कस्तो हुनुपर्छ धितोपत्र बोर्डको अध्यक्ष ?

दिपक विष्ट
२२ चैत्र २०८०, बिहीबार १८:५५

काठमाडौँ । विगत तीन महिनादेखि नेपाल धितोपत्र बोर्ड अध्यक्षविहिन रहेको छ । गत पुस २० गते रमेशकुमार हमालको कार्याकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ । हाल डा.नवराज अधिकारीले कामु अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । निमित्तको भरमा बोर्ड हुँदा काम कारबाही अघि बढ्न सकेको छैन । अर्बौ रकमको आइपीओ र हकप्रद स्वीकृत समेत पाएका छैनन् ।

गत पुस १९ गते बोर्डको अध्यक्ष रमेश हमालले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएका थिए । उनको यो अनुमति अन्तिम हुन पुग्यो । उनको कार्यकाल पुस २० गते सकिएसँगै हालसम्म कुनै कम्पनीहरुले शेयर निष्कासनको अनुमति पाउन सकेका छैन । लामो समयसम्म बोर्डको पाइपलाइनमा कम्पनीको आइपीओ र हकप्रद रोकिएपछि अर्थमन्त्री वर्षामान पुनले चासो देखाएको छ । पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा वक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई आइपीओ निष्कासन अनुमति नरोक्न निर्देशन दिएका थिए ।

अर्थमन्त्रालयको निर्देशनपछि बोर्डले अंकित मूल्यका शेयरलाई अनुमति दिने तयारी गरेको छ । हमाल अध्यक्ष हुँदा प्रिमियम आइपीओ निष्कासन अनुमतिमा घोटाला भएको भन्दै चौतर्फी आलोचना भएको थियो । सोही आलोचना दोहोरिन नदिन बोर्ड नयाँ अध्यक्ष नपाएसम्मका लागि अंकित मूल्यमा नै शेयरमा अनुमति दिने मनशायमा रहेको छ । सम्भवत यसै साता बोर्ड बैठक बसेर प्रक्रिया पूरा गरेका र अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई स्वीकृति दिन सकिने बोर्डका कार्यकारी निर्देशक तथा निमित्त प्रमुख नवराज अधिकारीले जानकारी दिए । ‘कुनै कैफियत नदेखिएका, वक्यौता नरहेका, प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासन स्वीकृति दिने काम नरोक्नुस् भनेर अर्थमन्त्रीले निर्देशन दिइसक्नुभएको छ, सोही अनुसार अब बोर्डले स्वीकृतिको काम अघि बढाउँछ,’ कार्यकारी निर्देशक अधिकारीले भने ।

अधिकारीका अनुसार प्रिमियममा आईपीओ जारी गर्न खोजेका कम्पनीले पनि हाललाई निष्कासन स्वीकृति पाउने छैनन् । हाल धितोपत्र बोर्डमा कुल ३५ कम्पनीले आईपीओ अनुमति माग गर्दै स्वीकृतिका लागि पर्खाइमा छन् । जसमध्ये पाँच कम्पनीले चाहीँ प्रिमियममा आईपीओ जारी गर्न अनुमति माग गरेका छन् ।

यता, बोर्डमा अध्यक्ष नियुक्तिका लागि छनौट समितिले पाँच जना नाम सर्टलिष्ट निकाल्ने अन्तिम तयारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठको संयोजकत्वमा आवेदक १९ जना मध्ये पाँच जनाको नाम सर्टलिष्ट निकाल्ने अन्तिम तयारीमा रहेको छ । अध्यक्ष छनौंट समितिले १९ जना आवेदक मध्येबाट पाँच जनाको नाम तयार पार्ने काम अन्तिम चरणमा पुगेको स्रोतले बताएको छ । हाल चर्चामा रहेका नाम अनुसार चिरञ्जीवी चापागाँई, डा.नवराज अधिकारी र कृष्ण बहादुर कार्कीको सर्टलिष्टमा पर्ने निश्चित छ । यस बाहेक डा.विमल कुमार तिवारीको समेत सर्टलिष्टमा नाम निस्कने सम्भावना बलियो रहेको चर्चा चलिरहेको छ । अख्तियारले छानविनका मुक्तिनाथ श्रेष्ठको नाम समेत आउने सम्भावना रहेको छ ।

छनौट समितिले सार्वजनिक गरेको ५ जनालाई कार्ययोजना र प्रस्तुतिकरण पछि तीन जनाको नाम सिफारिस गर्नेछ । छनौट समितिमा श्रेष्ठको अलावा अर्थ सचिव सचिव कृष्णहरि पुस्कर र विज्ञको तर्फबाट उदय निरौला सदस्य रहेका छन् । नयाँ अध्यक्ष अबको केहि साता भित्र बोर्डले पाउनेछ । अहिले बजारमा अबको अध्यक्ष कस्तो हुनुपर्छ भन्ने चर्चा चौर्तफी उठी रहेको छ ।

लगानीकर्ताले कस्तो खोजेका छन् बोर्डका अध्यक्ष ?

शेयर बजारका लगानीकर्ता धितोपत्र बोर्डका अध्यक्षको पखाईमा रहेका छन् । अबको अध्यक्ष पूँजी बजार सुधारका लागि सकारात्मक माहोल बनाउन सक्ने हुनुपर्ने लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘बजारलाई चलायमान बनाउन सक्ने अध्यक्ष लगानीकर्ताले खोजेका छन् । रोकिएका कामकाजलाई सवल तरिकाले अघि बढाउने, नयाँ स्टक एक्सचेञ्ज अघि बढाउने, बजार सुधारका कदम चुस्तदुरुत बनाउन सक्ने हुनु जरुरी रहेको छ ।’

सातै प्रदेशका दूरदराजसम्मका ब्यक्तिलाई पूँजीबजारमा जोड्न सक्ने अध्यक्ष अहिलेको आवश्यकता रहेको रौनियारको भनाइ रहेको थियो । ‘सातै प्रदेशका दूरदराजसम्म पूँजी बजारको पहुँच पु¥याउने अबको अध्यक्ष हुनुपर्छ । राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वय गर्न सक्ने क्षमता हुनुपनि अहिलेको मुख्य कुरो हो । यता कमिशन रकम समेत घटाउन सक्ने हुनुपर्छ’ रौनियारले भने, ‘अबको अध्यक्षले साइवर क्राइम पनि कडा गर्नुपर्छ । बजारमा मनपरी बोल्नेलाई कारवाहीको दायरा ल्याउनु पर्छ । चार घण्टा लाइभ हेर्ने टिम बनाउने सो समयमा बदमासी गर्नेलाई कारवाही हुनुपर्छ ।’ केन्द्रीय बैंकद्धारा जारी गरेका शेयर बजारलाई वाधा गर्न केहि नीतिगत अवरोधलाई समन्वय गरेर हटाउन सक्ने हिम्मत अबको अध्यक्षमा हुनुपर्ने रौनियारको छ ।

यस्तै, लगानीकर्ता राधा पोखरेलले भनिन् भागभण्डाको अध्यक्ष नभई पूँजी बजार बुझेको अध्यक्ष अब बोर्डमा आउनु पर्ने बताइन् । लगानीकर्तामैत्री वातारवण तयार गर्न सक्ने अध्यक्ष आए बजारका लगानीकर्तालाई ठुलो राहत हुने उनको तर्क छ ।

‘अबको अध्यक्ष लगानीकर्तामैत्री वातावरण तयारी गरी अघि बढ्न सक्ने हुनुपर्छ । आफुलाई भन्दा लगानीकर्ताहरुका लागि सोच र उनीहरुको हितका लागि काम गर्न हुनुपर्छ’ पोखरेलले भनिन्, ‘भागभण्डा भन्दा पनि स्वस्थ बजार बुझेको बजारमैत्री अध्यक्ष हामीले खोजेका छौं ।’

२१औं शताब्दीमा पूँजी बजारलाई सहि दिसामा लैजान सक्ने अध्यक्ष हुनुपर्ने लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । ‘बजारलाई सुहाउने र बजारलाई प्रविधिमैत्री बनाउन सक्ने अध्यक्ष लगानीकर्ताले चाहेको उनले बताए । अबको बोर्डको अध्यक्ष प्रविधि मैत्री बनाउन सक्ने हुनुपर्छ । ६२ लाख भन्दा बढी लगानीकर्ता पूँजी बजारमा आवद्ध छन् । यो लगानीकर्तालाई विश्वास दिलाउन सक्ने हुनुपर्छ ‘उनले भने ।

नियामक सबैसँग मिलेर पूँजी बजारलाई उद्योगको रुपमा विस्तार गर्ने सक्ने अध्यक्ष अबको हुनुपर्ने ढकालले बताए । उनले भने, ‘पूँजी बजार निकै खस्किएको अवस्था छ । लगानीकर्ताले अबको अध्यक्षबाट ठुलो आश राखेका छन् । अबको अध्यक्षको आगमनले पूँजी बजारले फड्को मार्ने सक्नुपर्छ ।’

लगानीकर्ताको मनोवल उच्च बनाउन तिर नियामक निकाय बोर्डले भुमिका खेल्नुपर्ने उनले बताए । ‘लगानीकर्ताको मनोवल कमजोर छ । अबको अध्यक्षले विदेशी एनआरएनलाई ल्याउन सक्नु पर्छ । नयाँ प्रविधि समेत पूँजी बजारमा विस्तार गर्नुपर्छ । लगानीकर्तालाई प्रशिक्षण कार्यक्रम प्रदान गर्नु पर्छ’ ढकालले भने, ‘राष्ट्र बैंकमा लबिङ गर्न सक्ने । पोलिसीका कारण पूँजी बजार धरासयी भएको छ, सो पोलिसी चिर्न सक्ने किसिमको चाहिन्छ । अध्यक्ष मात्र भएर केहि हुँदैन । अहिले अर्बौ रकमको पूँजी बजार भइसकेको छ । नयाँ स्टक देखि भएको स्टकलाई पुनर्संरचना गर्नसक्ने अध्यक्ष आउनुपर्छ । नीति नियम हुँदा लगानीकर्तालाई समेट्न सक्ने । लगानीकर्ताको आवाज सुन्ने अध्यक्ष चाहिन्छ ।’

लगानीकर्तालाई अकिंत मूल्य मै आइपीओ भर्न पाउने अधिकार दिलाउने अध्यक्ष अब बोर्डमा आउनुपर्ने लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए । उनले भने, ‘पछिल्लो समय प्रिमियममा आएका आइपीओले शेयर बजारलाई धरासयी बनाएको छ । पूँजी बजारको खस्कँदो अवस्थालाई लिएर प्रिमियमको आईपीओले नै लगानीकर्ताको मनोवल घटाएको छ ।’

सीमित घरानाले प्रिमियमको आईपीओ ल्याएर सर्वसाधारणलाई लुट्ने र शोषण गर्ने काम भइरहेको भन्दै अबको अध्यक्षले यस्तो कदम रोक्नु पर्ने उनले बताए । ‘प्रिमियममा आइपीओ जारी गरेका कुनै कम्पनीहरुको शेयर मूल्य प्रिमियम भन्दा तल आएको थियो । सर्वसाधारणले क्षणिक रुपमा हेरिरहेका छन् । आईपीओ जुन मूल्यमा आए पनि आवेदन दिने गरेका छन् । प्राइमरी बजार दोस्रो बजार भन्दा महँगीएको अवस्था छ । अहिले लाभांश समेत दिन सक्दैन त्रैमासिक रिपोर्ट समेत खस्किदो छ त्यस्तो कम्पनीको ४/५ सयमा शेयर मूल्य किन्न लगाउनु भनेको नै सर्वसाधारणमाथि घोर अन्याय हो’ अग्रवालले भने ।

बोर्डका अध्यक्षले चुनौती र अवसर दुबैको सामना गर्नुपर्ने लगानीकर्ता तिलक कोइरालाले बताए । उनले भने, ‘स्वार्थ समूहको झोला बोकेर कोही व्यक्ति धितोपत्र बोर्डमा गयो भने यसले बजारलाई नकारात्मक दिसा तिर लैजान्छ । बोर्डभित्र भएका हजारौँ भ्रष्ट्राचार र अनियमितता रोक्ने बोर्ड अध्यक्ष हुनु आवश्यक छ । लगानीकर्ताको भावना बुझ्ने बोर्डको अध्यक्ष मार्केटले खोजेको छ । बजारमैत्री र दिगो पोलिसी सेबोनले बनाउनु आवश्यक छ ।’

बजारमा चलखेल गर्नेहरूलाई कानुनी दायरमा ल्याउने चुनौती बोर्ड सामु रहेको छ । ‘बुक बिल्डिङलाई समेत अब व्यवस्थित गर्नुपर्छ । प्रिमियम आइपीओ खारेज नै हुनुपर्छ । विना आधार हचुवाको भरमा प्रिमियममा आइपिओ निष्कासन गर्ने कुरामा रोक लाग्नुपर्छ । उनले भने, ‘अंकित मूल्य र बुक बिल्डिङ व्यवस्थित अबको बोर्डको अध्यक्षको मुख्य जिम्मेवारी हो । प्रिमियम आइपीओ रोक्नुपर्छ । यो रोकिन सकिने भने बजारमा ठुलो विपत्ति आउने अवस्था आउन सक्छ ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*