‘मुटु’का डाक्टर कोइरालाको किताबले अरुण र अजितनारायणलाई लगायो हत्कडी

१८ माघ २०८०, बिहीबार १५:२५

काठमाडौं । डिजिटल प्रविधिको युगका एउटा किताब सार्वजनिक जग्गा हडप्ने अर्बपति उद्योगीको हातमा कत्कडी लगाउने अस्त्र बन्छसक्छ भन्ने तथ्य स्थापित भएको छ । अर्बपति उद्योगी एवं सांसद् विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउको क्लु नै किताबले दिएको तथ्य स्थापित भएको हो ।

मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ले दिएको सुराक कै आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले अरुण चौधरीलाई हत्कडी हालेको रुपमा अर्थ्याउन थालिएको छ । यो जग्गाको विषय पहिले पनि उठेको थियो । तर, यसरी सार्वजनिक जग्गा हिनामिना गर्नेलाई हत्कडी नै लागेको भने थिएन ।

तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको चौधरी ग्रुपबारेको छानबिन ‘क्लु’ सीआईबीले डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’बाटै मिलेको बताइएको छ । कोइरालाले ‘पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला’ शीर्षकमा थोरै लेखेका छन् । त्यसैका आधारमा बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको विषय चर्चामा आएको हो ।

डा. कोइरालाले लेखेका छन्, ‘२०५८ सालमा म त्यहाँ जाँदा तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका नाममा रहेको केही जग्गा छरपस्ट भइसकेको थियो । मुख्य कम्पाउन्डभित्रको करिब ५५ रोपनी जग्गा गङ्गालालको भोगचलनमा आइसकेको थियो । दक्षिणपट्टिको ३५ रोपनी जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गइसकेको रहेछ । पूर्वदक्षिणतिरको करिब सात रोपनी जग्गा बाँसबारी फुटबल क्लबले भोग गरिहेको रहेछ ।’

च्याम्पियन सु फ्याक्ट्रीको शेयर सदस्यमा सांसद विनोद कुमार चौधरी, अरूण कुमार चौधरीलगायत उनको परिवार रहेको बताइन्छ । चौधरी दाजुभाइलाई जग्गा दिएबाफत् बाँसबारी छाला तथा जुत्ता कारखानासमेत कुनै समय शेयर सदस्य थियो । त्यसै बहानामा कौडीका भाउमा चौधरी ग्रुपले सरकारी जग्गा आफ्नो नाममा ल्याएको थियो ।

डा. कोइरालाका अनुसार २०५२ सालमा तत्कालीन मन्त्रिपरिषद्ले एक राष्ट्रिय हृदयरोग केन्द्र स्थापना गर्न निर्णय गरेलगत्तै त्यस प्रयोजनका लागि तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाको स्वामित्वमा रहेको करिब ३५ रोपनी जग्गासमेत उपलब्ध गराउने निर्णय गरेको थियो । इन्स्टिच्युट अफ प्याथोलोजीका लागि चार रोपनी र इन्स्टिच्युट, अफ न्युरो साइन्सेजका लागि १५ रोपनी जग्गा उपलब्ध गराउनेसमेत निर्णय गरेको थियो । मुटुबाहेक अन्य दुई प्रोजेक्टका काम भने अगाडि बढेनन् ।

पुस्तकमा उल्लेख भएअनुसार प्याथोलोजीको कुनै काम नहुने भएपछि त्यो जग्गापछि गङ्गालालले नै भोगचलनमा ल्यायो । न्युरोलाई दिइएको जग्गामध्ये करिब छ रोपनी जग्गा सरकारले बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज (धरान) तथा काउन्सिलहरूलाई दियो । दक्षिणपट्टिको ३५ रोपनी जग्गामध्ये १० रोपनी तत्कालीन च्याम्पियन सु फ्याक्ट्रीको नाममा गएको थियो ।

पश्चिमतर्फ बाँकी रहेको करिब नौ रोपनी खाली जग्गा र फुटबल ग्राउन्ड भएको करिब ७ रोपनी जग्गा गंगालाले भोगचलन पाउने गरी पछि मन्त्रिपरिषदबाट निर्णय भएको थियो । तर, बाँसबारी छालाजुत्ताको अन्य जग्गा सरकारी संस्थाकै नाममा गए पनि त्यो १० रोपनी जग्गा भने निजी अर्थात् चौधरी ग्रुपको नाममा रहेको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*