मालपोतमा हुँदा चार करोड अकुत कमाएका भट्टराई परे अख्तियारको फन्दामा

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेस प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत (आठौं) मिन बहादुर भट्टराईलाई चार करोड अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
भट्टराईले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन सुरु गरेको थियो । उजुरी निवेदन परेपछि अख्तियारले भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति वि.स. २०५४ साउन २६ गतेदेखि २०७९ जेठ ३० गते सम्मको अवधिको समग्र आय तथा व्ययको छानविन गरेको बताएको छ ।
छानविन गर्दा भट्टराईको जम्मा बैध आय ५ करोड ९४ लाख ६७ हजार रुपैयाँ खुल्न आएको र सोही अवधिमा खर्च तथा लगानी भने १० करोड २३ लाख ९२ हजार रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । यसरी स्रोत नखुलेको ४ करोड २९ लाख २५ हजार रुपैयाँ भट्टराईले भ्रष्टाचार गरी आर्जन गरेको दावी अख्तियारले गरेको छ ।
अख्तियाले आरोपी भट्टराईलाई श्रोत नखुलेको रमक बरारबको विगो कायम गरी मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । साथै भट्टराईले कमाएको अकुत सम्पत्तिबाट निजको कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा खर्च भएको दावी गर्दै श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमतीलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन् ।