‘पब्लिक’मा नजाँदै लघु बीमा कम्पनीको लगानी दुई अर्ब

१३ कार्तिक २०८०, सोमबार ११:४५

काठमाडौं । लघु बीमा कम्पनीहरूले झण्डै २ अर्ब रुपैयाँ लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका चार लघु बीमा कम्पनीले आर्थिक वर्ष २०७९–८० मा १ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार लघु जीवन बीमा व्यवसायतर्फ तीन र लघु निर्जीवन बीमा व्यवसायतर्फ चार कम्पनीको प्रस्ताव छनोट गरी लाइसेन्स वितरण गरेकामा दुई लघु जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले कारोबार शुरू गरिसकेका छन् ।

कारोबार गरिरहेका दुई लघु जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब १ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५० करोड ५० लाख रुपैयाँ र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको लगानी ५१ करोड १३ लाख रुपैयाँ छ ।

प्राधिकरणका अनुसार उनीहरुले ‘क’ वर्गका बैंकको मुद्दती निक्षेपमा ९५ प्रतिशत (९७ करोड २५ लाख रुपैयाँ) लगानी गरेका छन् । लघु जीवन बीमकको लगानी निर्देशन २०७९ अनुसार कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

दुई लघु निर्जीवन बीमा कम्पनीले ९३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स दुबैको बराबर ४६ करोड ७५ लाख रुपैयाँ लगानी छ । यी दुई कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेका छन् । लघु निर्जीवन बीमा कम्पनीले पनि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने नियम छ ।

प्राधिकरणले लघुबीमा कम्पनीको लागि न्यूनतम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकेको छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ । यद्यपि, बीमा कम्पनीहरू पब्लिकमा अझै गइसकेका छैनन् ।

प्राधिकरणले जारी गरेको ‘लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९’ को दफा ५ को चुक्ता पूँजी विभाजन शीर्षकमा लघुबीमा व्यवसाय गर्ने कम्पनीमा संस्थापक समूहको शेयर अंश न्यूनतम ५१ प्रतिशत हुनुपर्ने, न्यूनतम ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने र बढीमा ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्ट्याउनुपर्ने व्यवस्था छ ।

यसरी लघुबीमा कम्पनीले सर्वसाधारणलाई शेयर विक्री गरेपछि उनीहरूले थप पूँजी संकलन गर्नुका साथै लगानी विविधिकरणको अवसर जुट्ने आँकलन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*