विनोद चौधरी प्रहरीको अनुसन्धान घेरामा, बाँसबारी जग्गा काण्डमा बयान दिँदै

२१ फाल्गुन २०८०, सोमबार १८:११

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा किर्ते तथा ठगी गरेर हडप्ने ‘चौधरी ग्रुप’का अध्यक्ष विनोद चौधरी समेतलाई अनुसन्धानमा तानेको छ ।

तत्कालीन बासबारी छालाजुत्ता कारखानासँग सम्झौता गर्दा हस्ताक्षर गर्ने विनोदका बुबा लुनकरनदास चौधरी भए पनि कार्यकारी भूमिकामा विनोद स्वयं रहेको कागजात फेला परिसकेको छ ।

जुन सम्झौतापत्रको बुदा नम्बर ‘क’मा ‘दोस्रो पक्षबाट विनोदकुमार चौधरीले लगानीकर्ता तथा प्रवद्र्धकको तर्फबाट सम्पूर्ण काम कारबाही गर्नु हुनेछ’ भनी किटानसाथ लेखिएको छ भने ‘सम्झौताका आधारहरु’को ६ वटा बुँदापछिको १ नम्बरमा लुनकरन दास चौधरी, विनोदकुमार चौधरी तथा उहाँहरुबाट मनोनित व्यक्तिहरु भनी जनाइएको छ । जहाँ विनोद चौधरी नै ५१ प्रतिशत हिस्साको कार्यकारी भूमिकामा देखिन्छन् ।

तर, हालै अर्थात् गत माघ १८ गते सीजी होल्डिङ्सको अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीसहित तीन जना पक्राउ परेका थिए । तत्कालीन समयमा अरुण शेयर सदस्य मात्रै रहेकामा अहिले सीजीको प्रबन्ध निर्देशक रहेका कारण पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको सीआईबीले जानकारी दिएको छ ।

सीआईबीले अरुणका सहोदर दाई तथा तत्कालीन कार्यकारिणी अधिकारप्राप्त विनोद चौधरीसहितको बयान प्रारम्भ गरिसकेको छ । गएको माघ १८ मा अरुणसहित फक्राउ परेका तीन जना हाजिरी जमानीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेशपछि छुटेका थिए । यद्यपि, सीआईबीले अनुसन्धान जारी राखेको थियो ।
अनुसन्धान कै क्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद, उनका भाइ वसन्त चौधरी, आमा गंगादेवी चौधरी र भिनाजु महेशकुमार अग्रवाल समेत अनुसन्धानमा तानिएका छन् ।

सीआईबीका प्रवक्ता, एसपी होविन्द्र बोगटीका अनुसार उनीहरुको बयान सुरु भइसकेको छ । अनुसन्धान कै क्रममा रहेका कारण को आए आएनन् भनी व्यक्ति तोकेर आफुहरुले बाहिर भन्न नमिल्ने बताउँदै उनले बयान जारी रहेको जानकारी दिए ।

सीआईबीले अनुसन्धानका क्रममा तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समितिका सदस्यहरूसँग समेत बयान लिने प्रवक्ता बोगटीले बताए । २०४३ भदौ १३ गते कारखाना सञ्चालक समितिको ४०१औँ बैठकले त्यसबेला विनोदसहित चौधरी परिवारका सदस्यहरूले खोल्न लागेको प्रस्तावित कम्पनी, च्याम्पियन फुटवेयर लिमिटेडको नाममा २५ प्रतिशत शेयर लगानी गर्ने र आफ्नो नाममा रहेको १० रोपनी जग्गा फुटवेयरलाई बिक्री गर्ने निर्णय गरेको थियो । त्यो सञ्चालक समितिका सदस्यहरू पनि सीआईबीको अनुसन्धानमा तानिएका छन् ।

सञ्चालक समितिको निर्णयका आधारमा कारखानाको स्वामित्वमा २ हजार कित्ता, लुनकरणदास चौधरीको २१ सय, विनोद चौधरी, अरुण चौधरी, वसन्त चौधरी र महेशकुमार अग्रवालको २००–२०० कित्ता तथा गंगादेवी चौधरीको नाममा १०० कित्ता शेयर रहेको देखाएर २०४३ साल कात्तिक २७ गते उद्योग विभागमा च्याम्पियन फुटवेयर लिमिटेड दर्ता गरिएको थियो ।

त्यसै वर्ष अर्थात् २०४३ पुस ३० गते नेपाल औद्योगिक विकास निगमको परियोजना छनोट समितिको बैठकबाट फुटवयेरको नाममा प्रति वर्ष १० लाख जोर क्यानभास जुत्ता उत्पादन गर्ने क्षमताका लागि २ करोड ७५ लाख रुपैयाँ र शेयर अन्डरराइटबापत ३९ लाख ७५ हजार रुपैयाँ ऋण दिने निर्णय गरिएको थियो ।

सरकारको अनुमति नलिई २०४४ भदौ ५ गते मालपोत कार्यालयले कारखानाको नाममा रहेको ६ रोपनी सरकारी जग्गा फुटवयेरको नाममा रजिस्ट्रेसन पास गरेको थियो । त्यसैगरी २०४४ मंसिर १८ गते पनि सरकारको अनुमति नलिई कारखानाको नाममा रहेको थप ४ रोपनी सरकारी जग्गा मालपोतले फुटवयेरको नाममा रजिस्ट्रेसन पास गरिदिएको कागजात भेटिएका छन् ।

च्याम्पियन फुटवेयरले तीन वर्ष मात्र जुत्ता उत्पादन गरेर त्यसपछि उत्पादन बन्द गरेको थियो । जुत्ता उत्पादन हुन छाडेपछि २०५१ वैशाख १ गते फुटवेयरमा रहेको कारखानाको शेयर अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयको नामसारी गरिएको थियो । तर, २०५२ साउन ११ गते उक्त शेयर चौधरी ग्रुपका सदस्य अरुण चौधरीलाई ३६ लाख रुपैयाँमा विक्री गरिएको भेटिएको थियो ।

सरकारको नाममा रहेको शेयर हात पारेपछि चौधरीले २०५४ साल पुस ४ गते फुटवेयरलाई लिमिटेडबाट निजी कम्पनी अर्थात् ‘प्रालि’ बनाएका थिए । त्यसपछि फुटवेयरको नाम पनि परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि बनाइएको देखिन्छ । जुन प्रालिमा अहिले अरुण चौधरी, उनकी श्रीमती शीला चौधरी र भारतीय ठेकेदार सञ्जय ठाकुरको स्वामित्व छ । स्वामित्वमा उनीहरू देखिए पनि विनोद चौधरीले नेतृत्व गर्ने चौधरी ग्रुपको भगीनी संस्थाका रूपमा रहेको सीजी एजुकेसनले चाँदबाग स्कुल सञ्चालन गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*