सर्वोत्तम सिमेन्टको ‘बुक बिल्डिङ’ गैरकानूनी, छलकपट गरेर सर्वसाधारणबाट रकम उठाउँदै

१० मंसिर २०८०, आईतवार १५:३६

काठमाडौं । विभिन्न तिक्डम गरी गुणस्तर सम्बन्धी मापदण्ड छल्दै आएको सर्वोत्तम सिमेन्टले आफ्नो वित्तीय विवरणमा जालझेल गरेर बुक बिल्डिङमार्फत आईपीओ निष्कासनमा गएको तथ्य खुलेको छ । सर्वोत्तमको यो नाफा फर्जी भएको बताइदै छ । मंसिर ६ गतेबाट बुक बिल्डिङमार्फत सेयर बिक्री सुरु गरेको सर्वोत्तम सिमेन्टले खुद सम्पत्तिको आयु बढाएर मूल्यह्रास कट्टी गरेर नाफा कम गराएको पाइएको छ ।

सर्वोत्तमले पछिल्लो चार वर्षको वित्तीय विवरणनुसार मूल्यह्रास कट्टी गरेको भए गएको वर्ष करिब आधा अर्बले घाटामा जाने निश्चित प्राय थियो । कारणः पछिल्लो चार आर्थिक वर्षमा कम्पनीको जसरी सम्पत्तिको मूल्य बढेको छ त्यही अनुपातमा सामान्तया मूल्यह्रास करिब ८ प्रतिशतदेखि १० प्रतिशतले वृद्धि भएको देखिन्छ ।

गएको आर्थिक वर्षको मूल्यह्रास रकम आर्थिक वर्ष २०७८/७९ को भन्दा ६२ प्रतिशतले कम हो । विधिगत एवं प्रक्रियागत परिवर्तन नगरी यस्तो चमत्कारिक गिरावट सम्भव नहुने जानकारहरू बताउँछन् । लेखाको सर्वमान्य सिद्धान्तअनुसार मूल्यह्राससम्बन्धी विधि परिवर्तन गर्न सकिने भएपनि सार्वजनिक निष्कासनकै लागि मात्रै परिवर्तन गर्नुले कम्पनी र नियामकको मिलेमतो प्रष्ट हुने नेपाल सरकारका पूर्वसचिवहरुले बताएका छन् ।

उनीहरुका अनुसार विधि नै परिवर्तन गर्न कम्पनीले चाहेको भए अघिल्ला आर्थिक वर्षबाटै गर्नु पर्नेमा त्यसो भएको देखिँदैन । अघिल्ला आर्थिक वर्षमा मूल्यांकनसम्बन्धी विधि किन प्रयोग गरिएन भनी धेरैले प्रश्न गरेका छन् । कम्पनीले कृत्रिम नाफा देखाउनका लागि कर्मचारीको तलब ५० प्रतिशतसम्म कम भएको तिक्डम समेत गरेको छ । जुन विषय सिमेन्ट उद्योगका लागि सम्भव नहुने अधिकांश सिमेन्ट उद्योगीको भनाइ छ ।

सामान्यतः सिमेन्ट उद्योगको उत्पादनमा जतिसुकै कटौती भएपनि कर्मचारीको तलबभत्ता १० देखि १५ प्रतिशतभन्दा बढीले घटाउनै नसकिने उनीहरूको तर्क छ । तर सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सर्वसाधारणबाट रकम उठाउन कै लागि कृत्रिम नाफा देखाउन गत वर्षको वित्तीय विवरणमा कर्मचारीको तलब ३ करोड १६ लाख रुपैयाँले घटेको देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले कर्मचारीको तलबभत्ताका लागि ६ करोड २९ लाख रुपैयाँ खर्च गरेकोमा गएको आर्थिक वर्षमा ३ करोड १५ लाख रुपैयाँ खर्च देखाएको छ । कम्पनीले सम्पत्तिको खुद मूल्य बढाए पनि मर्मत तथा सम्भार शीर्षकमा गरेको खर्च निकै कम छ । उपकरणको आयु शतप्रतिशतले बढाएर खर्च कम देखाइएको छ । त्यसरी सम्पत्तिको आयु बढाएर मर्मत सम्भारका लागि कुनै पनि रकम खर्च गरेको देखिँदैन ।

कम्पनीले उद्योग तथा अफिसमा प्रयोग भएका फर्निचरको आयु ८ वर्षबाट बढाएर २० वर्ष राखेको छ । जुन लेखाको सर्वमान्य सिद्धान्तसहित आयकर ऐन विपरीत देखिन्छ । नेपाल सरकारको खनिज उत्खननसम्बन्धी व्यवस्थामा भएको नियमविपरीत २० वर्षको आयुलाई १० वर्षले बढाएर ३० वर्ष कायम गरिएको छ । खनिज उत्खननसम्बन्धी आयु बढाउनका लागि नेपाल सरकारको कानूनी व्यवस्थाअनुसार पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने प्रावधान छ । यसलाई कम्पनीले पूरै बेवास्ता गरेर वित्तीय विवरणमा झुठो श्रृंगार गरेको छ ।

कम्पनीले मूल्यह्रास प्रयोजनकै लागि प्रयोग भइरहेका भवनहरूको आयु ३० वर्षबाट बढाएर ६० वर्ष कायम गरेको छ । प्रयोग गरिरहेको मेसिनरी तथा उपकरणको आयु १५ प्रतिशतबाट बढाएर ३५ वर्ष कायम गरिएको छ । जुन सिमेन्ट उद्योगभित्र परिकल्पना गर्नै सकिँदैन ।

त्यति मात्र नभई हेभी यन्त्रउपकरणको आयु ९ वर्षबाट बढाएर १२ वर्ष कायम गरिएको छ । कम्पनीले वित्तीय विवरणमा प्रस्तुत गरेको तथ्यले बढ्दो मूल्यह्रास कम देखाएर नाफा बढाएको देखिन्छ । यसको प्रमुख उद्देश्य भनेकै बुक बिल्डिङ प्रकृयाबाट जसरी पनि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने रहेको छ । वाणिज्य कानूनका जानकार डा. रुद्र शर्माले सर्वोत्तमको बुक बिल्डिङ स्वीकृति गैरकानूनी ठहर्ने बताए ।

बीमा पोष्टसँग उनले भने, ‘यति धेरै अमिल्दो वित्तीय विवरण जारी गर्ने कम्पनीलाई सर्वसाधारणका लागि जारी गरिने निष्कासनको अनुमति दिइनु बलन्डर मिस्टेक हो । नियामक सर्वोत्तमबारे यति सापेक्ष भएर उत्रियो, त्यसको छानविन हुनुपर्छ ।’ नभए यसले वित्तिय अराजकता सिर्जना गर्नसक्छ ।

यसअघि पनि कम्पनीको बुक बिल्डिङ प्रक्रियामा चर्को विवाद भएको थियो । धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अग्रिमरुपमा सेयर खरिद गरेको पुष्टी भएपछि कम्पनीको सेयर निष्कासन प्रकृया स्थगित गर्नु परेको थियो ।

यसपछि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष ढुंगाना निलम्बनमा परेका थिए भने नेप्सेका सीईओ साउदले राजीनामा दिएका थिए । ढुंगानाले आफ्नी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पुष्टी भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले निलम्बन गर्ने निर्णय गरेको थियो ।

अहिले पुनः सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई प्रलोभनमा पारेर वित्तीय विवरणमा फर्जी श्रृंगारको उपाय रचेको भनी तीब्र आलोचना भइरहेको छ ।
विगतका वर्षहरू कै आधारमा कम्पनीको अन्तिम लेखा परीक्षण भएको भए गत आर्थिक वर्षमा कम्पनीले करिब ७५ करोड रुपैयाँ नाफानोक्सानमा ह्रासकट्टीबापत खर्च बुक गर्नुपर्ने थियो । अनेक जुक्ति लगाएर कम्पनीको कुल मूल्यह्रास २५ करोडमा सीमित गरिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ३६ करोड ७७ लाख रुपैयाँ, २०७६/७७ मा ५३ करोड ५५ लाख, आर्थिक वर्ष २०७७/७८ मा ५७ करोड ३ लाख, आर्थिक वर्ष ०७८/७९ मा ६६ करोड ९८ लाख रुपैयाँ मूल्यह्रास घटाइएको छ । तर, गत आर्थिक वर्षमा २५ करोड ३ लाख मूल्यह्रास कट्टा गरी २० करोड ७५ लाख रुपैयाँ नाफा देखाइएको छ ।

स्थिर सम्पत्तिको आयु बढाएर विगतकै वर्षका आधारमा मूल्यह्रास कट्टा गरिएको भए पनि सर्वोत्तम सिमेन्ट करिब ३० करोडभन्दा बढीले नोक्सानीमा जाने निश्चित छ । धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावलीको व्यवस्थाले यसरी घाटामा गएको कम्पनी बुक बुल्डिङ प्रक्रियाका लागि ठाडै अयोग्य भनेको छ । तर, नियामकसँगको मिलेमतोमा बुक बुल्डिङमार्फत सर्वोत्तमको आईपीओ निष्कासनको प्रक्रिया अघि बढिसकेको छ ।

गुणस्तरमा पनि छलकपट
म्योग्नेसियम अक्साइडको मात्रा बढी भएका कारण पट्पटी फुट्न थालेपछि कुनै बेला सर्वोत्तम सिमेन्टविरुद्ध थुप्रै उजुरी परेका थिए । पछि छलकपटपूर्वक नियामकबाट अनुमतिपत्रको निलम्बन रोकेको सर्वोत्तमले अहिले पनि पवर्त लगायतका विभिन्न ठाउँबाट चुनढुंगा निकासी गर्छ । सरकारी आँकडा अनुसार नेपालको चुनढुंगामा स्वभाविक रुपमा म्याग्नेसियम अक्साइडको मात्रा अधिक छ । जसलाई केमिकल प्रयोग गरेर नियन्त्रण गर्नु पर्ने हुन्छ ।

त्यसरी केमिकल प्रयोग गर्दा सिमेन्टको उत्पादन महँगिन पुग्छ । तर, बजार मूल्य हेर्दा सर्बोत्तमको मूल्य निकै सस्तो छ । यसअर्थले पनि सर्वोत्तमको गुणस्तरमा छलकपट रहेको पुष्टि हुन्छ । एकातिर कर्मचारीको तलब घटाएको देखाइएको छ भने अर्कोतिर यन्त्र उपकरणको आयु बढाएको । यस्तो अवस्थामा सर्वोत्तमले सबैभन्दा बढी उत्पादन दिने र चनढुंगा सप्लाईमा आफु एक नम्बर रहेको जिकिर गर्छ । यसरी सर्वोत्तमको भनाई र गराईमा आकाश जमिनको फरक परिरहेको छ ।
ओपीसी र पीपीसी सिमेन्टमा पाइने तत्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजीओ एक अमुक तत्व हो । म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नु पर्दछ । सरकारले सिमेन्टमा एमजीओको मात्रा ५ प्रतिशतसम्मलाई ठीकै मान्दै आएको छ । तर, सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई त्यति राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजीओको मात्रा ४ प्रतिशत मात्रै राखिएको पाइएको छ । सर्वोत्तमको एमजीओ झण्डै ६ प्रतिशतसम्म पाइएको छ ।

काठमाडौंको धरहरा र सिंहदरबारमा निर्माणाधीन संसद भवनको निर्माणमा छिर्न सर्वोत्तमले अन्य सिमेन्टको एमजीओलाई नै आधार बनाएर ति सिमेन्टविरुद्ध मुद्दा मामिला समेत गर्न लगाएको थियो । तर, आफ्नै गति भने खराब रहेको तथ्यहरु एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । सर्वोत्तमको रडमा समेत खराबी रहेको बताइन्छ । सर्वोत्तमको डण्डी मोड्दाखेरी भाँचिनेदेखि उद्योगबाट निकाल्नासाथै खियाले पक्डिहाल्ने समस्या देखिएको छ । यसप्रति नियामकले ध्यान दिएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*