दशैंमा देखिएन उत्साह र व्यापार, मासु-माछा पसल समेत लगभग सुनसान

५ कार्तिक २०८०, आईतवार १८:१३

काठमाडौं । राजधानी काठमाडौंमा यस वर्षको देशैंमा खासै व्यवसायको रौनक देखिएन । महाअष्टमीको दिन मासु पसल र माछा पसलहरुमा समेत रौनक नदेखिएपछि यस वर्षको दशैं आम जनताको लागि निकै अप्ठेरोपूर्ण र निराशाजनक रुपमा मनाएको तथ्यमा पुग्न सकिने देखिएको छ ।

दशैं भन्ने वित्तिकै दशेको कूल आर्थिक कारोबारको एक तिहाई व्यवसाय हुने मुख्य सिजन मानिन्छ । दशैंमा व्यवसायीहरुले अर्बौका सामान विदेशबाट आयात गरेका हुन्छन् । तर, यस वर्ष कपडा पसल र अन्य किनमेल गर्ने पसलहरुमा त खासै भिडभाडहरु देखिएन नै मासु पसल र माछा पसलमा समेत खासै रौनक नदेखिँदा दशैं पीडादायी अवस्थामा गुजारोको तथ्यमा पुग्न सकिने आधारहरु देखिएका छन् ।

हिजो फूलपातीको दिन राजधानीका मुख्य नाकाहरुमा बीमापोष्टले अनुगमन गर्दा घर फर्कने मानिसहरुको संख्या उल्लेख्य मात्रामा घटेको देखिएको थियो । मुख्य नाकाहरु कलंकी अन्य वर्षहरुको तुलनामा न्यून मात्रामा सवारी साधनहरु देखिन्छ । कलंकी चोकमा व्यवसाय गर्दै आएका बद्री शर्मा घिमिरेले यस वर्ष जस्तो अवस्थामा कलंकी चोकमा कहिल्यै नआएको बताए । त्यस्तै, कोटेश्वरबाट दोलखा जान लागेका सार्वजनिक यातायातका सह चालक दीपेन्द्र खड्काले दशैंको फूलपातीको दिनमा काटेश्वर चोक सुनसानजस्तो देखिएको अनुभव आदानप्रदान गरे । विगतमा बसमा चढाउने ठाउँ हुने थिएन । यस वर्ष निकै मानिसहरु कम भएको बताए ।

भक्तपुरको नयाँ ठिमीमा किरण साहले यस वर्षको दशैंमा माछा बिक्रीको अवस्था देखेर लाखौं रुपैयाँ घाटा लाग्ने बताए । उनका तीन वटा एक्युरेममा रहेका ज्यूदा माछाहरु धमाधम मर्न थालिसकेका थिए । तर, व्यवसायमा भने खासै रौनक थिएन । विगतमा दशैंको फूलपातीदेखि नै अत्याधिक माग हुने भएकोले धेरै ज्यूदो माछा मगाएर राखेको तर व्यापार नहुँदा मन अत्तालिएको बताए । दशैंमा अत्याधिक मात्रामा मासुको खपत हुने गर्दछ । सो आधारमा केही पसलहरुमा आज विहान एकछिन भिडभाड जस्तो देखिए पनि मासु पसलहरुमा विगतमा जस्तो भ्याई नभ्याई समेत छैन ।


यस वर्षको दशैंमा व्यापारीहरुले अपेक्षा गरेको १० प्रतिशत पनि व्यवसाय गर्न मुश्लिक परेको चापागाउँका फेन्सी पसल सञ्चालक सुजन घिमिरेको अनुभव छ । चर्को महंगी र चर्को आर्थिक संकटका कारण यस वर्षको दशैंमा आम जनताले सोचे अनुसार सामान खरिद नगरेकोले व्यापारीहरुको दशैं पीडादायी अवस्थामा गुज्रदै गरेको व्यवसायीहरुको गुनासो छ । विगतमा वर्षहरुमा व्यवसाय गरेर अष्टमीको दिनसम्म भ्याई नभ्याई गरेर घर फर्कनेहरु व्यवसायीहरु यस वर्ष दशैंमा घर जानै नसक्ने अवस्थामा पुगेको गुनासो बीमापोष्ट प्रतिनिधिसँग गरेका छन् ।

सरकारले दशैंको समयमा हुने आर्थिक चहल पहलको आधारमा अर्थतन्त्रलाई थप चलायमान बनाउने रणनीति बनाइरहेकै बेला दशैं तिहार जस्तो वर्षदिनमा आउने राष्ट्रिय पर्वमा आर्थिक चहल पहल हुन नसकेपछि सरकार समेत अलमलमा पर्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*