अब हामी कम्पनीको रेटिङ गराउँदै कम्पनीलाई अझ सबल र सक्षम बनाउँदै छौः सिईओ रायमाझी

२१ कार्तिक २०८०, मंगलवार १८:४०

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री शंकरकुमार रायमाझीसँग कम्पनीको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा प्रकाशन गरिने स्मारिका प्रकाशन उप–समितिको तर्फबाट लिईएको अन्तर्वार्ता

सर्वप्रथम नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका वारेमा सङ्क्षिप्तमा प्रकाश पारी दिनुहुन्छ कि ?

तत्कालीन समयमा नेपाल भित्रको आतंकवादसँग सम्बन्धित जोखिमहरू बढेको भन्दै विदेशी पुनर्बीमा कम्पनीहरू जोखिम स्वीकार गर्न अनिच्छुक भएका कारण नेपाल भित्रै उक्त जोखिमहरू बहन गर्ने उद्देश्यले वि.सं २०६०/६/३० मा नेपाल सरकार र सबै निर्जीवन बीमा कम्पनीहरूको संयुक्त लगानीमा आकस्मिक बीमा कोषको स्थापना भएको थियो ।

बर्सेनी पुनर्बीमा बापत लाखौं रकम नेपाल बाहिर जाने गरेको तथ्यलाई हृदयङ्गम गरी नेपालमै पुनर्बीमा कम्पनी स्थापना गर्ने सोच (नेपाल सरकारको वार्षिक बजेट :आ.व. २०६४/६५) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्ले २०७१/०४ /२२ मा आकस्मिक बीमा कोषको परिचालन गर्ने गरी नेपालमै पुनर्बीमा कम्पनी स्थापना गर्ने निर्णय गयो ।

सोही अनुरूप वि.सं २०७१/०७/२१ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई बीमा समितिबाट २०७१/०९/२४ गते कारोवार संचालन गर्ने इजाजत पत्र प्राप्त गरी नेपाल पुनर्बीमा कम्पनीको स्थापना र संचालन भएको हो । आकस्मिक बीमा कोषको सबै हक, अधिकार सम्पत्ति, दायित्व र कर्मचारी पुनर्बीमा कम्पनीमा सरेको छ । यस कम्पनीको स्थापना र परिकल्पना सार्वजनिक, निजी र साझेदारीको अवधारणा बमोजिम भएको हो । हाल यस कम्पनीले नेपाल लगायत विश्वका विभिन्न मुलुकका बीमा कम्पनीसँग कारोवार गर्दै आइरहेको छ ।

नेपालको प्रथम पुनर्बीमा कम्पनीका रूपमा यस कम्पनीले विगत ८ वर्षदेखि कारोवार गर्दै आइरहेको छ । यस कम्पनीको मुख्य मुख्य समस्याहरू के के पाउनु भयो ?

नेपालमा बीमाको सुरुवाती चरणमा भारतीय बीमा कम्पनीहरूको वाहुल्यता रहेको तथ्य हामी सबैमाझ जगजाहेर नै छ। देशको बैंकिङ क्षेत्रभन्दा करिव १० वर्ष मात्र कान्छो क्षेत्रको रूपमा रहेको बीमा क्षेत्र र बैंकिङ क्षेत्रको विकासलाई तुलना गर्दा यी दुई क्षेत्र बीच गहिरो खाडल रहेको प्रष्ट छ । बैंकिङ क्षेत्रले अर्थतन्त्रका विभिन्न आयामसँग प्रत्यक्ष सम्बन्ध राख्दछ भने बीमा क्षेत्र र अर्थतन्त्रका अन्य क्षेत्रको सम्बन्ध पनि अत्यन्तै सम्वेदनशील र महत्वपूर्ण रहेको हुन्छ ।

बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्दछ भने बीमा क्षेत्रले अन्य क्षेत्रलाई सुरक्षा प्रदान गर्दै ढुक्कसँग कारोवार गर्न सक्ने अवस्थाको यकिन गराउँदछ । यसरी हेर्दा बीमा क्षेत्र अर्थतन्त्रको संवेदनशील अंग हो । यस क्षेत्र अझै पनि बैंकिङ जतिको आधुनिकिकृत हुन सकेको छैन ।

कम्पनीका निमित्त आवश्यक विज्ञ एवं दक्ष जनशक्ति नहुनु, अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर नहुनु, कम्पनीको अन्तर्राष्ट्रिय स्तरको रेटिङ नहुनु, भवन निर्माण समयमै गर्न नसक्नु, पर्याप्त पूँजी नहुनु, संचालक समितिको नेतृत्व परिवर्तन भइरहनु, सरकारबाट संरक्षित एवं प्रवर्द्विवत यस कम्पनीको व्यवसाय हालमा आएर नियामक निकाय नेपाल बीमा प्राधिकरणद्वारा नै कटौती गरिनु, बीमा कम्पनीहरूबाट उचित समयमै व्यवसायिक तथ्याङ्क तथा बीमा शुल्क प्राप्त नहुनुले समयमै वित्तीय विवरण प्रकाशन गर्न नसक्नु आदि प्रमुख समस्या एवं चुनौतीका रूपमा उपस्थित छन् ।

यस कम्पनीको व्यवसाय नियामक निकाय नेपाल बीमा प्राधिकरणद्वारा कटौती गरिनु प्रमुख समस्या र चुनौतीका रूपमा उपस्थित भएको उल्लेख गर्नु भयो । यसले कम्पनीको व्यवसायमा के कस्तो असर पुराउदैछ ?

जुनसुकै व्यक्तिलाई पनि आफ्नो सम्पत्तिको रक्षा गर्ने र त्यसको बढोत्तरी गर्ने हक हुन्छ । त्यही कुरा कम्पनीको हकमा पनि लागू हुन्छ। प्राकृतिक न्यायका सिद्धान्त र कानुनका शासनले यही भन्छ। हाम्रो यस कम्पनीमा नेपाल सरकारको लगानी ४४.०४ प्रतिशत रहेको छ । सरकारी लगानी समेतमा स्थापित एवं संचालित यस कम्पनीको व्यवसाय पहिले सरकारद्वारा विशेष व्यवस्था गरि संरक्षित एवं प्रवर्द्धिधत थियो । यस कार्यलाई निरन्तरता दिइनु पर्नेमा नेपाल बीमा प्राधिकरणका अनेकन निर्देशनहरूले कम्पनीका व्यवसायमा कटौती हुन गई व्यवसायिक वृद्धिमा नकारात्मक असर पर्न गएको वा जान सुस्पष्ट छ । यस कार्यले हाम्रा लेखाजोखा–हिसाव किताव अनुसार कम्पनीको वार्षिक आयमा अत्याधिक प्रभाव पर्ने देखिन्छ । यस अतिरिक्त नेपाल बीमा प्राधिकरणको यस्ता निर्देशन तथा विभिन्न नीतिहरूमा भएका अल्पकालीन परिवर्तनले समग्र अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश दिइरहेको छैन ।

त्यसो हो भने नेपाल सरकारको आफ्नै कम्पनीको व्यवसाय संरक्षण एवं प्रवर्द्धन गर्न कम्पनी के के गर्दै छ त ?

२०७८ मंसिरवाट सुनियोजित रूपले यस कम्पनीको व्यवसाय कटौती गर्ने कार्यको थालनी भएको हो । त्यसयता व्यवसाय संरक्षण गर्न स्वयं नेपाल बीमा प्राधिकरण र नेपाल सरकार अर्थ मन्त्रालयलाई समेत पटक पटक पत्राचार एवं अनुरोध गयौं । सरकारी कम्पनीको ब्यवसाय संरक्षण गर्न गराउन प्रतिस्पर्धी कम्पनी र नियामक निकाय समेतको कार्यव्यवहारले हामीलाई निकै गाह्रो परेको छ ।

खासगरी आतंकवाद जोखिम समूहको ब्यवसाय, प्रत्यक्ष हिस्साको व्यवसाय र जीवन बीमाको नवीकरण शुल्क सम्बन्धमा कम्पनीको संचालक समितिले दुई दुई पटक (२०७९।०७५०१ र २०८०।०३।११ गते) व्यवसाय संरक्षण गर्न निर्णय गर्न वाध्य हुनु पयो ।

संचालक समितिले २१२ पटक निर्णय गरेका विषयमध्ये नेपाल सरकार, अर्थ मन्त्रालयको पत्राचार पश्चात नेपाल बीमा प्राधिकरणले आतंकवाद जोखिम समूहको पुल व्यवसाय यथावत रूपमै यस कम्पनीलाई नै उपलब्ध गराउन सबै निर्जिवन बीमा कम्पनीहरूलाई परिपत्र जारी गरेको छ ।

एकातिर नेपाल बीमा प्राधिकरणद्वारा जारी परिपत्रअनुसार बीमा कम्पनीहरूले त्यसको कार्यान्वयन गरिरहेका छैनन् भने अर्कातिर संचालक समितिले गरेको निर्णयका आधारमा नेपाल सरकार अर्थमन्त्रालयले मिति २०८०।०३।२ ९ गते (प.सं. वि. क्षे. व्य.सं २०७९/८० च.नं. ८७९) नेपाल बीमा प्राधिकरणलाई “आवश्यक कारवाही गरी जानकारी गराउने सम्बन्धमा भनी गरेको पत्राचारको मूल विषय प्रत्यक्ष हिस्सा र जीवन बीमाको नवीकरण शुल्क बारे आवश्यक र उचित निर्णय नेपाल बीमा प्राधिकरणले गरी परिपत्र नगरिदिनाले कम्पनीलाई वित्तीय रूपमा अप्ठेरोमा पार्ने कार्य भएको छ । यद्यपि यी विषयमा अनेकन लिखित तथा मौखिक अनुरोधहरू गरिएका छन् । सरकारको आफ्नै कम्पनीको व्यवसाय संरक्षण एवं प्रवर्द्धन गराउन प्रतिस्पर्धी कम्पनी समेतका कारणले आगाले नपोल्ने र पानीले नभिज्याउने प्रवृत्ति सशक्त हाबी भइरहेको अवस्था छ । तर पनि कम्पनीको व्यवसाय संरक्षणमा कम्पनी परिवार सचेतताकासाथ लागिपरेको छ ।

नेपाल सरकारले आफ्नै कम्पनीको व्यवसाय संरक्षण गरिदिन्छ भन्नेमा तपाई विश्वस्त हुनु हुन्छ कि हुनु हुन्न ?

म पूर्ण विश्वस्त छु। यसो गर्नु सरकार स्वयंको परम दायित्व पनि हो । नेपाल सरकारले आफ्नै लगानीमा स्थापना गरि संचालन गरेको यस कम्पनीको व्यवसाय संरक्षण गर्ने छ र पवित्र राष्ट्रिय स्वर्थको संरक्षण एवं प्रवर्द्धन समेत गर्नेछ । यसको शुरूवात वर्तमान माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यूबाट भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनले गर्दा कम्पनीले गुमाउन बाध्य भएको प्रत्यक्ष हिस्साको व्यवसाय र जीवन बीमाको नवीकरण शुल्क पनि माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतज्यूको निर्देशनले यस कम्पनीले नै प्राप्त गर्नेछ भन्नेमा कम्पनी आशावादी छ ।

तपाईं नेपालको बैकिङ क्षेत्रको लामो अनुभव सहित यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनुभयो । बैंकिङ क्षेत्र र बीमा क्षेत्रमा के कस्तो भिन्नता पाउनु भयो ? आफ्नो अनुभव बताई दिनु हुन्छ कि ?

तीन दशक बैंकिङ क्षेत्रमा व्यतित गरेर यस बीमा क्षेत्रलाई कर्म थलो बनाउँदा मैले पाएका भिन्नताहरूको बारेमा भन्नु पर्दा नेपालको बैंकिङ क्षेत्र बीमा क्षेत्र भन्दा १० वर्ष पुरानो भएता पनि परिपक्वताको आधारमा भन्ने हो भने बैंकिङ क्षेत्र धेरै अगाडि रहेको देखिन्छ । वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गरिएकाले बैंकिङ क्षेत्रमा अत्यन्तै सकारात्मक प्रभाव पयो । बैंकिङ क्षेत्र भन्दा बीमा क्षेत्र पछाडि रहेको छ । बीमा क्षेत्रको उन्नति एवं प्रगतिका लागि नेपाल सरकार, नियामक निकाय लगायत सम्पूर्ण क्षेत्रको योगदान महत्वपूर्ण रहनेछ र आगामी दिनमा यस क्षेत्रको गुणात्मक र परिमाणात्मक विकास गर्नु अपरिहार्य छ ।

हिजोका दिनसम्ममा नेपाली पुनर्बीमा वजारमा एकल संस्थाको रूपमा रहेको यस कम्पनीले अव प्रतिस्पर्धी समेतको आगमन भई सकेको अवस्थामा के कसरी आफ्ना कार्यहरू अघि वढाउने रणनीति रहेको छ ? संक्षेपमा बताई दिन हुन्छ कि ?

दुबै कम्पनीले पुनर्बीमा व्यवसाय गर्ने हो । फरक यति मात्र हो, हाम्रो कम्पनीमा सरकारको अधिक सेयर स्वामित्व रहेको छ । वस्तुगत तथ्य र व्यवहारहरूले यो प्रमाणित गरेको छ कि निजी क्षेत्रको लगानीमा स्थापित प्रतिस्पर्धी कम्पनी सरकारी कम्पनीको नाफामूलक व्यवसाय खोस्न स्थापित गरिएको रहेछ । प्रतिस्पर्धी कम्पनीले हामीलाई निकै अव्यवसायिक ढंगले चुनौती दिइरहेको छ । तर हामी व्यवसायिक रूपले अघि बढिरहेका छौं । अधिकांश बीमा कम्पनीरूको लगानी रहेको यस कम्पनीले आफ्नो व्यवसायलाई अगाडि बढाउँदै एशिया महादेशमै एक सबल, गुणस्तरीय र प्रभावकारी पुनर्बीमा कम्पनी बन्ने रणनीति लिएको छ ।

पुनर्बीमा बजार कहिले पनि राष्ट्रको हुँदैन, यो सदैव अन्तर्राष्ट्रिय हुन्छ भन्ने गरिन्छ, यस सम्बन्धमा नेपाल पुनर्बीमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा के कसरी आफ्नो उपस्थिति जनाएको छ ? यसरी अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा कारोवार गर्नु पर्दा यस कम्पनीले के कस्ता चुनौतिहरूको सामना गर्नु परेको छ र आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा परिस्कृत रूपमा कारोवार गर्न के कस्तो रणनीति लिनु पर्ने हुन्छ ?

निश्चय नै पुनर्बीमामा बीमाको चक्र निकै लामो हुने गर्दछ । एउटा कम्पनीले स्वीकार गरेको पुनर्बीमा अर्को पुनर्बीमा कम्पनीमा रेट्रोसेशन गर्ने भएकाले रेट्रोशेसनको चक्कर एउटा देश वा महादेशमा मात्र सीमित हुँदैन, यो विश्वव्यापी रूपमा फैलिएको हुन्छ । नेपाल पुनर्बीमा कम्पनीले आफूले स्वीकार गरेको जोखिम मध्ये आफ्नो खुद धारण क्षमताले भ्याए सम्मको जोखिम आफूसंग राखेर बाँकी जोखिमको रेट्रोसेशन मार्फत जोखिम न्यूनीकरण गर्ने गरेको छ । यसरी जोखिम स्वीकार गर्ने र जोखिम व्यवस्थापन गर्ने वीचको तालमेल नै पुनर्बीमा कम्पनीको मुख्य चुनौतिको रूपमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय बजार मार्फत सस्तो पुनर्बीमा व्यवसाय प्राप्त गर्न केही प्राविधिक शर्तहरू पूरा गर्नु पर्ने हुन्छ जुन हामी एक्लैले गर्न सक्ने अवस्था हुँदैन । जस्तो कि हाम्रो कम्पनीको अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी मार्फत रेटिङ गराउनु पर्ने छ त्यसको लागि सर्वप्रथम देशकै जोखिमका आधारमा रेटिङ हुन आवश्यक छ जुन हामीले गर्ने हैन । यो भयो भने हामीले अन्तर्राष्ट्रिय बजारबाट सस्तो पुनर्बीमा पाउने सम्भावना रहन्छ । यसका अतिरिक्त सबल, सक्षम, प्राविधिक रूपले दक्ष जनशक्तिको आपूर्ति, अन्तर्राष्ट्रिय स्तरको प्रभावकारी सफ्टवेयरको खरिद र कार्यान्वयन, अन्तर्राष्ट्रिय रूपमा कम्पनीको रेटिङ गरि गराई कारोवार बढाउने रणनीति लिइएको छ ।

२०८० असार १५ मा आठौं साधरण सभा सम्पन गर्नुभयो । चुक्ता पूँजी १२ अर्व ८१ करोड ३५ लाख पुग्यो । के यो पूँजी पर्याप्त हो ?

होइन, पक्कै पनि हैन । जोखिम मापनको आधारमा पूँजीको व्यवस्था गर्नुपर्छ । ग्लोवल वार्मिङ र क्लाइमेट चेञ्जले जोखिमको मात्रा बढाइरहेको छ। जसका कारण अन्तर्राष्ट्रिय बीमा बजारमा महाबिपत्ति जोखिमको लागि मूल्य बढ्दै जाँदा पुनर्बीमा व्यवसायका माध्यमवाट अत्यन्तै धेरै ठूलो रकम खर्चिनु परेको सन्दर्भमा कम्पनीले आफनो धारण क्षमता समेतलाई बढाएर रेट्रो कष्ट घटाउनु पर्ने देखिन्छ जसका लागि पूँजीको पर्याप्तता निर्धारक तत्व हो भने अपतकालीन परिस्थितिमा दायित्व वहन गर्न हाल यस कम्पनीको पूँजी पर्याप्त छैन । त्यस कारण मेरा निजी विचारमा कम्पनीको पूँजी कम्तीमा रू २५ देखि ३० अर्ब पुयाइहाल्नु पर्ने अवस्था देखिन्छ । कम्पनीले नाफाको आधारमा दिने लाभांशले मात्र यो सम्भव छैन । हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्नु पर्नेछ ।

कम्पनी २०७१ सालमा स्थापित भए तापनि कम्पनीका निमित्त नभई नहुने दिग्दर्शन र कार्यविधिहरू रहेनछन् । कम्पनीका लागि आवश्यक दिग्दर्शन र कार्यविधि निर्माण गर्ने कार्य कत्तिको चुनौतिपूर्ण रह्यो ?

निकै नै चुनौतीपूर्ण रह्यो । निश्चय नै कम्पनी नयाँ भएकोले निक्कै कार्यविधि तथा दिग्दर्शन निर्माण गर्न बाँकी नै थिए । यसको अभावमा दैनिक कार्य सम्पादन मै प्रतिकूल असर पर्ने भएकोले मेरो नियुक्ति भइसकेपछि गत आर्थिक वर्ष २०७८/७९ मा निर्जीवन जीवन दाबी दावी दिग्दर्शन– २०७८, दिग्दर्शन–२०७८, निर्जीवन बीमा अण्डरराईटिङ्ग दिग्दर्शन– २०७८, जीवन बीमा अण्डरराईटिङ्ग दिग्दर्शन– २०७८, पुनर्बीमा दिग्दर्शन–२०७९, कार्यविधि–२०७८,
बजारीकरण दिग्दर्शन–२०७९, कर्मचारी कल्याण कोष संचालन कार्यविधि–२०७९, कर्मचारी कल्याणकारी कोष संचालन कार्यविधि–२०७९, श्रेणी विहिन कर्मचारी स्तरवृद्धि सम्बन्धी ज्ञ यी कार्यविधि–२०७९, बनाइएका छन् दिग्देशनहरू अनुरूप गर्ने कार्यभारलाई कम्पनीले पुरा गर्दै जानु पर्नेछ । कम्पनीका लागि बनाइएका दिग्दर्शनहरू समयसापेक्ष संशोधन गर्ने र केही दिग्दर्शनहरू बनाउनु पर्ने आवश्यकता पनि देखिएको छ ।

यहाँको कार्यकालमा कम्पनीको पुनर्बीमा व्यवसायमा वृद्धि कस्तो रहेको छ यस बारेमा प्रकाश पारि दिनु हुन्छ कि ?
यस कम्पनीले सुरुवात देखि नै नेपाल लगायत कम्पनीले सुरूवात विश्वका विभिन्न मुलुकका बीमा कम्पनीहरूसँग पुनर्बीमा कारोवार गर्दै आइरहेको छ । कम्पनीको विगत ३ आ.व. को पुनर्बीमा शुल्क वृद्धि क्रमश आ.व. २०७६/७७ मा १६ प्रतिशत, आ.व. २०७७/७८ मा ३२ प्रतिशत आ.व. २०७८/७९ मा करिव २० प्रतिशत वृद्धि गरेको छ भने आ.व. २०७९/८० मा प्रत्यक्ष हिस्साको ब्यवसायमा भएको ५० प्रतिशतको कटौतिका बावजुद पनि व्यवसायमा करिव ५ प्रतिशतको वृद्धि भएको छ । साथै पुनर्बीमा कम्पनीको मुख्य व्यवसायको श्रोत भनेको ट्रिटि व्यवसाय हो र यस कम्पनीले आ.व. २०७६/७७ मा नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरू मध्ये ६ वटा बीमा कम्पनीसँग ट्रिटि व्यवसायमा सहभागिता गरेकोमा आ.व. २०७७/७८ मा १० वटा, आ.व. २०७८/७९ मा ११ वटा, आ.व. २०७९/८० मा १८ वटा कम्पनीसँग र चालु आ.व. मा कुल १४ बटा निर्जीवन बीमा कम्पनी मध्ये १३ वटा कम्पनीसँग ट्रिटि व्यवसाय सम्झौता भएको र यस आ.व.मा अन्य पोर्टफोलियोको कम्पनीले मोटर र अगुवा पुनर्बीमकका रूपमा ८ वटा कम्पनीको पुनर्बीमा व्यवसाय प्राप्त गरि प्रगति पथमा अगाडि बढेको छ ।

बीमा व्यवसायमा शीघ्र दाबी भुक्तानीलाई प्रमुख अस्त्र अर्थात प्रतिस्पर्धात्मक क्षमताको रूपमा लिइन्छ तर नेपालमा बीमा क्षेत्र दाबी भुक्तानीको सन्दर्भमा अलिक पछि छन् भनिन्छ यसमा तपाईको धारणा के छ र नेपाल पुनर्बीमा कम्पनीले दाबी भुक्तानी प्रकृयालाई छिटो छरितो पार्न के कस्ता कार्य गर्दै आइरहेको छ ?

बीमा व्यवसाय भनेकै क्षतिको बखतमा सम्पतिका मालिक तथा जीवन बीमाका आश्रितलाई यथाशीघ्र राहत तथा वित्तीय सहयोगका लागि गरिने व्यवसाय भएकाले बीमा कम्पनीले दाबी भुक्तानी कति सहज र कति शीघ्र रूपमा गर्दछ भन्ने कुराले अहम भूमिका खेल्दछ ।

नेपालको बीमा बजार उमेर खाएको तर आशातित सफलता हासिल गर्न नसकेको क्षेत्र भएकाले दाबी सम्बन्धी प्रकृयामा भएका जटिलता, प्रविधिको न्यून प्रयोग, दाबीलाई खर्चको रूपमा लिने परिपाटी तथा दाबी व्यवस्थापन सम्बन्धी पर्याप्त सिपको कमीका कारण यस क्षेत्रको दाबी भुक्तानीको अवस्थालाई संतोषजनक मान्न सकिदैन भने अर्कातिर दाबी भुक्तानी शीघ्र गर्दा बीमा दाबीमा हुने विभिन्न ठगीका घटनालाई केलाउन सकिएन भने त्यसले बीमा बजारलाई नै नकारात्मक प्रभाव पार्न सक्ने जोखिम समेत रहन्छ । तसर्थ नेपालको बीमा बजारले दाबी सम्बन्धी ठगीका घटनालाई निरूत्साहित गर्दै दाबी भुक्तानीको प्रकृया सहज र छिटो छरितो बनाउन आवश्यक देख्छु ।

नेपाल सरकारको ध्वजा वाहक नेपाल पुनर्बीमा कम्पनीको कुरा गर्दा विगतमा दाबी भुक्तानी सम्बन्धी केन्द्रिकृत अख्तियारी, झन्झटिला कागजी प्रकृया, कर्मचारीको अभाव, कर्मचारीमा सिपको अभाव तथा बीमा कम्पनीबाट समयमै दाबीको जानकारी र अत्यावश्यक कागजात आइनपुग्दा केही ठिलासुस्ती भएता पनि पछिल्लो समयमा कम्पनीको दाबी भुक्तानीमा निकै सुधार आइसकेको छ भने आगामी दिनमा थप सुधार गर्दै जाने छौं । कम्पनीले आ.व. २०७५÷७६ मा कुल २९४ वटाको रू. २८ करोड ९८ लाख दाबी रकम भुक्तानी गरेको थियो । आ.व. २०७९/८० मा मात्र भुक्तानी भएका दावीको संख्या १४८२ वटा पुराइयो ।

यो वर्षमात्र रू. १ अर्ब ६५ करोड ८३ लाख दावी भुक्तानी गरियो । यसरी कम्पनीले पछिल्ला समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर अघि बढ्दा हालसम्म कुल २५ अर्व १५ करोड ३१ लाख दाबी भुक्तानी गरेको छ जुन कम्पनीको हालको चुक्ता पूँजीको करिव २ गुणा हुन आउँछ । यसका अतिरिक्त कम्पनीले आफ्ना तथा बीमा बजारमा कार्य गरिरहेका कर्मचारीहरूलाई दाबी भुक्तानीमा दक्षता अभिवृद्धि गर्न विभिन्न सिपमूलक तालिम तथा गोष्ठी समेतको आयोजना गरिरहेकै छ र यसलाई आगामी दिनमा समेत निरन्तरता दिने छ ।

पुनर्बीमा ब्यवसायमा कम्पनीको स्तरिकरण (रेटिङ) को अहम भूमिका रहन्छ । यसका लागि के कस्ता पुनर्बीमा ब्यवसायमा कम्पनीको स्तरिकरण (रेटिङ) पहल भैरहेका छन् ? बताइदिनुहुन्थ्यो कि 

पक्कै पनि पुनर्बीमा ब्यवसाय अन्तर्राष्ट्रिय ख्याति तथा कम्पनीको सबलिकरणको स्थितिलाई मध्यनजर गरी गरिने व्यवसाय भएको हँदा कम्पनीको स्तरि करण (रेटिङ)को अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । नेपाल पुनर्बीमा कम्पनीको हाल सम्म अन्तर्राष्ट्रिय स्तरको स्तरिकरण (रेटिङ) नभैसकेकाले व्यवसायमा केही चुनौतिहरू पनि नभएका हैनन् । सम्झौता भए पश्चात करिव ६–७ महिना भित्र नेपाल पुनर्बीमा कम्पनीलाई अन्तर ष्ट्रिय संस्थाले स्तरनिर्धारण (रेटिङ) गर्नेमा हामी विश्वस्त छौ साथै उक्त स्तरिकरण (रेटिङ) पश्चात कम्पनीको व्यवसायको आकार र आयतन वृद्धि हुनेमा पनि हामी ढुक्क छौं ।

यस कम्पनीको आफ्नै भवन कहिले बन्छ होला ? बताइदिनुहोस न।
विगत लामो समयदेखि भाडाको भवनमा कार्य संचालन गर्दै आईरहेको यस कम्पनीले शान्तिनगर, नयाँवानेश्वरमा रहेको आफनो ४ रोपनी भन्दा बढी क्षेत्रफल भएको जग्गामा भवन निर्माण गर्ने योजना सहित अघि बढेको छ । निर्माण सँग सम्बन्धित विभिन्न ऐन कानून, नीति सबै परिपालना गर्दै अघि बढ्नु पर्ने भएकाले यस कार्यमा केही बिलम्ब भएता पनि यसको सिलान्यास एवं कार्यारम्भ यसै आ.व. भित्र गर्ने योजना सहित कार्य भइरहेको जानकारी गराउन चाहान्छु ।

आजको सूचना प्रविधिको युगमा ब्यवस्थापकीय सुचनाको निकै ठूलो भुमिका रहेको हुन्छ भने अवको युग भनेको कागज हैन कम्प्युटर हो समेत भन्न थालिएको सन्दर्भमा नेपाल पुनर्बीमा कम्पनीको डिजिटाइजेसन सम्बन्धी के कस्तो रणनिति रहेको छ प्रकास पार्दिनु हुन्छ कि ?
पक्कै पनि आजको युग भनेको सूचना कै युग हो र सूचना को महत्व बीमा बजारमा अत्यन्तै रहेको हुन्छ । बीमा भनेको भविष्यमा हुन सक्ने जोखिमलाई हेरेर गरिने भएकाले जोखिमको सूचना बीमा आंकलन र प्रक्षेपण दुवैको हिसावले व्यवसायका लागि त मुटु समान रहेको हुन्छ । अझ भन्नु पर्दा पुनर्बीमाका लागि त प्राकृतिक प्रकोप तथा महाविपत्तिको प्रक्षेपणका लागि ५० देखि १०० वर्षका तथ्यांकलाई अध्ययन गर्नुपर्ने हुन्छ जुन कागजी प्रकृयावाट असम्भव प्रायः देखिन्छ । यसै परिस्थितिलाई मध्यनजर गरि हामीले हाल सम्म स्थानीय प्रविधिलाई प्रयोग गरिरहेको भएता पनि अव उक्त प्रविधि सफ्टवेयरले कम्पनीको कारोवारको स्थितिलाई धान्न नसक्ने आंकलन गरेर अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर खरिदका लागि समेत अघि बढी सकेको कुरा जानकारी गराउन चाहान्छु । आशा छ उक्त अन्तराष्ट्रिय स्तरको सफटवेयर यसै आ.व. भित्र जडान भई कार्य सुरूवात गरिने छ ।

आ.व. २०७८।७९ मा मात्रै २ चरणमा कर्मचारी भर्ना भएको यस कम्पनीमा आ.व. अव कम्पनीलाई थप कर्मचारी नचाहिने हो २०७९१८० मा कर्मचारी भर्ना नै भएनन । के वा अरू केहि कारण ले भर्ना प्रकृया रोकिएको हो ?

पक्कै पनि आ.व. २०७८।७९ मा जोड तोडका साथ २ चरणमा गरि २८ कर्मचारी भर्ना गरिएको हो र उक्त कर्मचारी भर्ना पश्चात कम्पनीको कार्यमा केही सुधार र व्यवसायिक वातावरणमा सहजता समेत थपिएको छ । अव उक्त २ चरण कर्मचारी भर्ना पश्चात थप कर्मचारी नचाहिने भन्ने त हैन तर पनि कम्पनीको कर्मचारी सेवाशर्त विनियमावलीमा संशोधन गर्नु पर्ने आवश्यकता बोध गरि प्रकृयामा रहेको छ । कम्पनीले उक्त कर्मचारी सेवाशर्त विनियमावली संशोधन भए पश्चात थप कर्मचारी भर्ना गर्ने योजना बनाएको र कर्मचारी सेवाशर्त विनियमावली संशोधनमा केही बिलम्व भएका कारण ढिलाई हुन गएको हो ।

कर्मचारी विनियमावली संशोधनमा विलम्व भयो भन्नु भयो, कर्मचारीको वृत्तिविकास सँग प्रत्यक्ष सरोकार राख्ने कर्मचारी सेवाशर्त विनियमावलीको संशोधनमा विलम्व के कति कारणले भयो बताईदिनुहुन्छ कि ?

नेपाल सरकारको ध्वजावाहक पुनर्बीमा कम्पनी भएकाले हामी नेपाल सरकारका नीति नियम, प्रावधान बमोजिम कार्य गर्दछौं । तसर्थ कर्मचारी सेवाशर्त विनियमावली पनि कम्पनीको मानव संशाधन उपसमिति, व्यवस्थापन, संचालक समिति हुँदै नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, लोकसेवा आयोग लगायत कानून मन्त्रालय समेतले पुनरावलोकन गरी स्वीकृत गर्नु पर्ने भएकाले विनियमावली संशोधनको प्रकृया मिति २०७८ चैत्र देखि प्रारम्भ गरिएको भए पनि यसमा केही विलम्ब भएको हो, आशा छ अव उक्त विनियमावली पनि यथाशीघ्र स्वीकृत हुनेछ ।

हाल स्वदेशी प्रतिस्पर्धी समेत आईसकेको परिप्रेक्षमा कम्पनीलाई थप सवल बनाएर अघि बढ्न के कस्ता योजना र रणनिति बनाउनु भएको छ ?

नेपाल पुनर्बीमा कम्पनी एउटा छुट्टै परिवेशमा स्थापना भएको र भिन्न ईतिहास बोकेको संस्थाले प्रतिस्पर्धी नहुँदा पनि र प्रतिस्पर्धीको उपस्थिति पछि पनि प्रगतिपथका लागि सँधै रणनैतिक ढंगबाट नै अघि बढिरहेको छ । आजको समयमा व्यवसायको आकार र गुणस्तर दुबैलाई मध्यनजर राख्दै अघि बढ्नका लागि, कम्पनीका ग्राहक कम्पनी, शेयरधनी महानुभाव तथा कर्मचारीवर्गको हितलाई समेत ध्यानमा राखि हामी अघि बढ्दै छौ ।

यसका अतिरिक्त कम्पनीले व्यवसाय बिस्तारका लागि अत्यन्तै महत्वपूर्ण रूपमा रहेको स्तरिकरण (रेटिङ) सम्पन्न गरि व्यवसायलाई थप विविधिकरण गर्दै अन्तर्राष्ट्रीय पहुँचमा वृद्धि गर्ने, कम्पनीको हिसाव किताव तथा रेकर्ड व्यवस्थापनलाई थप परिस्कृत गर्नका लागि अन्तराष्ट्रिय स्तरको क्यातधबचभ जडानका कार्य यथाशीघ्र गर्ने, कम्पनीको आफ्नै स्वामित्वमा रहेको जग्गामा भवन बनाई उक्त भवन मार्फत कार्य गर्ने, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भाग लिई कम्पनीको सबलताको उदाहरण सहित व्यवसायिक सम्बन्ध बिस्तार गर्ने, विदेशी कम्पनीसँग सहकार्य गरी नयाँ नयाँ बीमा प्रोडक्टहरू भित्राउने, समग्र बीमा बजारको विकासका लागि बिभिन्न गोष्ठी, तालिमका कार्यक्रम गर्ने, कम्पनीको व्यवसायलाई थप परिस्कृत गरी अघि बढ्नका लागि रणनैतिक साझेदार भित्राउने, कर्मचारी सेवाशर्त विनियमावलीलाई कर्मचारीको हितमा समर्पित गरि कर्मचारीको वृत्तिविकासका कार्य सुचारू गर्ने र आ.व. २०७८।७९ को वार्षिक साधारण सभामा भएको दृढता वमोजिम शेयरधनी महानुभावहरूलाई कम्तीमा २ अंकको लाभांश दिनेगरी अघि बढ्ने लगायत कम्पनीको खर्च कटौती तथा आम्दानी वृद्धिका लागि हरसम्भव प्रयास गरि अघि बढ्ने योजनामा कम्पनी रहेको छ ।

अन्त्यमा केही भन्नु हुन्छ कि ?
अब हामी कम्पनीको रेटिङ गराउँदै कम्पनीलाई अझ सबल र सक्षम बनाउँदै छौं । आ.व. २०७५।७६ मा १२ अर्व २५ करोड नेटवर्थ रहेको यस कम्पनीको नेटवर्थ आ.व. २०७९/८० मा २० अर्व ३२ करोड पुगिसकेको तथ्य जानकारी गराउन चाहान्छु । यो कम्पनी स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गर्दैछ । कम्पनीको यस वार्षिकोत्सवको अवसरमा म नेपाल सरकार, अर्थ मन्त्रालय, नियामक निकाय नेपाल बीमा प्रधिकरण, शेयर सदस्य महानुभावहरू, व्यवसायिक सहयात्री, स्वदेश तथा विदेशका बीमा विज्ञहरू, यस कम्पनी प्रति प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गर्ने अनेकन संघ संस्थाहरू, कर्मचारीहरू लगायत सम्बद्ध सवै पक्ष प्रति यस कम्पनीलाई आजको उपलब्धिमूलक अवस्थासम्म ल्याई पुराउन सहयोग पुराउनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै दशौं वार्षिकोत्सवको उपलक्ष्यमा सबैमा शुभकामना समेत व्यक्त गर्न चाहान्छु । धन्यवाद ।

नेपाल पुनर्बीमा स्मारिका २०८० बाट साभार गरिएको अन्तवार्ता

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*