त्रिशुलीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख देवकोटाको खोजी जारी, गोताखोर टोली परिचालन

१७ आश्विन २०८०, बुधबार १२:११

काठमाडौं । धादिङको गजुरी नजिकैबाट त्रिशुली नदीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख निरन्जन देवकोटाको खोजी कार्य जारी छ । प्रहरी, स्थानीय र शसस्त्रको गोताखोर टोलीले ढुंगाको सहायताले खोजी कार्य जारी राखेको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुको टर्चर सहन नसकी सोमबार साँझ वर्षेभेल उर्लिरहेको त्रिशुलीमा हामफालेका उनको खोजी कार्य जारी रहेको धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रीनाथ गैह्रेले बीमापोष्टलाई जानकारी दिए ।

सीडीओ गैह्रेका अनुसार नदी छेउमा मोटरसाइकल र जुत्ता भेटिनु तथा प्रत्यक्ष दर्शीले नदीमा हामफालेको बताएका आधारमा सोमबार साँझदेखि नै निरन्तर खोजी भइरहेको छ । पानी परिरहेको र नदीको बहाव बढेका कारण खोजी कार्यमा कठिनाई भएको समेत उनले बताए ।

उनले भने, ‘नदी मै हामफालेको पुष्टि भएको छ । त्यसै आधारमा खोजी जारी राखिएको छ । अहिलेसम्म शव भेटिएको छैन । आफन्तहरु मंगलबारै सम्पर्कमा आएका छन् । आफन्तसँगको सोधपुछबाट केही कुराहरु खुलेका छन् । अनुसन्धान कै क्रममा रहेकाले पुष्ट्याँइ गर्न बाँकी छ ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकले टर्चर दिएका कारण सुसाइड नोट लेखेर नदीमा फाल हालेको सम्बन्धमा पनि अनुसन्धान भइरहेको सीडीओ गैह्रेले जानकारी दिए । उनका अनुसार सुसाइड नोटबारेको थप कुरा समेत स्पष्ट हुन बाँकी छ ।

खोजी कार्यमा खटिएका धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले सुसाइड नोट वा अन्य कुनै लिखत भए उपलब्ध गराउन भनी आफन्तहरुलाई भनेको जानकारी दिए । उनले भने, ‘नदीमा हामफालेको देख्नेहरु पनि हाम्रै साथमा छन् । उहाँहरुकै सहायताले हामी खोजी गरिरहेका छौँ । अहिलेसम्म मान्छे वा शव भेटिएको छैन । घाटबेसीस्थित नयाँ पुल नजिकै उनले चलाउने गरेको मोटरसाइकल र जुत्ता (चप्ली टाइपको) मात्रै भेटिएको छ ।’

सोमबार साँझ माछा मार्ने एक व्यक्तिले हामफालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी घटनास्थल पुग्दा बा.प्र ०३–००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला परेको एसपी मिश्रले जानकारी दिए । मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटाले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाइका कारण राजीनामा दिएका थिए ।

मर्जरपछि राजीनामा दिइसकेका उनलाई बैंक सञ्चालकहरुले नउठेका ऋणको छानविन गर्न भन्दै पटक–पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिएका बताइन्छ । त्यसरी टर्चर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ ।

घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति पाण्डेसँग जिज्ञाशा राख्दा जवाफ दिन चाहेनन् । जागिर छोडिसकेको व्यक्तिलाई बैंकले नै बोलाएर काठमाडौं आएका र फर्कदा घटना भएकोले बैंकका उच्च व्यवस्थापक आत्महत्या दुरुत्साहनमा मुछिने देखिएको छ ।

त्रिशुलीमा हामफालेका देवकोटा हेटौंडा उपमहानगरपालिका २ चौकीटोलका बासिन्दा हुन् । उनी नारायण देवकोटाका छोरा हुन् । नारायण देवकोटा हेटौंडाका सहकारी अभियन्ता हुन् । बीमापोष्टको सम्पर्कमा आएका पीडित परिवारका एक सदस्यले घटनाको वास्तविक अवस्था सार्वजनिक भएपछि कस्तो मुद्दा चलाउने भन्ने सम्बन्धमा निर्णय गरिने बताए ।

One thought on “त्रिशुलीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख देवकोटाको खोजी जारी, गोताखोर टोली परिचालन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*