शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, नाफामा आकर्षक सुधार !

दिपक विष्ट
१९ चैत्र २०८०, सोमबार १८:०८

काठमाडौँ । म्युचुअल फण्डहरुले शेयरबजारमा साढे ३० अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेका हुन् ।

यो माघ महिनाको तुलनामा ४.७५ प्रतिशतले बढेको छ । माघ महिनामा म्युचुअल फण्डहरुले शेयर बजारमा २९ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेका थिए । बजारले फागुनमा लय लिन सकेको थिएन् । लगानी गरेको म्युचुअल फण्डको शेयर मूल्य धेरै तल नजानु र केहि फण्डहरुको सुधारले लगानी बढेको देखिएको हो ।

माघ महिनाको तुलनामा फागुनमा ४ वटा फण्डको मात्रै शेयरबजारमा लगानी घटेको छ । अन्य म्युचुअल फण्डको लगानी भने बढेको हो । सबैभन्दा बढी लगानी एनआइबीएल सहभागिता फण्डको रहेको छ । फण्डको १ अर्ब ७२ करोड रुपैयाँ सूचीकृत सेयरमा लगानी छ । जुन माघको तुलनामा ४.६७ प्रतिशतले बढी हो ।

त्यस्तै, दोस्रो नम्बरमा एनएमबी सरल बचत फण्ड–ईको १०.६७ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँ, सिद्धार्थ इक्विटी फण्डको ३।८४ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को ५.९५ प्रतिशतले बढेर १ अर्ब ९ करोड रुपैयाँ र एनएमबी–५० को ३.६२ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ शेयरबजारमा लगानी रहेको छ ।

फागुनमा शेयर बजारमा सकारात्मक महोल हुँदा म्युचुअल फण्डको लगानी समेत वृद्धि भएको एनएमबि क्यापिटलका म्युचुअल फण्ड विभागका प्रमुख आशिषराज पाण्डेले बताए । उनले भने, ‘बिचमा बजार २२ सय बिन्दुमा समेत पुगेको थियो । कारोबार रकममा समेत उच्च रहँदा मार्केटमा सकारात्मक माहोल बनेको हो । सोही कारण शेयर बजारमा म्युचुअल फण्डको लगानी वृद्धि भएको पाइन्छ ।’

शेयर बजारमा म्युचुअल फण्डको लगानी बढे पनि अपेक्षा अनुसार सुधार भने आउन सकेको छैन । ‘माघको महिना भन्दा फागुन शेयर बजारमा म्युचुअल फण्डको लगानी बढेको छ । तर अपेक्षा अनुसार भने मान्न सकिँदैन’ पाण्डेले भने, ‘बजार अहिले बढ्न सकेको छैन । फण्डले लगानी गर्ने भनेको बजार मै हो । मार्केटको नै प्रतिफल राम्रो नभएकाले सुधार हुन सकेन । म्युचुअल फण्डको लगानीको क्षेत्र सीमित नै रहेको छ । बजार भन्दा बाहिर लगानी गर्ने पाउँदैन सोही कारण लगानी कम नै भएको छ ।’

म्युचुअल फण्डको नाफा ३३.३७ प्रतिशतले बढ्यो

म्युचुअल फण्डहरुले फागुन महिनामा ६६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका हुन् । जुन माघको तुलनामा ३३.३७ प्रतिशतले बढी हो । माघमा म्युचुअल फण्डहरुले ४९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएका थिए । अधिकांश फण्डहरुको नाफामा सुधार देखिएको छ ।

नाफामा सुधार देखिएसँगै फण्डहरुले शेयर बजारमा लगानी समेत थप गरेको देखिन्छ । माघ महिनाको तुलनामा फागुनमा ३२ वटा फण्डले मुनाफामा सुधार देखिएको छ । फागुन एनआइसी एशिया ग्रोथ फण्डले सबै भन्दा बढी नाफा कमाउन सफल भएको छ । फण्डले फागुन महिनामा ८ करोड १३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको हो । जुन माघको तुलनामा ३.०३ प्रतिशतले बढी हो ।

त्यस्तै, नाफा कमाउनेको दोस्रो नम्बरमा हिमालयन ८०–२० रहेको छ । फण्डले यस अवधिमा ७ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा माघको तुलनामा २.४१ प्रतिशतले बढी हो । प्रभु सेलेक्ट फण्ड सर्वाधिक नाफाको तेस्रो नम्बरमा रहेको छ । फण्डले फागुनमा ६ करोड ७९ लाख ७१ हजार रुपैयाँको नाफा कमाएको छ । तर, उक्त नाफा माघको तुलनामा ५।७८ प्रतिशतले कम हो ।

त्यस्तै, आरबिबि म्युचुअल फण्ड – २ ले ५ करोड ८७ लाख १० हजार रुपैयाँ, एनआइसी एशिया फलेक्स क्याप फण्डले ५ करोड ५३ लाख ६१ हजार रुपैयाँ, आरबिबि म्युचुअल फण्ड–१ ले ५ करोड ५० लाख ३६ हजार रुपैयाँ, कुमारी धनवृद्धि योजनाले ५ करोड ३९ लाख ७ हजार रुपैयाँ, सनराइज फस्र्ट म्युचुअल फण्डले ४ करोड ९१ लाख रुपैयाँ र एनआइसी एशिया डायनामिक डेबिट फण्डले ४ करोड ७४ लाख रुपैयाँ नाफा गरेको हो ।

साथै, माघ महिनाको तुलनामा फागुनमा सबै भन्दा नाफा वृद्धि गर्ने फण्डमा एनएमबी सुलभ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ रहेको छ । फण्डले यस अवधिमा १९१४.८३ प्रतिशतले बढाएर २ करोड २६ लाख ७० हजार रुपैयाँ पुराएको छ । माघमा भने फण्डले ११ लाख २५ हजार रुपैयाँ मात्र नाफा गरेको थियो ।

गठबन्धन परिवर्तन हुँदा शेयर बजारमा सुधारको आस लगानीकर्ताले गरेको पाण्डेले बताए । ‘लगानीकर्ताको मनोबल शेयर बजारमा ठुलो भूमिका खेलेको हुन्छ । बिचमा सरकार परिवर्तन भएपछि केही सकारात्मक हुन्न भन्ने आस केही लगानीकर्ताले लिएका थिए । सोही कारणले गर्दा कारोबार समेत बढ्यो अनि मार्केट समेत सुधार सङ्केत देखियो । सोही बेला म्युचुअल फण्डले समेत नाफा कमाउने समय पाएका हुन्’ उनले भने ।

‘लामो समयपछि बजार तल माथि भइरहन्छ । बजार घटेको थियो । सरकार परिवर्तनका बेला केही सकारात्मक कुरा आउन बजारमा सुधार देखिएको हो’ उनले भने, ‘अर्थ मन्त्रालयले बजार सुधारका लागि केही बुँदा समेत माग गरेका थिए । सकारात्मक प्रभावले गर्दा शेयर बजारमा सुधार आएको हो ।’

६ महिना लकइन अवधि लागू गरेपछि फण्डको नाफा घटेको भन्ने भ्रम सही नभएको पाण्डे बताए । उनले भने, ‘आंशिक रूपमा केही सामान्य असर लकइन अवधिले पाएको हुन सक्छ । तर, अहिले मार्के ठुलो भइसक्यो म्युचुअल फण्डमा धितो पत्र बोर्डले लागु गरेको लकइन अवधिले असर गरेको देखिँदैन ।’

शेयर बजारमा ठुलो हिस्सा म्युचुअल फण्डको समेत रहेको हुँदा बजार चलायमान भए नाफामा सकारात्मक परिवर्तन देखिने एक लगानीकर्ताले बताए । ‘बजार पछिल्लो समय चलायमान हुन सकेको छैन । नाफामा सुधार भए पनि यो सुधार चित्त बुझ्दो भने होइन । बजार अलि चलायमान हुँदा म्युचुअल फण्डको नाफामा आकर्षण देखिन्छ’ उनले भने ।

९ वटा म्युचुअल फण्डको न्याभ घट्यो, अन्यको कस्तो ?

माघको तुलनामा फागुनमा ९ वटा म्युचुअल फण्डको न्याभ ओरालो लागेको छ । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डमध्ये अधिकांशको न्याभमा सुधार देखिएको छ ।

फागुनमा सबैभन्दा बढी न्याभ एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को रहेको छ । यस अवधिमा फण्डको न्याभ ११.४५ रुपैयाँ रहेको छ । जुन माघको तुलनामा १८ पैसाले बढी हो ।

त्यस्तै, न्याभ धेरै हुने म्युचुअल फण्डको दोस्रो नम्बरमा सनराईज फर्स्ट म्युचुअल फण्ड रहेको छ । फण्डको न्याभमाघको तुलनामा ०५ पैसाले बढेर ११.३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सानिमा इक्विटी फण्डको न्याभ ११.२५ रुपैयाँ, कुमारी सुनौलो लगानी योजनाको फण्ड ११.१३ रुपैयाँ र एनआइसी एशिया सेलेक्ट–३० को ११.११ रुपैयाँ न्याभ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*