भारतीय धम्कीलाई चिर्दै अघि बढ्ने प्रचण्डको त्यो अठोट्, आगामी यात्रा कति चुनौतिपूर्ण ?

२२ फाल्गुन २०८०, मंगलवार १५:३१

काठमाडौं । गत फागुन २० गते अपरान्ह ३ बजेतिर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय राजदूत नविन श्रीवास्तवले पटक-पटक दबाब दिएर एक छिन भेट्नैपर्‍यो भन्ने खबर दिइरहे । चार बजेतिरको समयमा प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूत नविन श्रीवास्तवलाई भेट्ने समय मिलाए ।

सुरुमा औपचारिक रुपमा प्रस्तुत भएका नेपालस्थित भारतीय राजदूत श्रीवास्तवले नेपाली कांग्रेससहितको गठबन्धन सरकार भारतलाई कन्फर्ट रहेको प्रेसरपूर्ण दबाब पटक-पटक दिइरहे । कुटनीतिक भाषामा यति कुरा नै काफी थियो ।

प्रधानमन्त्री प्रचण्डलाई पनि भारतले यस्तोखालको दबाब दिन्छ भन्ने कुरा पूर्वानुमान नै थियो । नेपालमा विकसित हरेक घटनाक्रम गर्भमै रहँदा तथा छलफल कै चरणमा हुँदा थाहा पाउने भारतले यो पटक सत्ता गठबन्धन भत्किने विषयमा सुइकोसम्म पाएन । त्यसैले २० गते विहान हल्लखल्ला चल्ने वित्तिकै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो कन्सर्न राख्न खोजिरहेका थिए, भारतीय राजदूत श्रीवास्तव ।

आइतबार अपरान्ह वान टु वान भएको भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु राखिएका थिएनन् । जहाँ प्रधानमन्त्री प्रचण्डलाई पटक-पटक राजदूत श्रीवास्तवले कांग्रेससँगको सहकार्यको विकल्प नखोज्न भनिरहेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सुरुमा अहिले सहमति गर्न लागेको होइन भन्ने जवाफ फर्काएका थिए । तर, प्रधानमन्त्री निवास बालुवाटारमा साँझका लागि डाकिएको रास्वपा सभापति रवि लामिछानेसहितको नयाँ गठबन्धनको बैठक सुरु हुनै लागिसकेको थियो ।

सबै नेताहरु बालुवाटार आउँदै गरेको खवर राजदूतले लगातार बाहिरबाट लिइरहेका थिए । करिब डेढ घण्टा लामो कुराकानीको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राजदूत श्रीवास्तवलाई सम्झाउने प्रयास गरेका थिए ।

कुराकानी कै क्रममा एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछानेसहितको नयाँ सरकार बन्ने स्पष्ट भइसकेपछि उनले थप दबाब दिन थालेका थिए । साँझ पर्दै जाँदा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डमाथि दबाब थप्दै गए, ‘दिस म्यासेज फ्रम पीएम मोदी, हामी अहिले कै गठबन्धन अघि बढेको हेर्न चाहन्छौं, हामी देउवाप्रति पूर्ण विश्वस्त छौं । उहाँले तपाईलाई सहयोग गर्नुहन्छ ।’ भन्दै चर्को दवाव दिए । कांग्रेसमार्फत सबै प्रकारको सहयोग जुटाइदिने आश्वासन दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नामै लिएर नयाँ गठबन्धन नबनाउन दबाब दिइरहेका थिए ।

तर, प्रधानमन्त्री प्रचण्ड ‘टसको मस’ भएनन् । बरु उल्टै हामी धेरैअघि बढिसक्यौं अब फिर्ता हुने सम्भावना छैन भन्ने जवाफ फर्काइदिएका थिए । प्रधानमन्त्री प्रचण्डको जवाफ सुनेर राजदूत श्रीवास्तव रातोपिरो हुँदै बाहिर निस्किएर हिंडेका थिए ।

नेपालको राजनीतिमा भारतीय हस्तक्षेप, दबाब सामान्य कुरा हो । पटक-पटक यस्ता विषयहरु आइरहन्छन् । संविधान जारी गर्दा भारतीय विदेश सचिव तथा अहिलेका विदेश मन्त्री सुब्रमण्यम जयशंकर नेपाल आएर तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई संविधान जारी नगर्न दबाब दिएका थिए ।

यो पल्ट विदेश सचिव वा र’अका कुनै प्रमुख नेपाल आउन भ्याएनन्, त्यसैले विदेशमन्त्री जयशंकर कै शैलीमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई धम्क्याएका थिए । वाम गठबन्धन बनाउने, वर्गीय मित्रता कायम गर्ने र देशभित्र रजाई गरिरहेको माफियातन्त्रको अन्त्य गर्ने प्रतिबद्धता बोकेका प्रधानमन्त्री प्रचण्डले भारतीय हस्तक्षेपलाई नसुने झै गरेरअघि बढेका छन् ।

नेकपा माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा पनि प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन भारतले स्वीकार नगरेको बताएका छन् । बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्डले गत फागुन २० गते बालुवाटारमा भारतीय राजदूतले दिएको धम्कीको पूर्ण खुलासा त गरेनन् तर एमालेसँगको सहकार्यमा भारत बेखुस भएको तथ्य भने बाहिर ल्याएका छन् ।

उता, प्रधानमन्त्री प्रचण्डले एमसीसीलाई पनि दह्रो झट्का दिएका छन् । एमसीसीकी उपाध्यक्ष नेपाल भ्रमणमा रहेकै बेला एमसीसी पास गर्ने सत्ता गठबन्धन भत्काएर अमेरिकी विदेश नीति निर्माण गर्ने पेन्टागनलाई समेत प्रचण्ड कुटनीतिक रुपमा ‘अस्वीकार’को सन्देश दिन सफल भएका हुन् ।

भारतीय सञ्चार माध्यमले पनि प्रधानमन्त्री प्रचण्डले चीन पक्षीय नयाँ गठबन्धन बनाएको भन्दै चर्चा गरिरहेका छन् । यथार्थमा र एक हदसम्म त्यसमा पनि सत्यता छ । तर, चीन कसरी भारतीय रुचाइको गठबन्धनमा गएका प्रचण्डलाई ड्रयाग गर्ने अवस्थामा पुग्यो भनेर विश्लेषण गर्नु जरुरी छ ।

प्रधानमन्त्री प्रचण्डले गएको मंसिरमा मन्त्रिपरिषदबाट पास गरेको भारतीय दुताबासबाट २० करोड रुपैयाँसम्मको विकास आयोजना वितरण गर्ने सम्झौता स्वीकृत गरे लगत्तै उत्तरी छिमेकी मुलुक चीन सशंकित बन्न पुग्यो ।

लामो सीमा जोडिएको क्षेत्रमा भारतले आफुखुशी विकास आयोजनाको नाममा रकम खर्चन पाउने भएपछि थप सशंकित हुनु स्वाभाविक नै थियो । त्यसैको उपज अब चीन नचाहेर पनि नेपालको राजनीतिमा एउटा तहमा उत्रनु उसका लागि बाध्यता बन्न पुगेको छ ।

भारतीय हस्तक्षेपलाई पेलेरअघि बढेका प्रधानमन्त्री प्रचण्डको यात्रा कति सफल हुन्छ त्यो भविष्यले बताउने छ, तर तत्कालीन राजा महेन्द्र, मदन भण्डारी, रविन्द्र अधिकारीको झै प्रचण्डको आगामी यात्रा थप चुनौतिपूर्ण भने पक्कै बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*