‘बीमाशुल्क दर र अधिक दुइटै पुनर्बीमकको हातमा’

नरेश श्रेष्ठ
१२ चैत्र २०८०, सोमबार १३:०३

काठमाडौँ । नेपालका प्राय सबै बीमा व्यवसाय “निर्धारित बीमाशुल्क” अथवा ट्यारिफबाट नै चलिरहेका छन् । बीमा प्राधिकरण (तत्कालीन बीमा समिति) बाट धेरै पहिला जारी भएको “अग्नि बीमा” ट्यारिफ, त्यसपछिका “मोटर बीमा” र “समुद्री बीमा”का ट्यारिफहरु निकै सफल ट्यारिफ मान्न सकिन्छ ।

पछिल्लो समय प्राधिकरणले जारी गरेका ट्यारिफहरु जस्तैस् (अग्निबीमाको परिमार्जित) “सम्पत्ति बीमा”, “ठेकोदारको सम्पूर्ण जोखिम बीमा”, तथा “लस अफ प्रफिट” बीमाका ट्यारिफहरु त्यति सफल मान्न सकिएन । प्राधिकरणले उक्त ट्यारिफहरु छोटो समयमा नै संशोधन गर्ने प¥यो र त्यति गर्दा पनि नेपाली बीमा बजार शान्त हुन सकेको छैन ।

सम्पत्ति बीमा अन्तर्गत जलविद्युत् बीमाको लागि प्राधिकरणले निर्धारण गरेको बीमाशुल्क दुई रुपैयाँ प्रतिहजार भएता पनि अहिले कूनैपनि पुनर्बीमकहरु यो दरमा बीमा गर्न राजी देखिँदैन । प्राधिकरणले निर्धारण गरेको दरमा ५० देखि १०० प्रतिशत सम्म शुल्क बढाएर मात्र जोखिम लिन मानिराखेको अवस्था छ र त्यसमा पनि दाबी परेको खण्डमा बीमितले स्वयम बेहोर्नुपर्ने “अधिक” पनि बढाउनु पर्ने सर्त अघि सार्ने गरेको छ । प्राधिकरणले निर्धारण गरेको अधिक (दाबी मुल्याड्ढनको) १ प्रतिशत मात्र हो तर यो अधिकमा बस्न पुनर्बीमकहरु राजि छैनन् ।

त्यस्तै ठेकेदार जोखिम बीमामा पनि प्राधिकरणले निर्धारण गरेको अधिक (दाबी म’ल्याड्ढनको) ५  प्रतिशत वा न्यूनतम पाँचलाख हो तर यो अधिकमा जोखिम बहन गर्न पुनर्बीमकहरु मानिरहेका छैनन् । यी दुबै “अधिक” प्राधिकरणले नेपालका विभिन्न व्यवसायी महासंघहरुको अनुरोधमा एक/एक पटक संशोधन गरिसकेको हो ।

अहिले नेपाली बीमा बजारको बीमादर र अधिक दुइटै सीमित पुनर्बीमकको हातमा पुगिसकेको ५ र नेपाली बीमा कम्पनीहरू पुनर्बीमकको समर्थन बिना केहिपनि गर्न सक्ने अवस्थामा छैनन् । पुनर्बीमाबाट जस्तो दर र सर्त प्राप्त भयो त्यही बमोजिम बीमा कम्पनीहरूले बीमालेख उपलब्ध गराउन’ पर्ने बाध्यात्मक अवस्था छ । पहिला पहिला व्यवसायीहरुले “बीमाश’ल्क दर” अथवा “अधिक” मध्ये कुनै एक छान्न पाउँथे । व्यवसायीले बीमशुल्क घटाउन अनुरोध गर्दा बीमा कम्पनीले अधिक बढाउन अनुरोध गर्दथे र दुवै पक्ष एउटा विन्दुमा सहमति गरेर बीमालेख लिने/दिने गर्दथ्यो । तर अव त्यसो गर्न सम्भव छैन, बीमाशुल्क र अधिक दुइटै पुनर्बीमाको हातमा पुगिसकेकोले नेपाली व्यावसायीहरु (विशेष गरी जलविद्युत र निर्माण व्यवसायी) बीमा कम्पनीले दिएको बीमादर र अधिक दुवै स्विकारेर बीमालेख खरिद गर्न बाध्य छन् ।

यस विषयमा नेपाल बीमा प्राधिकरण अनभिज्ञ छैन र समाधानको कार्य पनि गरिरहेको छ । तर यसको दर्घिकालिन समाधानको लागि प्राधिकरण एक्लैले कार्य गरेर पर्याप्त हुँदैन किनकि अहिलेको समयमा बीमादर र अधिक दुवै पुनर्बीमा कम्पनीको हातमा पुग्नुको मुख्य कारण बढ्दो दाबी अनुपात पनि हो । नेपालका प्राय सबै आयोजनाहरू गुणस्तरमा भन्दा पनि लागत मूल्यमा प्रतिस्पर्धा हुने गरेको छ जसले गर्दा मौसममा आएको सानो बदलावले पनि ठुलो भौतिक क्षति भइरहेको अवस्था छ । सरकारको नीति नियमले पनि आयोजना निर्माण गर्दा गुणस्तरलाई भन्दा पनि लागत मूल्यलाई प्राथमिकता दिएको पाइन्छ । बीमा दाबीमा कमी गर्नको लागि यस प्रति पनि अलिकति ध्यान पु-याउन आवश्यक छ । आयोजनाको गुणस्तर बढेको खण्डमा दाबी अनुपात घट्ने छ जसले गर्दा नेपाली बजारमा पुनर्बीमकहरुको आकर्षण बढ्न जान्छ फलस्वरुप बीमाशुल्क दर र अधिक दुवै पुनः प्राधिकरणकै अधीनमा फर्किन मद्दत पुग्नेछ ।

(श्रेष्ठ एवान रिईन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन्)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*