गभर्नर अधिकारी झुठ बोल्न पनि माहिर, कर्मचारी सरुवामा देखियो अर्थमन्त्रीसँगको सम्बन्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गएको शुक्रबार मात्रै एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीसँग राम्रै सम्बन्ध रहेको र कुनै ठाकठुक नपरेको बताएका थिए । उनले त्यसो भनेको भिडियो आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । तर, उनको अभिव्यक्ति झुठो सावित भएको छ । एक साता नपुग्दै फेरि पाँच जना विभागीय प्रमुखको सरुवामा अर्थमन्त्रीसँगको दरारतापूर्ण सम्बन्ध छरपस्ट भएको छ ।
अर्थमन्त्री र मेरो ठाकठुकले मौद्रिक नीतिको समीक्षा लम्बिएको होइन : गभर्नर अधिकारी
गत साता मात्रै ५ जना कार्यकारी निर्देशकको सरुवा गर्दा गरेको विभेदभन्दा अझै एक कदम अगाडि सरेर गभर्नर अधिकारीले अर्थमन्त्रीसँगको झोंक कर्मचारी सरुवामा पोखेका हुन् ।
आफैंले अनुसन्धान विभागबाट बैंक सुपरीवेक्षण हुँदै बैंक लता वित्तीय संस्था नियमन विभाग ल्याएका गुणाकर भट्टलाई उनले तुलनात्मक रुपमा कम महत्वको भुक्तानी प्रणाली विभागतिर हुत्याएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थमन्त्री भएपछि मन्त्रालयको सल्लाहकारको भूमिकामा समेत रहेका भट्टलाई गभर्नर अधिकारीले कम महत्वको भुक्तानी प्रणाली विभागतिर धकेलेका हुन् ।
त्यसको वदलामा उनले नेपाली कांग्रेस निकट मानिने भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशन गुरुप्रसाद पौडेललाई नियमन विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले पौडेलाई आगामी डेपुटी गभर्नरको कुर्सी नजिक पुर्याएको भन्दै राष्ट्र बैंकभित्र रडाको मच्चिएको छ ।
यसअघि पनि गभर्नर अधिकारीले ५ जना कार्यकारी निर्देशकको सरुवा गर्दा नजिककालाई प्रभावशाली विभाग र परकालाई कमजोर विभागमा लगेर थन्काएको भन्दै तीब्र आलोचना भइरहेको छ ।











