बैंकका सीईओ पक्राउ प्रकरणमा सीआईबीको जवाफ-‘हामी बैंकभित्र पसेर पक्रिएका होइनौं, सहकारी ठगीले पोलेको हो’

१६ फाल्गुन २०८०, बुधबार १८:४४

काठमाडौं । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैंकर तथा कर्मचारीलाई बैंकभित्रै पसेर पक्राउ नगरेको जवाफ दिएको छ । नेपाल बैंकर्स एशोसिएशनका पदाधिकारीसँगको छलफलपछि सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले बीमापोष्टसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

बुधबार मात्रै नेपाल बैंकर्स एशोसिएशनको पूर्ण बैठकले नेपाल सीआईबीले बैंकका सीईओ, पूर्व सीईओसहितका कर्मचारीलाई धरपकड गरेपछि यसबारे छलफल गर्ने निर्णय गरेको थियो ।

सीआईबी प्रवक्ता बोगटीले भने, ‘बैंकर्स एशोसिएशनका पदाधिकारीहरु हामीकहाँ पनि छलफलका लागि आउनु भएको थियो । हामीले क्षेत्राधिकार मिचेको वा कानून विपरीत बैंकभित्र छिरेर, बैंकको हरहिसाब मागेको वा कर्मचारीलाई पक्राउ गरेको अवस्था होइन । सीआईबीले पाएको सहकारी ठगीको क्षेत्राधिकारभित्र रहेर देउराली सहकारीबारेको एक्सनेट अनुसन्धानका दौरान उहाँहरुलाई अनुसन्धानको दायरामा ल्याइएको हो । हामीले म्याद थप गरेको कुरा पनि कानून सम्वत नै छ ।’

बैंकभित्रका हिनामिना वा आर्थिक लेनदेनमा आफुहरुले कहिँ पनि हात नहालेको बताउँदै सीआईबी प्रवक्ता बोगटीले देउराली सहकारी ठगीको विषयलाई लिएर एक्सन लिइएको र सहकारी ठगीमा बैंकर तथा कर्मचारी जोडिएकोबारे राष्ट्र बैंकसँग पनि समन्वय भइरहेको जानकारी दिए ।

बैंकर्स एशोसिएशनले सीआईबीले धितोको विषय बुझ्दै नबुझि बैंकका सीईओ, पूर्वसीईओ तथा कर्मचारी धरपकड गरेको बताइरहँदा सीआईबीले भने आफुहरुकहाँ बैंक तथा धितो सम्बन्धका थुप्रै एक्सपर्टहरु रहेको प्रतिक्रिया दिएको छ ।

सीआईबीले सहकारी ठगीको अनुसन्धानका दौरान मात्रै बैंकका पदाधिकारी तथा कर्मचारीलाई नियन्त्रणमा लिएको र त्यो पनि कानून सम्वत भएको बताइरहँदा वाणिज्य कानूनका जानकारहरुले यसको सबैभन्दा ठूलो दोषी राष्ट्र बैंक भएको बताएका छन् ।

वाणिज्य कानूनका एकजना विद्वानले भने, ‘राष्ट्र बैंकले अहिलेसम्म एक थान नियमावली बनाउन सकेन । तोकादेश अर्थात् निर्देशनका भरमा चलिरहेको छ । सर्वोच्च अदालतले धितो तथा कर्जा सम्बन्धमा छुट्टै नियमावली बनाएर कार्यान्वयन गर्नु भनी दिएको निर्देशनात्मक आदेश समेत बेवास्ता गरेर राष्ट्र बैंक निर्देशिकाको भरमा चलिरहेको छ ।’

धितो तथा कर्जासम्बन्धी छुट्नै नियमावली नबनाइए कै कारण अहिले प्रहरी घरघर पसेर बैंकर तथा कर्मचारीहरु पक्रिरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो राष्ट्र बैंकले निम्त्याएको नियति हो ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*