के हो लघुबीमा ?, के हुन् जान्नै पर्ने कुरा ?

राजन कठायत
१० कार्तिक २०८०, शुक्रबार ०६:४९

काठमाडौं । सामान्यतया लघुबीमा भनेको आयस्तर न्यून भएका व्यक्तिहरुले भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गर्ने बीमा हो । ती व्यक्तिहरुले आर्थिक र सामाजिक कारणबाट हुनसक्ने जोखिमसँग सामना गर्न तथा उनीहरुको जीउ धनको सुरक्षा गर्ने बीमा नै लघु बीमा हो ।
पशुपालन, औषधि उपचार, व्यापार व्यवसाय र आफ्ना बालबालिकाको भविष्यबारेको चिन्ताले सधै पिरोलिरहेको छ भने, कृपया लघुबीमाका कार्यक्रमहरु उपयोग गरिहाल्नुस् ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘लघुबीमा निर्देशिका, २०७६’ अनुसार न्यून आय भएको वर्गका व्यक्तिहरुलाई लक्षित गरी ल्याएको बीमा नै लघुबीमा हो । यसलाई लघु जीवन बीमा र लघु निर्जीवन बीमा गरी २ भागमा बाँडिएको छ ।
लघु जीवन बीमा भन्नाले जीवन बीमा व्यवसाय गर्ने बीमकले जारी गर्ने ‘लघु बीमा’ सम्झनु पर्दछ । यसका साथै, लघु निर्जीवन बीमा भन्नाले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले जारी गर्ने बीमालाई ‘लघु निर्जीवन बीमा’सम्झनुपर्छ ।
यस्तै, ‘लघु बीमालेख’ भन्नाले लघु बीमाको शर्त बन्देज सम्बन्धी अधिकार तथा दायित्व उल्लेख भएको बीमक र बीमितबीचको लिखित करार सम्झनु पर्ने हुन्छ । ‘लघु बीमा अभिकर्ता’भन्नाले लघु बीमालेख विक्री बितरण गर्न बीमककोतर्फबाट भूमिका निर्वाह गर्ने इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थालाई सम्झनुपर्छ ।

नेपालमा हाल ४ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । जसमा २ वटा लघु जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनी छन् । लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफ तथा लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् ।

सरकारले न्युन आए भएका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीमा आफ्नो बीमा गर्न सक्ने आर्थिक क्षमता नभएका नेपाली नागरिकको लागि लघु बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

लघु बीमाका थुप्रै विशेषता छन् । जसमध्ये केही महत्वपूर्ण विशेषता तपाई हामीले जान्नै पर्ने हुन्छ ।
–बीमा दाबी प्रक्रिया सरल र छोटो
–थौरै बचतले बीमा शुल्क तिर्न पुग्ने
–सरल प्रकृतिको बीमा
–कम अपवाद
–कम कागजी प्रक्रिया
–बीमा गर्न धेरै झन्झट गर्नु नपर्ने
–थोरै बीमाङ्कको बीमा गर्न सकिने

लघुबीमा कायर्यक्रम अन्य बीमालेखले समेट्न नसकेको तथा भुइँतहका वर्गहरुप्रति लक्षित छ । ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरु जो बीमाको दायरामा समावेश हुन सकेका छैनन् त्यस्ता वर्ग तथा व्यक्तिलाई दैनिक जीवनयापनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग गर्नका निमित्त लघुबीमा कार्यक्रम ल्याइएको हो । यस प्रकारका कार्यक्रमलाई सफल पार्न सके आम नागरिकलाई लघुबीमा क्षेत्रको दायराभित्र ल्याउन सकिनेछ ।

लघुबीमाको क्षेत्र र चुनौति

बीमा विश्वासमा टिक्ने व्यवसाय हो । न्यून आय भएका वर्गलाई लघुबीमाबारे बुझाउन जरुरी छ । जो जोखिममा छन् तिनलाई बीमातर्फ प्रेरित गर्न कठिनाई हुन्छ, नै । तर यसको क्षेत्र विस्तार गर्न बीमा शिक्षा पहिलो शर्त हो । शहरमा केन्द्रित बीमाको बजार ग्रामीण क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । ग्रामिण भेगमा यो बीमाबारे धेरथोर चर्चा पनि हुन थालिसकेको छ । स्थानीय तहका सरकारले समेत यसप्रति चासो बढाएका छन् । थोरै शुल्क र सरल रुपमा बीमा गर्न पाउनु विपन्नहरूका लागि सुखद अवसर हो ।

गाउँमा बीमा योजना कार्यान्वयन गर्न चुनौतिपूर्ण छ । पहिलो त कम्पनीहरूको लागत बढी पर्छ । त्यसकारण लागत घटाउने व्यवस्था गरिनु उचित हुन्छ । यसमा अनुदान दिने मात्र नभई, कर छूटजस्ता विकल्प पनि लिन सकिन्छ । लघुबीमा कार्यक्रमबाट विपन्न वर्ग लाभान्वित हुने भएकाले यसलाई गरिबी निवारणका कार्यक्रमसँग जोडेर समेत हेर्न सकिन्छ । नेपालमा बीमाको बजार प्रशस्त छ । त्यसमा पनि लघुबीमाको सम्भावना बढी छ । कृषि तथा स–साना व्यवसाय गर्नेहरुको संख्या ग्रामीण भेगमा बढी भएका कारण पनि लघुबीमाको बढी सम्भावना देखिन्छ । यसमा नाममात्रको प्रिमियम हुने र क्षति हुँदा बढी नै क्षतिपूर्ति पाइने तथ्य उनीहरूलाई बुझाउन सक्नुपर्छ ।

सरकारले बालीबीमामा अनुदानको व्यवस्था गरेपछि बीमा बढेको जस्तै आकर्षणका विभिन्न कार्यक्रमहरु ल्याउन सके हितकारी हुन्छ । त्यसमा बीमा प्राधिकरणले बीमितहरूबाट लिने गरेको बीमा शुल्कको १ प्रतिशत रकमको कोष परिचालन गर्न सकिन्छ । बीमाको प्रचार–प्रसारका लागि काम गर्न नसकेको भनी कम्पनीहरूले आवाज उठाइरहेका छन् । बीमा कोषको रकमबाट गाउँ–गाउँमा लघु बीमाको प्रचार हुन सके यो योजनाको सफल कार्यान्वयन हुनेछ र गरिबी निवारणमा सहयोग पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*