तत्कालीन मेगा बैंक शाखा प्रमुख देवकोटाको खोजीमा वर्षा बाधक, उनी हामफालेकै ठाउँबाट बेपत्ता ३ जनाको पनि छैन अत्तोपत्तो

१७ आश्विन २०८०, बुधबार १७:२४

काठमाडौं । पानीको बहाव उच्च भएपछि धादिङको गजुरी नजिकैबाट त्रिशुली नदीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख निरन्जन देवकोटाको खोजी कार्य बुधबार पनि प्रभावित भएको छ ।

प्रहरी, स्थानीय र शसस्त्रको गोताखोर टोलीले उर्लिएको भेलमा समेत बुधबार ४–५ ठाउँमा खोजी गरे पनि नतिजा हात नपरेको धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले बीमापोष्टलाई बताए । उनका अनुसार देवकोटा वेपत्ता भएको आसपासबाट यसअघि पनि पौडी खेल्न र माछा मार्न गएका ३ जना बेपत्ता भएकामा अहिलेसम्म शव भेटिएको छैन ।

उनले भने, ‘यो बडो अफ्ठेरो ठाउँ रहेछ । यसअघि पनि पौडी खेल्ने र माछा मार्ने क्रममा वेपत्ता भएका ३ जनाको शव अझै भेटिएको छैन । ठीक त्यस्तै अहिले पनि हामीले निरन्तर खोजी जारी राखेका छौँ, तर नतिजा हात लागेको छैन । नदीको वहाव साउन महिनाको भन्दा पनि उच्च छ । त्यस कारण देवकोटा जी’को शव भेट्टाउन सकिएको छैन ।’

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुको टर्चर सहन नसकी सोमबार साँझ वर्षेभेल उर्लिरहेको त्रिशुलीमा हामफालेका देवकोटाको सोमबार साँझ धादिङको गजुरी ५ घाटबेसीस्थित नयाँ पुल नजिकैबाट त्रिशुलीमा हामफालेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकले टर्चर दिएका कारण सुसाइड नोट लेखेर नदीमा फाल हालेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । खोजी कार्यमा खटिएका धादिङ प्रहरी प्रमुख गौतम मिश्रले सुसाइड नोट वा अन्य कुनै लिखत भए उपलब्ध गराउन भनी आफन्तहरुलाई भनेको बताए ।

उनले भने, ‘नदीमा हामफालेको देख्नेहरु पनि हाम्रै साथमा छन् । उहाँहरुकै सहायताले हामी खोजी गरिरहेका छौँ । अहिलेसम्म मान्छे वा शव भेटिएको छैन । घाटबेसीस्थित नयाँ पुल नजिकै उनले चलाउने गरेको मोटरसाइकल र जुत्ता (चप्ली टाइपको) मात्रै भेटिएको छ ।’

सोमबार साँझ माछा मार्ने एक व्यक्तिले हामफालेको देखेर प्रहरीलाई खवर गरेको र प्रहरी घटनास्थल पुग्दा बा.प्र ०३-००५प ४१७६ नम्बरको मोटरसाइलक र जुत्ता फेला परेको एसपी मिश्रले जानकारी दिए । मर्जरअघि मेगा बैंकमा कार्यरत देवकोटाले मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओको चर्को पेलाइका कारण राजीनामा दिएका थिए ।

मर्जरपछि राजीनामा दिइसकेका उनलाई बैंक सञ्चालकहरुले नउठेका ऋणको छानविन गर्न भन्दै पटक-पटक केन्द्रीय कार्यालयमा बोलाएर बयान लिने नाममा मानसिक टर्चर दिएका बताइन्छ । त्यसरी टर्चर दिनेहरुमा सिईओ ज्योति प्रकाश पाण्डेको संलग्नता छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ ।

घटनाको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ ज्योति पाण्डेसँग जिज्ञाशा राख्दा जवाफ दिन चाहेनन् । त्रिशुलीमा हामफालेका देवकोटा हेटौंडा उपमहानगरपालिका २ चौकीटोलका बासिन्दा हुन् । उनी नारायण देवकोटाका छोरा हुन् । नारायण देवकोटा हेटौंडाका सहकारी अभियन्ता हुन् ।

बीमापोष्टको सम्पर्कमा आएका पीडित परिवारका एक सदस्यले घटनाको वास्तविक अवस्था सार्वजनिक भएपछि कस्तो मुद्दा चलाउने भन्ने सम्बन्धमा निर्णय गरिने बताए ।

यो पनि पढ्नुहोस्

त्रिशुलीमा हामफालेका तत्कालीन मेगा बैंक हेटौडा शाखा प्रमुख देवकोटाको खोजी जारी, गोताखोर टोली परिचालन

इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको टर्चरपछि तत्कालीन मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*