सर्वोच्चमा सिफारिस ६ न्यायाधीश र पोर्चुगलका राजदूतमाथि संसदीय समितिद्वारा उजुरी आह्वान

१० मंसिर २०८०, आईतवार १३:२६

काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा रिफारिस गरेका ६ जना र पोर्चुगलका लागि नेपाली राजदूतबारे उजुरी आह्वान गरेको छ । सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइ समितिले सिफारिस भएका व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन योग्य नभएको तथा कसैमाथि आरोप प्रमाणित हुने आधारहरु भए १० दिनभित्र उजुरी दिन भनेको छ ।

उजुरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत दिन सकिने र उजुरकर्ताले चाहेमा नाम र पहिचान गोप्य राखिने समेत समितिले सूचनामार्फत जनाएको छ । संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि नेपाली राजदूत सिफारिस एनजीओकर्मी शनिल नेपाल र सर्वोच्चमा न्यायाधीशका लागि सिराफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालसहितको नामावली नै प्रकाशसन गरेर उजुरी मागेको छ ।

पोर्चुगलको राजदूत सिफारिसमा परेका शनिल नेपाल कुनै समय चौधरी ग्रुपको रणनीतिक सल्लाहकार थिए । कानून समेतका जानकार उनी एनजीओकर्मी हुन् । कांग्रेस नेता शशांक कोइरालाको सचिवालयका खास पिलर हुन्, उनी । शशांकको भाषण लेखनदेखि के गर्ने के नगर्नेसम्मको निधो शनिलले नै गर्थे । पहुँचकै कुरा गर्ने हो भने उनको तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासँग निकै घनिष्ठता छ । प्रधानन्यायाधीश हुँदा चोलेन्द्रको सचिवालयमा शनिलको राम्रै उठबस थियो । र, अहिले पनि सम्बन्ध उत्तिकै घनिष्ठ छ । उता, कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि उनको सम्बन्ध राम्रो छ ।

न्यायाधीशमा सिफारिस सुवेदी समेत चोलेन्द्र शमशेर राणाको निकै निकट रहेको बताइएको छ । राणामाथिको महाभियोग अहिलेसम्म टुंगो लागेको छैन । उनले आफुमाथिको प्रतिशोधविरुद्ध कतिखेर भँडास पोख्ने हुन् भन्ने भय राजनीतक वृत्तमा अहिले पनि उत्तिकै छ । त्यसकारण राणालाई थमथमाउन यो पल्ट एक जना राजदूत र एक जना न्यायाधीश उनको भागमा पारिएको छ ।

यसअघि प्रधानन्यायाधीको कुर्सीबाट क्याविनेट मै हिस्सा खोजेको आरोप खेपेका राणाविरुद्धको महाभियोग संसदमा अलपत्र छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राणाका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेपछि क्याविनेटमा भाग खोजेको भन्दै हंगामा भएको थियो । विवादपछि हमालले लगत्तै पदबाट राजीनामा दिए पनि राणाले सडकदेखि सदनसम्म सबैलाई जवाफ दिनु परेको थियो ।

राणा आफुमाथिको प्रतिशोधको बदला लिन उपयुक्त मौका पर्खिरहेका बताइन्छ । उनी भित्रभित्रै ठूलो योजना बनाइरहेको थाहा पाएपछि उनलाई थमथमाउन यस्तो जुक्ति लगाइएको बुझिएको छ । नेपालको संविधान २०७२ ले अंगिकार गरेको समावेशी सिद्धान्तको औपचारिकता निभाउन सिफारिसमा एक जना महिला र मुस्लिम एक जना पारिएको छ । जहाँ अब्दुल अजीज मुसलमानलाई सिफारिस गरेर औपचारिकता पूरा गर्न खोजिएको देखिन्छ ।

२०७३ पुसमा न्याय परिषदले एकै पल्ट ८० जना उच्च अदालतका न्यायाधीश नियुक्त गर्दा कानून सेवासमूहबाट सिफारिसमा परेका टेकप्रसाद ढुंगाना र महेश शर्मा पौडेल दुबै सर्वोच्चको न्यायधीश सिफारिसमा परेका छन् । उनीहरुसँगै सिफारिस भएका राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल सिफारिसमा पर्न सकेनन् । कारण ढुंगाना र शर्मा पौडेलको जस्तो पहुँच र ताकत नभएर । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अह्राए बमोजिम बफादारी निभाएका कारण ढुंगाना र शर्मा पौडेलको पालो चाँडो आएको बताइन्छ ।

महेश शर्मा पौडेल प्रभु बैंकका सीईओ अशोक शेरचनको गैरकानूनी नियुक्तिलाई सदर गरिदिएबापत पूर्व प्रधानन्यायाधीश श्रेष्ठको रोजाइमा परेका हुन् भने टेक प्रसाद ढुंगाना पनि त्यसरी बफादारी निभाए कै कारण न्यायाधीश सिफारिसमा परेका हुन् ।

कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएशनबाट नेपाल बारको महासचिव समेत भएका वरिष्ठ अधिवक्ता सुनिल पोखरेल वकिलहरुमाँझ बदनाम् छन् । भागबण्डामा उनको नाम पनि सिफारिस भएको छ । उता, प्रभु बैंकका सीईओ शेरचनलाई जोगाएबापत वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल पनि न्यायाधीशको सिफारिसमा परेका छन् । एकातिर प्रतिपक्षीको भाग पुग्ने र अर्कोतिर पूर्वप्रन्या श्रेष्ठसँगको निकटताले ढकाल भावी प्रधानन्यायाधीशको आश्वासनसहित सर्वोच्च न्यायालयको न्यायमूर्तिमा सिफारिस भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*