रेमिट्यान्स ३० प्रतिशतले बढ्यो, महँगी घट्दा उपभोक्तालाई झिनो राहत

काठमाडौं। चाडपर्वका कारण नेपालमा विप्रेषण अर्थात् रेमिट्यान्स दोहोरो अंकमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु वर्षको तीन महिनाको वित्तीय प्रतिवेदन अनुसार पहिलो ३ महिना अर्थात् असोजसम्म ३ खर्ब ६५ अर्ब ३४ करोड रेमिटेन्स भित्रिएको हो । जसमध्ये असोजमा मात्रै १ खर्ब ३६ अर्ब भित्रिएको छ ।
विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम वृद्धिको आँकडा हेर्दा गएको आर्थिक वर्षको तीन महिनाको तुलनामा यो पल्ट ३० प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । रेमिट्यान्सको बढ्दो दर र आयात नबढेका कारण बाह्य क्षेत्रमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको छ। आन्तरिक मन्दीले उपभोग्य वस्तुको मागमा कमी आएकाले आयात बढ्न नसकेको हो।
चालू आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब बराबरको वस्तु आयात भएको छ। सरकारको चालु खाता तेस्रो महिना लगातार बचतमा छ। गत असारमा ७२ अर्ब घाटामा रहेकको चालु खाता असोजमा ५९ अर्ब बचतमा पुगेको छ। शोधनान्तर बचत ९९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
यस्तै, समग्र माग घट्दो दरमा रहेकाले मूल्य वृद्धि भने केही घटेको देखिन्छ । भदौमा ८.५ प्रतिशत रहेको महँगीदर असोजमा ७.५ प्रतिशतमा झरेको छ। महँगी घट्दा उपझोक्तालाई झिनो राहत मिलेको छ । यो वर्ष महँगी साढे ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारले लिएको छ ।