नु पर्छ भने ग्राहकले चाहेमा त्यस्तो इजाजत पत्र देखाउनु पर्छ । अभिकर्ताले ग्राहकलाई आफू अभिकर्ता भएको बीमकबारेको यथार्थ विवरण (पुँजीगत संरचना, लगानी नीति, आर्थिक स्थिति आदि) जानकारी गराउनु पर्दछ । ग्राहकलाई प्रस्ताव फाराममा खुलाउनु पर्ने सम्पूर्ण विवरणहरु खुलाउन लगाई त्यससँग सम्बन्धित कागजात ग्राहकबाट लिई बीमक समक्ष पेश गर्नु पर्दछ । अभिकर्ताले ग्राहकलाई बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाबारे पूर्ण जानकारी समेत गराउनुपर्दछ ।
बीमा अभिकर्ताले ग्राहकको पेशा, सामाजिक हैसियत र स्तरबारे बीमकलाई छुट्टै जानकारी दिनुपर्दछ भने आवश्यकतानुसार बीमकलाई अण्डरराइटिङ्ग कार्यका लागि आवश्यक पर्ने थप विवरण समेत उपलब्ध गराउनु पर्नेछ । अभिकर्ताले बीमितले अनुरोध गरेमा निर्दिष्ट समयमा बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने, इच्छाएको व्यक्ति परिवर्तन र चयन गर्ने, बीमालेख वापत ऋण लिने दावी गर्ने वा आवश्यक अन्य बीमा सम्बन्धी सेवा पुर्याउने र सहयोग गर्नु पर्दछ ।

अभिकर्ताले ग्राहकलाई बीमकको प्रस्ताव स्वीकृतिबारे बीमकको निर्णय अविलम्ब जानकारी गराउनु पर्दछ भने ग्राहकले बीमा अभिकर्तामार्फत बीमाशुल्क रकम बुझाएमा अविलम्ब त्यस्तो रकम बुझेको आधिकारिक भरपाई वा रसिद बीमा अभिकर्ताले ग्राहकलाई दिनुपर्दछ र त्यस्तो बीमाशुल्क काबुबाहिरको अवस्थामा बाहेक सम्भव भएसम्म सोही दिन र सम्भव नभए भोलिपल्टसम्म सम्बन्धित बीमकलाई दाखिला गर्नुपर्नेछ । बीमा प्रस्ताव फाराम, स्वास्थ्य सम्बन्धी विवरण फारम आदि प्रस्तावकले भर्नुपर्ने फारामहरु प्रस्तावकहरु स्वयंबाटै भराउनु पर्ने हुन्छ । प्रस्तावक निरक्षर वा असमर्थ भए प्रस्तावकले विश्वास गरेको व्यक्तिबाट त्यस्ता फारामहरु भराउनु पर्दछ ।

बीमा अभिकर्ताले गर्न नहुने गतिविधि के हुन ?
बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण नगरी बीमा बस्तु बिक्री गर्न तथा ग्राहकबारे आफूले थाहा पाएको कुनै पनि बीमासँग सम्बन्धित आवश्यक विवरणहरु सम्बन्धित बीमकलाई नबताई लुकाउन हुँदैन भने सम्बन्धित बीमकबाहेकका व्यक्ति र संस्था सामु प्रकट गर्न हुँदैन । अभिकर्ताले ग्राहकप्रति दुव्र्यवहार गर्न, करकाप गर्न, प्रलोभनमा पार्न आफूले प्राप्त गर्ने कमिशनको कुनै पनि अंश दिन वा दिन्छु भनी कवोल गर्न तथा प्रतिस्पर्धा गरी अन्य बीमा अभिकर्ताको व्यवसायमा अनावश्यक दखल पुर्याउन र बीमालेख वापत प्राप्त हुने रकमको कुनै पनि अंश बीमित वा बीमितको हकवालाबाट लिन हुँदैन ।
त्यस्तै, अभिकर्ताले निर्धारित बीमादर उल्लंघन गरी व्यवसाय हात पार्ने कार्य गर्न, नियम बमोजिम अभिकर्ताको रुपमा दर्ता कायम नहुने अवस्थामा अभिकर्ताको रुपमा कार्य गर्न र बीमा अभिकर्ता (संस्थाको भए सो को संचालक)ले कुनै पनि बीमकको तलवी कर्मचारी भै काम गर्न तथा कुनै बीमकको बीमा अभिकर्ता भई व्यक्ति, संस्था वा सो संस्थाका संचालक वा निजको नजिकको नातेदारले कुनै पनि बीमकको संस्थापक वा संचालक हुन वा कुनै पनि बीमकको १० प्रतिशत वा सो भन्दा बढी शेयर लिन हुदैन ।

बीमा अभिकर्ताले आफु अभिकर्ता नभएको कुनै पनि बीमकबारे गलत प्रचार–प्रसार गर्न तथा बीमा प्रस्ताव स्वीकृत नभएसम्म बीमाशुल्क बापतको रकम बुझिलिन र आफ्नो पेशागत व्यवसाय सञ्चालन गर्दा अन्य प्रचलित कानून उल्लंघन गरी व्यवसाय गर्न हुँदैन ।

सफल अभिकर्तामा हुनुपर्ने गुणहरु के–के हुन ?
बीमा अभिकर्तालाई कम्पनीको सम्पूर्ण बीमालेख, आर्थिक सुरक्षा, बोनसदर, वित्तीय अवस्था आदि सबैको जानकारी हुनुपर्दछ जसको कारणले बीमा अभिकर्तामा आत्मविश्वास र ग्राहकले सन्तुष्टि प्राप्त गर्दछन् । अभिकर्ताको बोलीमा आकर्षण, व्यवहारमा शिष्टता, काममा छिटो छरितो, सरल र भरपर्दाे भएमा त्यस्ता व्यक्तिले बीमा व्यवसायमा वृद्धि गर्न सक्दछन् । एक अभिकर्ता आफ्नो पेशामा अडिग, ग्राहकको सेवामा निरन्तरता र बीमा कम्पनीको हितमा समर्पित हुनुपर्दछ भने बीमा अभिकर्ताले सम्भाव्य ग्राहकको पहिचान गरि नियमित रुपमा भेटघाट गर्ने गर्नुपर्दछ ।

एक सफल बीमा अभिकर्ता हुन अभिकर्ताले आफ्नो योजना र ग्राहकको चाहना अनुरुपको बीमा योजना प्रस्तुत गर्नु पर्दछ तथा आफ्नो ग्राहकको बीमा योजना, बीमाशुल्क, बीमा नवीकरण, वीमा समाप्ति, अग्रिम भुक्तानी आदिको अभिलेख तयार गरी सुरक्षित साथ राख्नुपर्दछ । त्यस्तै, बीमा अभिकर्तामा एक उत्कृष्ट व्यापारिक शैली हुनुपर्दछ । ग्राहकहरु कतिपय कुराहरु चित्त नबुझेर रिसाउने, झर्किने, बेवास्ता गर्ने पनि गर्न सक्दछन् यस्तो स्थितिमा एक सफल अभिकर्तामा ग्राहकलाई चित्त बुझाउन सक्ने र बीमा गर्नमा अभिप्रेरित गर्न सक्ने क्षमता तथा दक्षता हुनुपर्दछ । अभिकर्ताले बीमा कम्पनीको सम्पूर्ण कार्यक्षेत्रको जानकारी लिनुपर्दछ । जसमा जोखिम बहन, अन्डरराइटरलाई सहयोग, नयाँ नयाँ बीमा लेखको जानकारी, बीमायोग्य जीवन बीमाको जानकारी, बीमितको विश्वास र सेवाको बारेमा जानकारी हुनुपर्दछ ।

प्रतिस्पर्धात्मक बजारमा सफलता प्राप्त गर्नको लागि बीमा कम्पनीले नयाँ–नयाँ बीमालेखहरु बजारमा ल्याएको हुन्छ सोको बारेमा बीमा अभिकर्तालाई पूर्ण जानकारी हुनुपर्दछ । एक सफल अभिकर्तामा दिगो विश्वास हुनुका साथै दृढ अठोटको साथ ग्रहाकको विश्वास जित्न सक्ने सामथ्र्य समेत हुनुपर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*