‘अर्थमन्त्री पुनको एक्सनको पर्खाइमा शेयर लगानीकर्ता, प्रिमियम आइपीओ घाँडो’

तिलक कोइराला
१६ चैत्र २०८०, शुक्रबार १४:००

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा निकै उतार–चढाव देखि रहेको छ । यो साताका चार कारोबारमा बजार दुई दिन सुधार र दुई दिने ओरालो लाग्यो । कारोबार रकम समेत निरन्तर खुम्ची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले देखाएको सक्रियताले लगानीकर्ता हौसिएका थिए । तर, छिट्टै सकारात्मक कदम नचल्दा अझै लगानीकर्ता अन्योलमा रहेका छन् ।

बजारमा नियामकको सकारात्मक निर्णय कुरेर लगानीकर्ता बसेका छन् । लगानीकर्ता मनोबल उच्च बनाउन अब नियामकको भूमिका हुनु आवश्यक छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने र कारोबार वृद्धि गर्न तिर लगानीकर्ता ध्यान जानु आवश्यक रहेको छ ।

अर्थमन्त्री पुनको एक्सनको पर्खाइमा

नयाँ अर्थमन्त्री रूपमा माओवादी केन्द्रका वर्षमान पुनको आगमनले लगानीकर्तामा आस पलाएको थियो । पदभार ग्रहण गर्दै पुनले शेयर बजारमा ६० लाख लगानीकर्ता रहेको हुँदा पुँजी बजारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । लगानीकर्तालाई निराश नपार्ने पुनको तर्कपछि बजार सकारात्मक दिशातर्फ अघि बढ्यो ।

अब लगानीकर्ता पर्ख र हेरको अवस्थामा आइपुगेका छन् । अर्थमन्त्री पुनले शेयर बजार सुधारका लागि कार्य योजना समेत मागी सकेका छन् । लगानीकर्ताको हित छिटो निर्णय अर्थमन्त्रीबाट हुने आस समेत रहेको छ । अब छिटै अर्थ मन्त्रालयबाट सकारात्मक निर्णयको खोजीमा लगानीकर्ता बसेका छौ ।

शिथिल अर्थतन्त्रलाई पूँजीबजारले लयमा लैजान्छ

लगानीकर्ताहरूको प्रमुख चिन्ताको रूपमा रहेको नीतिगत अवरोध हो । नेपाल राष्ट्र बैङ्कले शेयर बजारका केही नीतिहरू कसिलो बनाउँदा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । शेयर बजारमा ठुलो हिस्सा बोकेको बैङ्क तथा वित्तीय संस्थाको शेयर न्यूनतम मूल्यमा आइसकेको अवस्था छ

वर्तमान अर्थमन्त्री पुनसँग लगानीकर्ताले नीतिगत अवरोध खुकुलो बनाउन माग गर्दै आइरहेको छ । बजार सुधार भन्दा पनि लगानीकर्ता नियामकले चालेका नीतिगत बाधाहरूको समाधान खोजी रहेका छन् । ब्रोकर कमिसनले सीमित व्यक्तिलाई मात्र फाइदा गर्ने काम गर्छ । ब्रोकर कमिसन घटाउनु भन्दा अहिले बजारलाई कसरी चलायमान बनाउने र पुँजी बजारमा कारोबार वृद्धि कसरी गराउने भन्ने कुरामा ध्यान दिनु आवश्यक रहेको छ । राम्रो कम्पनीलाई बजार ल्याउने र लगानीकर्ताको मनोबल बलियो बनाउन तिर अब नियामकको सक्रियता आवश्यक रहेको छ ।

कारोबार रकम घटेको बेला ब्रोकर कमिसन घट्नु भनेको सीमित व्यक्तिलाई राहत दिनु हो । ब्रोकर कमिसन घट्यो तर बजार चलायमान भएन भने कसैलाई फाइदा हुँदैन । यो बेला नियामकको ध्यान अन्य ठाउँमा भन्दा पुँजी बजार चलायमान बनाउन तिर जानु पर्छ ।

अर्थ मन्त्रालय र राष्ट्र बैङ्कहरूबिच समन्वयको समेत आवश्यक रहेको छ । अहिले लगानीकर्ताले अल्पअवधि ९होर्डिङ पिरियड १ वर्षभन्दा कममा पुँजीगत लाभको ५ प्रतिशत, मध्यम अवधि  (होर्डिङ पिरियड १ देखि ३ वर्षसम्म) मा पुँजीगत लाभको ३ प्रतिशत र दीर्घ अवधि (होर्डिङ पिरियड ३ देखि ५ वर्षसम्म) मा पुँजीगत लाभको १ प्रतिशत कायम हुनु पर्ने माग लगानीकर्ताको रहँदै आएको छ । अर्थ मन्त्रालयले यो कदम जुन बेला समेत चाल्न सक्ने विश्वास लगानीकर्ताले गर्दै आइरहेका छन् ।

त्यस्तै, शेयर बजारको तगारोका रूपमा रहेको शेयर कर्जाको क्याप हट्ला, ब्याजदर घटाउने केही पोलिसि र अन्य नीतिगत सुधार हुने आस लगानीकर्तामा रहेको छ । यता, माइक्रोफाइनान्सको लाभांश वितरणमा लगाएको सीमा घटाउन समेत लगानीकर्ताले आवाज उठाउँदै आएका छन् । लघुवित्तका लगाइएको अङ्कुशमा लगानीकर्ताले आलोचना गर्दै आइरहेका छन् । राष्ट्र बैङ्कबाट लगानीकर्ता अपेक्षा ठुलो रहेको छ ।

अबको बोर्डको अध्यक्ष कस्तो ?

लगानीकर्ताले अब अर्का साता भित्र धितोपत्र बोर्डको अध्यक्ष पाउने छन् । बोर्डका अध्यक्षले चुनौती र अवसर दुवैको सामना गर्नुपर्ने देखिन्छ । स्वार्थ समूहको झोला बोकेर कोही व्यक्ति धितोपत्र बोर्डमा गयो भने यसले बजारलाई नकारात्मक दिसा तिर लैजान्छ । बोर्ड भित्र भएका हजारौँ भ्रष्ट्राचार र अनियमितता रोक्ने बोर्डको अब हुनु आवश्यक छ । लगानीकर्ताको भावना बुझ्ने बोर्डको अध्यक्ष मार्केटले खोजेको छ । बजारमैत्री दिगो पोलिसि सेबोनले बनाउनु अबको आवश्यकता रहेको छ ।

बजारमा चलखेल गर्नेहरूलाई कानुनी दायरमा ल्याउने चुनौती बोर्ड सामु रहेको छ । बुक बिल्डिङलाई समेत अब व्यवस्थित गर्नुपर्छ । प्रिमियम आइपीओ खारेज नै हुनुपर्छ । बिना आधार हचुवाको भरमा प्रिमियममा आइपिओ निष्कासन गर्ने कुरामा रोक लाग्नुपर्छ । अंकित मूल्य र बुक बिल्डिङ व्यवस्थित अबको बोर्डको अध्यक्षको मुख्य जिम्मेवारी हो । प्रिमियम आइपीओ रोक्नुपर्छ । यो रोकिन सकिने भने बजारमा ठुलो विपत्ति आउने अवस्था छ ।

नियामकले चलाएको सकारात्मक कदमले बजारलाई सही गतिमा ल्याउनेछ । नीति नियम, प्रविधि र पूर्वाधार राम्रो भए बजारले आफ्नो बाटो आफै लिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*