यी हुन् निर्जीवन बीमाका फाइदा

११ कार्तिक २०८०, शनिबार ०६:५३

काठमाडौं । निर्जीवन बीमा भनेको चल–अचल सम्पत्तिको हानी नोक्सानीको जोखिमबाट मुक्त हुनका लागि गरिने बीमा हो । निर्जीवन बीमा निश्चित अवधिका लागि गरिने सम्झौता हो । यसमा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिबीच सम्झौता हुन्छ । यस्ता सम्झौतालाई करार भनिन्छ ।

करार सम्झौता गर्दा तोकिएको निश्चित अवधिभित्र बीमा गरिएको सम्पत्तिको हानी नोक्सानी वा व्यक्ति आदिको मृत्यु वा अङ्गभङ्ग भएमा बीमाङ्कको परिधिमा रहेर वास्तविक रूपमा कति हानी नोक्सानी भएको हो ?, त्यसको आधारमा बीमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रूपमा भुक्तानी गरिन्छ ।

कुनै पनि घटना भएका खण्डमा बीमितले कम्पनीलाई प्रारम्भिक सूचना दिनुपर्ने हुन्छ । कम्पनीमा गएर फारम भरेपछि सो बीमा कम्पनीले उक्त घटनाको छानबिन गर्न सर्भेयर खटाउँछ । सर्भेयर भनेको क्षतिग्रस्त सम्पत्तिको आर्थिक मूल्याङ्कन गर्न बीमा प्राधिकरणबाट इजाजत प्राप्त भएको व्यक्ति वा संस्था हो, जसको प्रतिवेदनको आधारमा बीमितलाई बीमा कम्पनीले दावी रकम भुक्तानी गर्छ ।

विविध बीमाअन्तर्गत व्यक्तिगत दुर्घटना बीमा, सामूहिक दुर्घटना बीमा, मार्गस्थ बीमा, कामदारको क्षतिपूर्ति बीमा, गार्हस्थ्य बीमा, पशु बीमा, औषधिउपचार खर्च बीमा, सेँधमारी (लुटपाट) बीमा, बैङ्कर्सको क्षतिपूर्ति बीमा र निष्ठा जमानी आदि पर्दछन् ।

आगलागी दुर्घटनावश भएको र आगो ज्वाला प्रस्फुटित भएको अग्नि बीमामा पर्छ । अनिवार्य तेस्रो पक्षप्रतिको दायित्व बीमा, प्याकेज बीमा मोटर बीमाका प्रकार हुन् । हड्ताल, हुलदङ्गा र विध्वंसात्मक कार्यको जोखीमका लागि पनि बीमा गर्न सकिन्छ ।
निर्जीवन बीमाका प्रकारः

सामुन्द्रिक बीमा
व्यापार वा व्यवसाय गर्दा वा अन्य काम गर्दा एक ठाउँबाट अर्को ठाँउ सामान लैजादा दुर्घना हुन सक्छ । मालसामान एक ठाँउ बाट अर्को ठाँउ ओसारपसार गर्दा हुने क्षति व्यहोरिदिने बीमालाई सामुन्द्रिक बीमा भनिन्छ । व्यवसाय गर्नेका लागि यो बीमा उपयुक्त हुन्छ ।
अग्नि बीमा
निर्जीवन बीमा अन्तर्गत अग्नि बीमा पर्दछ । बीमा क्षेत्रमा भएको विकासँगै अग्नि बीमा गर्ने प्रचलन बढ्दै गएको छ । अग्नि बीमा भनेको भवन, भवनभित्र राखिएका सामान, मेशिनरी लगायत स्थिर अर्थात् अचल सम्पत्तिका लागि गरिने बीमा हो । दुर्घटनावश ज्वाला निस्केर दुर्घटना भएको अवस्थालाई अग्नि भनिन्छ भने यस्तो अवस्थामा उक्त जोखिमबाट हुने आर्थिक क्षतिपूर्ति गरिने बीमालाई अग्नि बीमा भनिन्छ । आगोबाट क्षति हुँदा क्षतिपूर्तिका लागि बीमा गर्ने व्यक्ति र बीमा कम्पनीका बीचमा गरिने करारलाई अग्नि बीमा भनिन्छ । भविष्यमा आगलागी भएर कँहि नोक्सान भयो भने त्यसको भपाईका लागि अग्नि बीमा गरिन्छ । अग्नि बीमा गरेका खण्डमा आगलागी भई दुर्घटनावश क्षति हुन पुगे बीमा कम्पनीले दिने क्षतिपूर्ति सुरक्षित हुन्छ । जसले पेशा वा व्यवसायबाटै हात धुनुपर्ने खतराबाट मुक्ति दिलाउँछ ।
हवाई बीमा
हवाई यातायात पनि जोखिमबाट मुक्त छैन । विभिन्न प्रकारका क्षति र नोक्सानी हुने खतरा यो क्षेत्रमा व्याप्त हुन्छ । हवाई दुर्घटनामा हुने जनधन, मालसामान आदिको हानी नोक्सानी व्यहोर्ने बीमालाई हवाई बीमा भन्ने गरिन्छ ।
सवारी साधन बीमा
यान्त्रिक शक्तिद्धारा सडकमा गुड्ने सवारी साधनहरु मोटरसाइकल, कार, बस जस्ता अन्य उपकरणहरु यो बीमाभित्र पर्दछन् । सवारी साधन दुर्घना हुने खतरा धेरै हुन्छ त्यसैले सवारी साधनको बीमा गराएर हुन सक्ने जोखिम वा क्षतिलाई कम गर्न सकिन्छ ।
बीमाका फाइदा
बचतः बीमालाई बचतको रुपमा पनि लिन सकिन्छ तर यो बचत बैंकमा जस्तै जुनसुकै समयमा झिक्न भने पाइँदैन । कुनै पनि नागरिकले आफ्नो सामान तथा साधनको लागि बीमा गर्ने गर्दछन् । जसले गर्दा बीमीतले दावी भुक्तानीबापत रकम पाउँछन् ।
आर्थिक सुरक्षा
जीवन बीमा भन्नेवित्तिकै आर्थिक सुरक्षा भन्ठान्नु पर्छ । जसले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको प्रत्याभूत गर्छ । जसले कुनै पनि समयमा दुर्घटना वा भैपरी आउने घटना दुर्घटनामा गुमेको वस्तु तथा सेवाको फिर्तिमा महत्वूर्ण आर्थिक सहायता गर्छ ।
कर छुट
बीमा गर्दा बीमितले राजस्व छुटमा समेत लाभ लिन सक्छन् । आयकर ऐनअनुसार बीमा गरेका खण्डमा आयमा कर छुट हुने व्यवस्था गरिएको छ ।
अफ्ठेरोमा सहयोगी
कुनै कारणवश बीमितको मृत्यु भए बीमितको परिवारलाई आफ्नो जीविका चलाउन अरुमाथि भर पर्नु पर्दैन । बीमा रकमले परिवारलाई आफ्नो जीविका चलाउन सहयोग पुग्दछ । त्यसैले बीमालाई अफ्ठेरोको सहयात्री भन्दा फरक नपर्ला ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*