के हो जीवन बीमा, के हुन् बीमाका फाइदाहरु ?

७ कार्तिक २०८०, मंगलवार १५:५८

काठमाडौं । जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष तोकिएको रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना भइहाल्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति भर्ने गर्दछन् ।

बीमा गरेका व्यक्तिहरुको जीवनमा तोकिएको समयअवधिसम्म कुनै घटना भएन भने कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । जीवन बीमाले जस्तोसुकै पीडितलाई पनि डर त्रासबाट मुक्त गराएर सहयोग गर्ने गर्दछ ।
जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ । इन्स्योरेन्सबाट बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमाको समयअवधि सकिएपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिइने गरिन्छ । बेलाबखत आइलाग्ने प्राकृतिक प्रकोपका कारण नेपालीहरुले बीमाबारे सोच्ने विचारमा केही परिवर्तन आएको पाइन्छ ।

भूकम्प, बाढी, पहिरो, आगलागी र खडेरी जस्ता प्राकृतिक विपदले गर्दा नेपालीहरुमा बीमाप्रतिको आकर्षण बढेको छ भने सोंचमा परिवर्तन आएको छ । अझै पनि कयौं नागरिकलाई बीमाबारे पर्याप्त जानकारी नभए कै कारण बीमा व्यवसाय फस्टाउन सकेको छैन । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने माध्यम बीमाले मानिसको जीवनमा आइपर्ने हरेक जोखिममलाई हदैसम्म कम गर्न सहयोग गर्ने भएकाले यो अपरिहार्य छ ।
अनि, बीमा कम्पनीहरुको नियमन नेपाल बीमा प्राधिकरणले गर्छ । केही गरी हामीले बीमा गरेको जीवन बीमा कम्पनीले दावी भुक्तानी उपलब्ध नगराएका खण्डमा बीमितले बीमा प्राधिकरणमा निवेदन दर्ता गराउन सकिने व्यवस्था छ ।

जीवन बीमाका फाइदा

आर्थिक जोखिमको हस्तान्तरण
व्यक्तिले आम्दानी गरिरहेको रकम आफ्नो परिवारको पालनपोषण, शिक्षा, स्वास्थ्यमा खर्च गरिरहेको हुन्छ । सधै एउटै परिस्थित भने नरहनसक्छ । त्यसकारण भविष्यमा आइपर्ने जोखिमलाई मध्यनजर गर्दै त्यसलाई केही हदसम्म कम गर्नका लागि जीवन बीमा गर्नुपर्ने हुन्छ । जीवनमा आइपर्ने ठूलो समस्याबाट केही राहत पुग्ने हिसाबले पनि आर्थिक जोखिमको हस्तान्तरण गर्दा बीमाबाट फाइदा लिन सकिन्छ ।

दीर्घकालीन पूँजी निर्माण
मानिसले आफ्नो उच्च आर्थिकस्तर, गुणस्तरीय जीवनको चाहना राखे पनि सजिलै पुरा गर्न सक्दैन । त्यसका लागि मिहिनेत, धैर्य र योजना निर्माण गरेर बचत गर्नुपर्दछ । बीमामा निश्चित समयमा शुल्क तिर्नु पर्ने भएकाले सोही आधारमा बचत हुँदै जान्छ । त्यसरी निर्माण भएको पूँजीलाई बीमातर्फ लैजान सके जीवनयापन भन्दा फरक खाले आवश्यकताहरु परिपूर्ति गर्न सकिन्छ ।

बालबालिकाको शिक्षा
बालबालिकाको शिक्षाका लागि चाहेअनुसार बीमा गर्न सकिन्छ । बालबालिकालाई उच्च तथा गुणस्तरी शिक्षा दिलाउन पनि बीमाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । पढाइका क्रममा सिर्जना हुने समस्यालाई जीवन बीमाका माध्यमबाट निकै हदसम्म समाधान गर्न सकिन्छ ।
भविष्यका लागि
व्यक्तिका आवश्यकता असिमित हुन्छन् । यो त अर्थशास्त्रको नियमै हो । मानिसका आवश्यकता एकपछि अर्को थपिदै जान्छन् । त्यो पनि सत्य हो । त्यसैले भविष्यका विभिन्न योजनालाई पूरा गर्न बीमा अपरिहार्य छ । कुनै पनि आवश्यकता पूरा गर्ने योजना बनाउँदा पैसा बचत गर्नुपर्ने हुन्छ । बचत बैंकमा भन्दा बीमा क्षेत्रमा गरियो भने एकातिर फजुल खर्चको जोखिम हुँदैन भने अर्कातिर भैपरी आउने समस्याको समाधान निस्किन्छ । त्यस कारण आफ्ना योजनाहरु असफल नहुने गरी जीवन बीमामार्फत भविष्यको योजना बनाउन सकिन्छ ।
ऋण र सापटको झमेलाबाट मुक्ति
नेपालमा अधिकांश व्यक्तिहरु सरसापट वा ऋणको भर परिरहेको पाइन्छ भने अपरझटका लागि कुनै पनि योजना हुँदैन । त्यस कारण भवितव्यले निम्त्याउने खोजिमले परिवारमा तनाब समेत आउन सक्छ । जीवन बीमा गर्ने हो भने भोलि जस्तो सुकै समस्या आउँदा समेत परिवारिक तनावको स्थिति रहन्न भने ऋण वा सापटको झमेलाले झम्टिने सम्भावना न्यून हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*