पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमा अन्तरक्रिया

२६ माघ २०८०, शुक्रबार ११:१०

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ २५ गते पालिकाको सभाहलमा सम्पन्न गरेको हो ।

कार्यक्रमको सभापतित्व बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुशुम शर्माले गरेकी थिइन् । त्यस्तै, प्रमुख अतिथिको रुपमा सोही पालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव तथा अतिथिको रुपमा विभिन्न वडाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा ८० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्यमाथि प्रकाश पारे । नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय र महत्व, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा आफ्नो प्रस्तुतिकरण दिए ।

प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले जीवन र निर्जीवन बीमा एवम् कृषि तथा पशुपन्छी बीमाका विविध विषयमा जिज्ञासा राखेका थिए । साथै, पालिकामा बीमाको साक्षरता प्रवर्द्धन र समन्वयका लागि छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्ने र बीमाको साक्षरता पालिकाबाट गाउँगाउँसम्म पुर्‍याउनु पर्ने लगायतका माग उठेको थियो।

छलफलका क्रममा उठेका प्रश्न एवम् जिज्ञासाको जवाफ प्राधिकरणका कर्मचारी सागर आचार्यले जवाफ दिए । साथै, निर्जीवन बीमकका प्रतिनिधि तथा कृषि प्राविधिकले समेत स्थानीय भाषामा उठेका जिज्ञासाको जवाफ फर्काए ।

कार्यक्रमका प्रमुख अतिथिले आफ्नो पालिका कृषि बीमा र अन्य बीमा गर्नलाई तयार रहेको र कृषि अभिकर्ता उपलब्ध गराउन अनुरोध गरे। उनले वडाअध्यक्ष तथा जनप्रतिनिधिलाई बीमा साक्षरता प्रवर्द्धनसम्बन्धी कार्य गर्न निर्देशन दिउ । साथै, पालिकाले समेत बीमाको दायरा विस्तारमा आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले हाल नेपाल सरकारबाट कृषि बीमामा प्रदान हुने ८० प्रतिशत अनुदानमा बाँकी रकम पालिकाले नै थप गरी सम्पूर्ण कृषकलाई कृषि बीमाको दायरा भित्र ल्याउनु पर्ने भनाई व्यक्त गरे।

कार्यक्रमको समापनमा प्रदेश कार्यालय प्रमुख शर्माले मधेश प्रदेशको कमजोर बीमा दायराको स्थितिलाई सुधार गर्न गाउँगाउँ सम्म बीमा शिक्षा पुर्‍याउनु पर्ने धारणा राख्दै यसका लागि नेपाल बीमा प्राधिकरणले गर्दै आएका विभिन्न कार्यको जानकारी दिईन् । पालिका स्वयंले आफ्ना भौतिक संरचना र विपन्न नागरिकको बीमा गरी यस अभियानलाई सुरुवात गर्न अनुरोध गरिन् ।

साथै, बीमा गर्दा यसका सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै छलफलका क्रममा उठेका अन्य प्रश्न एवं जिज्ञासालाई थप स्पष्ट पार्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि आग्रह गरिन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*