टिकटक बन्द गरेपछि चौतर्फी हंगामा, अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकारको बद्नाम गरिँदै

२७ कार्तिक २०८०, सोमबार १५:५८

काठमाडौं । सरकारले आजैदेखि लागू हुने गरी टिकटक बन्द गर्ने निर्णय गरेपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समेत सरकारको टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् ।

तर, सामाजिक सञ्जालमा बौद्धिक जगतले भने सरकारको कदमलाई स्वागत गर्दै विकृत बन्दै गएको टिकटक बन्द गर्ने निर्णय स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले फेसबुकमा प्रतिक्रिया दिँदै टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै, थुप्रै पत्रकारहरु, सामाजिक अभियान्ताहरुले टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रक्रिया दिएका छन् । साथै केही व्यक्तिहरुले अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् ।

यही मंसिर ७ गते काठमाडौंमा विशाल प्रदर्शन गर्दै तयारी गरिहेका दुर्गा प्रसाईले टिकटक बन्द ‘गणतन्त्रको सफल अभ्यास’ भन्दै व्यङ्ग्य गरेका छन् । साथै उनले अब देश पञ्चायती व्यवस्था भन्दा पछाडि फर्कन लागेको प्रतिक्रिया दिएका छन् । त्यस्तै, पत्रकार उमेश श्रेष्ठ (शालोक्य) ले टिकटक बन्दले मूलधारे मिडियालाई समेत असर गर्ने भन्दै श्रीलंकाको अभ्यास अघि सारेका छन् ।

पत्रकार, साहित्यकार तथा बीमा व्यवसायी तीन पटक नेपाल टप भइसकेको नेशनल लाइफका एजेन्सी म्यानेजर शंकर अशान्तले टिकटक बन्द गर्ने निर्णय गलत भएको प्रतिक्रिया दिएका छन् । अशान्तले टिकटकको विकृति सच्याएर पुनः खोल्न भनेका छन् । पत्रकार समा थापाले टिकटकले विकृति फैलाउँदै आएकोले सरकारको निर्णय स्वागतयोग्य भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

प्रधानमन्त्रीका सल्लाहकार रामदिप आचार्यले सामाजिक सञ्जालमा स्टाटस लेख्दै टिकटक बन्द गर्ने निर्णय भएका देशहरुको सूचि नै सार्वजनिक गरेका छन् । आचार्यले सार्वजनिक गरेको सूचि अनुसार अष्ट्रेलिया, बेल्जियम, क्यानाडा, डेनमार्क, भारत, नेदरल्याण्ड, न्यूजिल्याण्ड, नर्वे, सोमालिया, बेलायत रहेको उल्लेख छ । त्यसो त टिकटक प्रतिबन्ध लगाउने देशहरु जम्मा २७ वटा रहेका छन् ।

 

त्यस्तै सूचना प्रविधि क्षेत्रका विज्ञ तथा कम्प्युटर एशोशिएन अफ नेपाल क्यानका महासचिव चिरञ्जीवी अधिकारीले टिकटक बन्द गर्नु आफैमा राम्रो चिज होईन भन्दै सामाजिक सञ्जालको प्लेटफर्म नियमन गरेर खोल्नुपर्ने बताएका छन् । बीमापोष्टसँग कुरा गर्दै अधिकारीले भने, ‘टिकटक, फेसबुक ट्वीटर जस्ता प्लेटफर्महरु बन्द गर्ने होइन कि कन्टेन्ट नियमन गर्नुपर्ने आजको आवश्यकता हो । बन्द गर्न विकल्प दिनुपर्दछ । आजको मितिमा गुगल बन्द गर्न सम्भव छ त ? त्यसैले हामीले बन्द मात्रै गर्ने होइन, जनतालाई विकल्प पनि दिनुपर्दछ ।’

सामाजिक सञ्जाल टिकटक व्यापक मात्रामा उद्यमी र व्यापारीहरुले आफ्नो व्यवसाय प्रबद्र्धन गर्न समेत प्रयोग गर्दै आएकोले पनि यसको बहुआयामिक असर पर्ने प्रतिक्रिया क्यान महासंघका महासचिव अधिकारीको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*