के तपाई सरकारी र प्राईभेट कम्पनीको कर्मचारी हुनुहुन्छ ? तपाईले पनि स्वास्थ्य बीमा सुविधा लिन सक्नुहुनेछ !

२५ चैत्र २०८०, आईतवार १४:२०

काठमाडौं । अबदेखि स्वास्थ्य बीमा कार्यक्रममा निजामति कर्मचारी देखि ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । स्वास्थ्य बीमाको ऐनमै भएपनि हालसम्म कार्यान्वयनमा नआएको यो बिषयलाई समेट्न बोर्डले सरकारसम्क्ष बारम्बार प्रयास नगरेको हैन ।

यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बीमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो ।स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्तिका रूपमा लिइएको बताएका छन् ।

उनका अनुसार ‘सङ्गठित व्यक्तिमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पछन् ।डा. लोहनीले कानुनमा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताएका हुन् ।

“स्वास्थ्य बीमा बोर्डको नियमावलीमै सङ्गठित व्यक्तिलाई स्वास्थ्य बीमा मा समेट्ने उल्लेख छ । अब बीमा बोर्डले त्यसलाई कार्यान्वयनमा लैजान खोजेको छ,” उनले भने । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा बोर्डले यसै वर्षदेखि सङ्गठित क्षेत्रका व्यक्तिलई स्वास्थ्य बीमा अनिवार्य गरिने जानकारी दिएका छन् ।

उनले औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार बोर्ड अगाडि बढेको बताएका छन् । स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ मा पनि सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमा मा लैजानुपर्ने उल्लेख छ ।

विसं. २०७२ मा तीन वटा जिल्ला बागलुङ, इलाम र उदयपुरबाट परीक्षणका रूपमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । डा. बसौलाले यही वर्षदेखि ७५३ स्थानीय तहमा पु¥याउन लागिएको जानकारी दिएका छन् । स्वास्थ्य बीमा ऐन अनुसार औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार यही वर्षदेखि राष्ट्रसेवकले तोकिएबमोजिम योगदान रकम तिरेर अनिवार्य रूपमा स्वास्थ्य बीमा मा आबद्ध हुनुपर्ने छ ।

डा. बसौलाले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवामा कर्मचारी, संस्थान र उद्योग क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमा मा समेट्न लागिएको बताएका छन् ।

उनले अनुसार स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची १ को खण्ड (ख) मा सङ्गठित क्षेत्रका लागि तिर्नुपर्ने योगदान रकमको व्यवस्था गरिएको छ । सो अनुसार कर्मचारीले आफ्नो सुरुको तलब स्केलबाट एक प्रतिशत व्यक्तिगत योगदान गर्ने छन् । सरकार तथा रोजगारदाताले कर्मचारीको नाममा थप एक प्रतिशत तिरिदिनु पर्छ ।

उनका अनुसार माथिल्लो र तल्लो तहका कर्मचारीमा देखिन सक्ने ठुलो अन्तरलाई कम गर्न नियमावलीमा वार्षिक १० हजारभन्दा बढी तिर्नु पर्दैन । सहायक स्तरको कर्मचारीको मासिक पारिश्रमिकबाट कट्टा गर्दा न्यूनतम योगदान रकम वार्षिक तीन हजार पाँच सय रुपैयाँ नपुग भएको अवस्थामा निजले पनि न्यूनतम तीन हजार पाँच सय नै तिर्दा हुन्छ ।

हालसम्म स्वास्थ्य बीमा कार्यक्रममा ७७ लाख ७१ हजार ८८३ जना (२६.५४ प्रतिशत) जनता स्वास्थ्य बीमा मा आबद्ध छन् । यीमध्ये नवीकरण गर्नेहरू त झन् ६८ प्रतिशत रहेका छन् । बसौलाले स्वास्थ्य बीमा मा सहभुक्तानी लागु भएको, अनलाइनबाट आबद्ध हुने व्यवस्था सुरु गर्न लागिएको, सेवा प्रदायक संस्थालाई प्रत्येक दुई महिनामा भुक्तानीको व्यवस्था गरी सुधारका प्रयास पनि थालिएको बताएका छन् ।

स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमा मा देखिएका कमजोरीलाई हटाएर अगाडि बढ्ने अहिलेको चुनौती रहेको बताएका छन् । उनले सामाजिक सुरक्षाका कार्यक्रम एकद्वार प्रणालीमार्फत एकसाथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*