बीमितका सारथी ओम केसीको अनुभव : बीमाले बचायो अन्धविश्वासले उजाडिएको परिवार (अन्तर्वार्ता)

२७ पुष २०८०, शुक्रबार १४:३८

जतिबेला नेपालमा थोरै बीमा कम्पनीहरु थिए, त्यस समय सबैभन्दा कम उमेरका ५ जना एजेन्सी म्यानेजर मध्येका एक हुन्, ओम केसी । उनी अहिले पनि बीमा अभिकर्ताको कर्मलाई निरन्तरता दिइरहेका छन् । अहिले उनका व्यक्तिगत र सामूहिक गरी १७ सय जति अभिकर्ता छन् । नेपालमा बीमाको बजार विस्तार अझै बाँकि नै रहेकाले अभिकर्ताको भविष्य उज्ज्वल रहेको बताउँछन्, उनी । नेपालको बीमा व्यवसाय, नियमन तथा अभिकर्ता कर्मका विविध आयाममा केन्द्रीत रहेर नेपाल लाइफका सिनियर एजेन्सी म्यानेजर ओम केसीसँग रिना खत्रीले गरेको कुराकानीः

बीमा क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
–म इन्टर पढ्दै गर्दा गणित पढाउने माधव सरले बीमा गराईदिनुभयो । त्यो बेलामा मलाई बीमा भनेको के हो थाहा थिएन । त्यसबेला सरले तिम्रो पैसा बचत हुन्छ मात्र भन्नुभएको थियो । इन्टर सक्किएपछि मलाई तपाइले एउटा फर्म भराउनु भएको थियो । त्यसको फाइल पनि आएन सर भनेर सोध्न गए । त्यसरी सोध्दा सरले मलाई कम्पनीमा बुझ्न जाउ भनेर भन्नुभयो । अनि म कम्पनीमै बुझ्न भनेर गए । त्यसपछि बल्ल मलाई थाहा भयो कि बीमा भनेको यस्तो रहेछ, भनेर । त्यसपछि तालिम गर्न आए म । रामशाह पथमा बीमा समितिको अफिस थियो । त्यहाँ सात दिनको तालिम भयो । तालिम लिइसकेपछि बीमा अभिकर्ताले गराउने काम रहेछ भनेर पनि थाहा भयो । त्यो बेलामा म भर्खरको थिए । १६–१७ वर्षको मान्छे अभिकर्ता बनेर हिंड्दा मलाई कस्ले पत्याउँछ र भन्ने पनि लागेको थियो । जब म इन्टर सकेर पढाउन सुरु गरे मलाई कता कता बीमाको काम पनि गर्न पर्छ भन्ने लाग्यो ।

म होम ट्युसन पढाउथे । पढाउन जाँदा तपाइहरुले बीमा गराउनु भएकोे छ कि छैन भनेर सोधेँ ? त्यसरी सोध्दा के हो बीमा भनेको यसले के हुन्छ भनेर उल्टै मलाई प्रश्न गरे, सबैले । त्यसपछि मैले बीमा भनेको यस्तो होे, यसले बचत हुन्छ भनेर सम्झाए । त्यसरी भन्दाभन्दै एकदिन मलाई रहर जागेर आयो । म खासै बीमामा असफल भएर दुःख गरेको मान्छे हैन । म भाग्यवश सफल भएकै मान्छे हुँ । म शिक्षक भएको कारणले पनि क्षिशकले भनेको मान्नुपर्छ भन्ने पनि भएर होला, ल हाम्रो बाबुको गर्दिनु न त, हाम्रो नानीको गदिर्नु न, नभए मेरै गर्दिनु, भनेर अभिभावकहरुले भन्नुहुन्थ्यो । त्यसपछि म राष्ट्रिय बीमा संस्थानमा पनि लगभग तीन चार महिनामा ४७ वटा पोलिसी बेचेको थिए । त्यसपछि म एउटा एनजीओमा जागिर खान कर्णाली गए । म जुम्लाको कोडिनेटर भएर गएको थिएँ । त्यपछि फेरि डिप्लोमा पढ्न काठमाडौं आए । लैनचौरमा बसेर बिहान पढ्न जाने दिउँसो, पढाउने । त्यसबेला ठ्याक्कै नेपाल लाइफ आएको रहेछ । त्यसपछि कमलराज गौतम सरले भाई नेपाल लाइफमा आउ भन्नुभयो । त्यसपछि आफूलाई नेपाल लाइफमा अझै सहज हुने देखेर म त्यसमा आवद्ध भए । मैले ०६२ सालसम्म पार्ट टाइम मै बीमाको काम गरें । त्यसपछि मैले विवाह गरे । मैले जागिर छोडेर बीमामै आवद्ध हुन्छु भनेर पनि सोच्दै थिए । त्यसबेलासम्म नेपाल लाइफले प्रोमोटको सिस्टम ल्याइसकेको थियो । नेपालमा ५ जना कम उमेरका एजेन्सी म्यानेजर हुनेमा सबैभन्दा कम उमेर मै एजेन्सी म्यानेजर हुने मान्छे पनि मै हुँ । त्यसबेला एजेन्सी म्यानेजर हुन ३०० पोलिसी, १५ लाख प्रिमियम र तीन जना बीसी गराउन पर्दथ्यो । बीसी गराउन चाँहि कम्तिमा सात जना मान्छे तालिममा राखेर ती मध्ये कम्तिमा ५ जनाले काम गरेकोे हुनुपथ्र्यो । यसरी प्रवेश गरेको थिएँ, बीमा क्षेत्रमा ।

तपाई बीमामा प्रवेश गर्दा अभिकर्ताको सम्मान कत्तिको हुने गर्थ्यो ?
–२०६४–०६५ भन्दा अगाडि सम्मानजनक अवस्था नै थियो । ५ वटा मात्र कम्पनी हुँदासम्म अभिकर्तालाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक थियो । त्यस बेलामा बीमा सानो–सानो मात्र हुन्थ्यो । जब नयाँ–नयाँ कम्पनी आए अनि अभिकर्तामा विकृति आयो । किनभने नयाँ कम्पनीले अभिकर्ता लाइसेन्स घरघर पुर्याइदिनथाले । अहिले त बीमा प्राधिकरणले लाइसेन्स प्रक्रिया कसिलो बनाइदिएको छ ।

अभिकर्तालाई सेवाको रुपमा लिनु भएको छ कि पेशा ?
–अभिकर्ता पेशा मेरो कर्म हो । यो कर्म गरेर मैले सेवा गरे भने पछि यसको प्रतिफल पाउछु । यसलाई पैसा कमाउने मात्रै पेशा भन्दा उचित हुँदैन । किनभने यसले छरिएर रहेको पूँजीलाई एकीकृत गरेर मान्छेलाई बचत गर्न सिकाउछ । सुरुमा अभिकर्ता भनेर बीमितले खासै चासो नदेखाएर विश्वास नगरे पनि जब बीमितलाई केही हुँदा भुक्तानी दिइन्छ त्यो बेलामा बीमितहरुले अभिकर्ताले त बीमा गराएर राम्रो पो गरिदिनुभएको रहेछ । यो त एकमदै राम्रो रहेछ भनेर भन्नुहुन्छ । त्यो क्षणले अगाडि भए गरेका सबै पीडा भुलाउदो रहेछ । पश्चिममा बढी अन्धविश्वासको कुराहरु हुन्छन् । मेरो एउटा बीमितको परिवारमा भर्खर विवाह गरेर आएकी महिलाका श्रीमानको निधन भएछ । त्यसपछि परिवारले यो अभागीले गर्दा यस्तो भयो भन्ने किसिमको दोषारोपण गरेर घरको केही सम्पत्तिसमेत नदिई घरनिकाला गरिएछ । उहाँले लिएको बीमाको चार लाख रुपैयाँले घोराहीमा आएर जग्गासमेत किनेर व्यवसाय सुरु गर्नुभयो र छोरीलाई समेत पढाउनुभयो । अहिले म कतै दाङ आसपासमा आएर उहाँकोमा पसेर चिया नखाइ गए भने उहाँ रिसाउनुहुन्छ । १८ वर्षजति वितिसक्दा पनि उहाले मलाई बिर्सिनु भएको छैन । यस्तो हुँदा गर्व लाग्छ ।

तपाईको धारणामा सफल अभिकर्ता भनेको के हो ?
–सफल हुन कुनै पनि पेशामा निरन्तरता चाहिन्छ । चाहे त्यो जुनसुकै पेशा होस् । निरन्तरता नदिएसम्म कुनै पेशामा सफल हुन सकिदैन । अभिकर्ता पेशा भनेको त झन सधै गरिरहने र सिकिरहने पेशा हो । नेपालको परिप्रेक्ष्यमा अलिक अस्वस्थ प्रतिस्पर्धा भयो । अभिकर्ता निरन्तर रुपमा नलागेपछि म्याचुरिटी हुनै गारो पर्छ । त्यसै कारण पनि अभिकर्ता पेशालाई निरन्तरता दिने नै सफल अभिकर्ता हुन् ।

तपाईको कर्म देखेर यो पेशामा आवद्ध भएका कोही छन् ?
–त्यसरी धेरै आएका छन् । अरु पेशामा आवद्ध मानिस पेशा छाडेर पनि अभिकर्ता हुन आएका छन् । सहसचिवबाट अवकाश प्राप्त, डीएसपी, एसपी समेत आएका छन् । किनभने यसमा उमेरको हद छैन । तर, यसमा राज्यले हेर्ने तरिका भने भएन । यस पेशालाई राज्यले विशेष रुपमा हेर्ने र मर्यादित बनाउन पहल चाल्नुपर्ने हो । अभिकर्ताको कमिशनदेखि सबै कुराको नियम कानून बन्छ । तर, अभिकर्तालाई संलग्न गराइदैन । भारत जस्तो विकसित देशमा ९४ प्रतिशत बीमा मार्केट अभिकर्ता कै छ । हामीमा चाँहि सिस्टम धेरैल बुझेका छैनन् । देखासिखी गरेर अभिकर्ताले धेरै कमाए कि भनेर लगानीकर्ता तथा प्राधिकरणले नकारात्मक धारणा राखेकाले भविष्य नभएको जस्तो देखिन्छ ।

अभिकर्ता पेशाको भविष्य कस्तो देख्नु हुन्छ ?
–म यो पेशामा भविष्य उज्वल नै देख्छु । किन भने एसियामा सबैभन्दा कम प्रतिशतले बीमा रोजेको छ । राज्यले पनि बीमा अनिवार्य गरेको छैन । त्यो कारण पनि यसको भविष्य राम्रो छ । अभिकर्ता धेरै भएर पनि बिग्रिने हैन । बिकृतिले बिग्रिने हो । बीमा ऐन नियम, नियमावली प्रडक्ट आदिबारे नजानेर हल्का तरिकाले अभिकर्ता बन्दा बिकृति आएको हो । सबै जानेर अभिकर्ता बन्दा बिकृति आउँदैनन् ।

हालसम्म तपाइले कति वटा बीमा पोलिसी बिक्री गर्नुभयो ?, समयमा दाबी भुक्तानी नहुनुमा को दोषी देख्नुहुन्छ ?
–मैले झण्डै पाँच हजारको हाराहारीमा पोलिसी बिक्री गरे । यो दौरान मैले सिधै बीमा गराएको तीन जनाको मात्र क्लेम आएको छ । दाबी भुक्तानी नहुनुमा अभिकर्ताको पनि गल्ती हुन्छ । अभिकर्तामा कमिशनको मोह मात्रै भयो । अनि बीमितको बीमा गरेपछि मैले क्लेम पाउँछु भन्ने हुन्छ । यसमा दुबैको गल्ती देखिन्छ । कम्पनीले अभिकर्ताको विश्वासमा बीमा गराएको हुन्छ । वार्षिक दाबी भुक्तानीमा कतिपय अभिकर्तालाई जानकारी भएर पनि रोग लुकाइएको हुन्छ । अभिकर्ता प्रोफेसनल नभएर पनि क्लेम ढिला हुन्छ ।

बीमितहरुको रोजाइमा कस्तो खाले बीमा योजना बढी पर्ने गरेको छ ?
–मार्केट कम लिनुका कारण रेगुलर इनकम नभएर पनि हो । अनि अभिकर्ता शहरमुखी भएर पनि हो । शहरमा ठूलो बीमा हुन्छ कमिसन धेरै पाइन्छ । गाउँमा कमिशन थोरै आउँछ भनेर पनि अभिकर्ता त्यता जादैनन् । अहिले एउटा बीमा पोलिसी लिएको मान्छेले नयाँ पोलिसी आएको छ भनेर अर्काे पनि पोलिसी लिन्छन् । त्यस्तो भएपछि अभिकर्ता नयाँमा गयो भने बुझाउन सयम लाग्छ, बरु पुरानैकोमा गएर पोलिसी थप्न लगाउने गर्छन् यसले गर्दा मात्रै पोलिसी बिक्री कम भएको हो । बीमितको रोजाइ हेर्ने हो भने विभिन्न सुविधायुक्त नयाँ-नयाँ पोलिसीहरुमा नै बढी आकर्षण देखिन्छ ।

अभिकर्ता पेशामा सक्रिय भइरहँदा विगततिर फर्केर हेर्दा कस्तो लाग्छ ?
–सरकारी जागिरे नै भएको भए पनि मलाई निश्चित ठाउँका मान्छेले मात्रै चिन्थे । अभिकर्ता भनेको त एउटा छरिएर रहेको पेशा हो । यसमा धेरै ठाउँमा जानुपर्छ त्यसक्रममा सबैले चिन्छन, पनि । मेरो बुबा सरकारी जागिरे हुनुहुन्थ्यो । एक दिन मैले बीमा गराएको एक जना सीडीओ रुकुम जानुभएछ । त्यहाँ एकजना भाइले म नासु हुँदा मलाई बीमा गर्दिनुभएको थियो भनेर भन्नुभएछ । बुबाले अनि नाम के हो भनेर सोध्दाखेरी सीडीओ साहेबले ओम केसी भनेर भनेपछि मेरो बुबाले त ओहो, मेरो छोरा हो भन्नुभएछ । यसको मतलब हाम्रो पेशा भनेको खुल्ला छ । पेशाको क्रममा जता पनि पुगेर बीमा गराउने क्रममा कहिलेकाँही यस्तो अवस्था पनि आउने गर्छन् । मेरो एक जना ठूलोबुबाको छोरा सहसचिव हुनुहुन्छ । उहाँलाई गाउका मान्छेले मात्रै चिन्छ । मलाई त देशभर कै साथीहरुले चिन्नुहुन्छ, यो कुराले पनि खुसी लाग्छ । म माधव सरले गर्दा बीमा क्षेत्रमा छिरेको मान्छे, उहाँलाई मैले भेट्न नसके पनि हरेक कार्यक्रममा उहाँको नाम लिन्छु ।

अभिकर्ता पेशामा वार्षिक सरदर कति कमाइ हुन्छ ?
–बीमा पेशामा १ वर्ष काम गरेपछि त्यसको प्रतिफल १० वर्षसम्म पाइन्छ । त्यो १० वर्षसम्म प्रतिफल पाउने भएकाले त्यो गुणात्मक हुँदै जान्छ । त्यसपछि आर्थिक स्वतन्त्रता बढ्दै जान्छ । यदि अठोट लक्ष्य लिएर कोही नयाँ मान्छे यो पेशामा आयो भने उसले पुरानोले भन्दा बढी कमाउन सक्छ । आफैले सीधै पोलिसी बिक्री गर्नेहरुको कमाई लामो र निरन्तर भइरहन्छ । ग्रुप चलायो भने उसको अलिकति कम हुन्छ । म व्यक्तिगत र ग्रुप दुबैबाट काम गर्ने भएकाले १७ सय जति अभिकर्ता छन्, मेरा । ग्रुपमा आफैंले ल्याएका अभिकर्ताहरु सफल भएको र एमडीआरटी भएको देख्दा खुसी लाग्छ । अरुले भनोस नभनोस आफूलाई सन्तुष्टि लाग्छ ।

अहिले ऐनको ड्राफ्ट अर्थमन्त्रालयमा रहँदा अभिकर्ताहरु सिहंदरबारदेखि प्राधिकरणसम्म दौडिरहेको अवस्था छ, यस्तो किन ?
–प्राधिकरणले अभिकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्छ । अभिकर्ता भनेको हाम्रै अंग हुन् । अभिकर्ताले परिश्रम गरेका कारणले बीमा क्षेत्र चलेको हो । छरिएको पूँजीलाई देश विकासमा जोडेका छन् भन्ने नसोचेको कारण हामीले दुःख पाएका हौं । कुनै पनि ठाउँमा सरोकारवालासँग छलफल नगरी ऐनकानून आउदैन जस्तो लाग्छ । नेपालमा मात्रै यस्तो भइराखेको छ । अभिकर्ता भनेको पनि नेपाली नागरिक नै हुन्, यहि समाजका मान्छे हुन् । अभिकर्ताले पनि कुरा बुझ्छन भन्ने कुरालाई प्राधिकरणले बुझिदिनुपर्छ । हामीले खाईपाई आएको सुविधामा कटौती हुन्छ कि भनेर अर्थमन्त्रालय धाउने, सिंहदरबार धाउने, अन्य सम्बन्धित निकाय धाउने गर्दैमा हाम्रो सयम व्यतित भइराखेको छ । यसले सिंगो बीमा क्षेत्रमा नै असर पर्छ भन्ने प्राधिकरणले बुझ्नुपर्छ ।

आर्थिक मन्दीले बीमा क्षेत्रमा कत्तिको प्रभाव परेको छ ?
–ठूलो व्यवसाय गर्नेलाई प्रत्यक्ष असर परेको छ । मान्छेहरुलाई सुरुमा त गास, वास, कपास चाहियो । त्यसपछि शिक्षा, स्वास्थ्य जस्ता कुराहरु आउँछ । यस हिसाबले त बीमा पछाडि नै परेको छ । आर्थिक मन्दीले गास, वास, कपास जुटाउन धौधौ परेको बेला बीमा कसरी गर्न सक्छन् र ? यो पेशा के हो, कसो हो ? भनेर पार्टटाइममा लाग्नेहरु पनि हुन्छन्, उहाँहरुले पनि गाउँठाउँमा बीमा भनेको यस्तो हो है भनेर बुझाउनुहुन्थ्यो । चिनेजानेकाको बीमा गराइदिनुहुन्थ्यो । अहिले उहाँहरुको संख्या कम भएको छ । किन भने अब यस पेशामा आउन परीक्षा दिनुपर्ने भयो । जसले गर्दा पनि मार्केट अलि घटेको हो ।

सर्वसाधारणले नेपाल लाइफमै बीमा किन गर्ने ?
–नेपाल लाइफलाई अभिकर्ताले ब्राण्डको रुपमा स्थापित गराइसकेपछि नेपाल लाइफले म्याच्योरिटी क्लेम, पोलिसीहरु जनताले रुचाउने खालका प्रडक्टहरु समय समयमा परिवर्तन गर्छ । बीमितले चाहेका र रुचाउने खालका प्रडक्टहरु ल्याउछ र ल्याउने क्रममा पनि छ । नेपालका ७७ वटै जिल्लामा नेपाल लाइफका १८५ वटा शाखाहरु छन् । अहिले अनलाइन सिस्टम बनाएर बीमा कम्पनी मै धाउनु पर्ने समस्या नभएको कारणले पनि सर्वसाधारणले नेपाल लाइफमा बीमा गराउछन् ।

बीमा अभिकर्ता संघ नेपालमा विवाद उत्पन्न भएको छ, किन होला ?
–अभिकर्ता पेशा, पारदर्शी पेशा हो । यस्तो पेशामा हामी समावेशी र पारदर्शी हुनुपर्छ । पारदर्शिताको कमिको कारणले गर्दा गुट कायम भएको छ । जुन कारणले गर्दा सम्मानित अदालतसम्म यो कुरा पुग्या छ । त्यो पेशामा हामी सबैलाई समेटेर अगाडि बढ्ने भन्दा पनि गुटले मात्रै पेशा चलाउने भनेर सोच्ने कारणले यो समस्या आएको हो । पहिले ६ लाख चानचुन अभिकर्ता थिए । अहिले साढे दुई लाख हाराहारीमा अभिकर्ताले लाइसेन्स नविकरण गरेका छन् । त्यसमा जम्मा लगभग सात हजारले मात्रै यो पेशागत बीमा अभिकर्ता संघमा सदस्यता लिएका छन् । पेशाको जानकारी नगराएको र आफ्ना सिमित साथीहरुलाई मात्र जोड्ने भएकाले यो विवाद आएको हो ।

बीमा अभिकर्तालाई थप सहज बनाउन कम्पनी वा प्राधिकरणले के-के गर्नुपर्ला ?
–अभिकर्तालाई यो पेशामा थप सहज बनाउनका लागि बीमा कम्पनीहरुले जनताले रुचाउने खालका र समयसापेक्ष प्रडक्टहरु ल्याउनु पर्ने हुन्छ । अभिकर्तालाई सेवा सुविधा र तालिमहरु समय समयमा उपलब्ध गराइनु पर्छ । सबै कम्पनीको प्रडक्टहरुमा धेरै फरक छैन । बीमा पोलिसी पनि प्रायः सबैजसोको एउटै छ । तर बीमितले पाउने बोनस जुन छ, त्यो फरक छ, प्राधिकरणले बोनस एउटै बनाइदिए थप सहज हुनेथियो । अभिकर्तालाई दीर्घकालीन सेवा सुविधा दिइयोस् । यत्ति गर्न सकियो भने अभिकर्ता मोह बढ्ने थियो । र, यसले सिंगो बीमा व्यवसायमा नै सुधार ल्याउथ्यो ।

बीमा पोलिसी सरेन्डर तीन वर्षपछि मात्र हुने निर्णय अर्थ समितिले गरेको छ, के यो ठीक छ ?
–यो राजनितिक नियुक्ति भएका राज्यका संचालकहरुको अम्याच्योडपनको परिणाम हो । जसले गर्दा कत्ति कुराहरु, कत्ति व्यवसाय र कत्ति इन्डष्ट्रिहरु ध्वस्त भएको, अवस्था छ । विश्वमा कुनै पनि ठाउँमा बीमाको पहिलो प्रिमियममा अत्यधिक खर्च हुन्छ । म्यानेजमेन्ट कस्टदेखि लिएर रिइन्स्योरेन्स कस्ट र प्राधिकरणमा पठाउने कस्ट धेरै हुन्छन् । भारतमा ९१ प्रतिशत फर्स्ट प्रिमियम खर्च हुन्छ । नेपालमा ६० देखि ७० प्रतिशत भित्र फर्स्ट प्रिमियम खर्च हुन्छ । अर्थ समितिले २५ प्रतिशत म्यानेजमेन्ट कस्ट राखेर फिर्ता दे भन्दा कसरी कुरा मिल्छ ? प्राधिकरणले यसको बेवास्ता नगरेर अर्थ समितिले भनेको कुरा मान्दै गयो भने त यो बीमा व्यवसाय नै ध्वस्त हुन्छ । किनभने खर्च नै धेरै भएको हुन्छ । यदि त्यस्तो हुने हो भने हाम्रो पेशा पनि धरापमा पर्छ । हाम्रो पेशामा पनि कम्पनीले छुट्टै तलव दिदैन । काम गरेको आधारमा दिने हो । यस्तो भएपछि बीमा अभिकर्ता बनेर काम गर्नै सकिदैन । बीमा कस्तो छ ? बीमाको भित्रि कुरा के हो ? प्रिमियम कसरी क्यालकुलेट हुन्छ ? खर्च कहाँकहाँ हुन्छ ? सबै बुझेर निर्णय गर्नुपर्छ । मलाई यो अपरिपक्व निर्णय हो भन्ने लाग्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*