सहकारी प्रकरणमा बैंकरहरु पक्राउ परेको घटनाको निजी क्षेत्रले जनाए विरोध

१८ फाल्गुन २०८०, शुक्रबार १६:४४

काठमाडौं । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनाको निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् ।

जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरेको दाबी गरेका छन् ।

विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरलाई निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनामा प्रत्यक्ष संलग्न नभएकालाई पक्राउ गर्दा बैंकरहरुको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवम् मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने उनीहरुले बताएका छन् । अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।

‘बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनभित्र रहेर बैंकिङ कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवम् नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ ।

One thought on “सहकारी प्रकरणमा बैंकरहरु पक्राउ परेको घटनाको निजी क्षेत्रले जनाए विरोध

  1. असीम सुनुवार says:

    ठगी गतिविधिलाई निरुत्साहित गर्नैपर्छ, याे राम्राे कदम हाे। बैंक र सहकारी बिचकाे याे घटना यउटा प्रतिनिधि घटना मात्र हाे, यसतै धेरै हुनसक्छन्। सूचनाकाे हक सबैलाई समान छ है। खबरदार!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*