‘निजामतीको नाङ्गो नाच’ : नासुको जागिर, चार श्रीमति र सासुका नाममा करोडौंका गाडी वंगला

१४ कार्तिक २०८०, मंगलवार १३:१६

काठमाडौं । निजामती कर्मचारी सेवाको चरम दुरुपयोग गरी चारवटा श्रीमती तथा आफन्तका नाममा गाडी, वंगला जोड्ने निलम्बित नायब सुब्बा सुरेश अधिकारीरुद्धको मुद्दा सर्वोच्च पुगेको छ । विशेष अदालतको फैसला चित्त नबुझेपछि भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) सर्वोच्च पुगेको हो । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेको अख्तियारले जनाएको छ ।

सुरेश गाविस सचिव, नेपाल दूरसञ्चार कार्यालयको सहायक स्तरको कर्मचारी हुँदै यातायात व्यवस्था कार्यालयको लेखापाल भए । निजामती सेवामा रहँदा उनले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको ठहर छ ।

२०५९ साल असोज १६ गते रोल्पामा गाविस सचिवबाट सरकारी जागिर खाएका अधिकारी ०६० जेठ २६ गतेदेखि २०६५ चैत्र १९ गतेसम्म नेपाल दुरसञ्चार कार्यालयमा सहायक स्तरको कर्मचारीका रूपमा काम गरे । दूरसञ्चारमा कार्यरत रहँदा उनले भत्ता, बोनस, प्रोत्साहन समेत जोड्दा वर्षभर ५ लाख ६३ हजार ९२२ रुपैयाँ कमाउँथे ।

२०६५ चैत्र ३० गते लेखापाल नियुक्त भएपछि उनको अकुत कमाउने द्वार खुल्यो । २०६७ चैतसम्म लेखापालको रूपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा काम गरेका उनले २०६७ चैतदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय इटहरीमा लेखापालको रूपमा काम गरे । यातायात कार्यालयको लेखापाल हुँदा उनले पदीय हैसियतभन्दा बढी अकुत आर्जन गर्न भ्याए । अख्तियारको अनुसन्धानबाट सुरेशले आर्जित सम्पत्ति चार श्रीमती, सासुहरुका नाममा राखेको पुष्टि भयो ।

यत्ति पुट्याँई भएपछि अख्तियारले २०७६ वैशाख २३ गते विशेष अदालतमा भ्रष्टाचारको मुद्दा हाल्यो । अख्तियारले उनीसहित उनका चारै जना श्रीमति दुर्गा अधिकारी, दीपा श्रेष्ठ, सुस्मिता अधिकारी, सोममाया श्रेष्ठलाई समेतर्ला प्रतिवादी बनाइएको थियो । उनीहरुको नाममा तराईका विभिन्न जिल्लाका महंगो ठाउँमा जग्गा खरिद गरेर आलीशान वंगला ठड्याइएको भेटिएको छ । सबै श्रीमतीका लागि छुट्टा–छुट्टै घर, गाडी र करोडौंका गरहना जोडेको भेटिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । श्रीमति मात्र नभई सासुहरुका नाममा समेत करोडौंको घर जग्गामा लगानी गरेको भेटिएको अख्तियारले जनाएको छ ।

सुरेशको वैधानिक आय ८८ लाख ३४ हजार ८८५ रुपैयाँ हुन आउनेमा ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलेन । र, विशेष अदालतले समेत उनलाई दोषी ठहर गरेको छ । न्यायधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख रुपैयाँ बढी जरिवानाका साथै जरिवानाबराबरको सम्पत्ति जफत हुने फैसला गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेको झण्डै चार वर्षपछि अभियोग ठहर हुने फैसला भएपनि सुरेश धरौटीमा रिहा भएका छन् । उनलाई ०७६ मंसिर २ गते सर्वोच्चले धरौटीमा छोड्न आदेश दिएको हो । अहिले पनि उनीविरुद्धको मुद्दा सर्वोच्चमा चलिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*