बाराको त्रिवेणी स्पिनिङ्ग मिल्समा भीषण आगलागी, १५ सय जना कामदार प्रभावित

२७ चैत्र २०८०, मंगलवार ११:१२

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नँम्बर ९ छातापिपरा स्थित धागो उत्पादन गर्ने उद्योग त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालिमा आगलागी भएको छ । सोमबार दिउसो करिब अढाई बजे भएको आगलागीबाट करिब २ करोड रुपैयाको क्षति भएको छ ।

उद्योगमा भएको आगलागिबाट २५ सय केभिएको ट्रान्सफर्मरमा पुर्ण रुपमा क्षति पुगेको उद्योगको प्रशासकीय अधिकृत राजेश श्रेष्ठले बताए । साथै, उनले आगलागी भएको ट्रान्सफर्मरबाट आगो सल्किएर नजिकै रहेको सोहि क्षमता बराबरको अर्को ट्रान्सफर्मरमा आगलागी भएको श्रेष्ठले बताए । ट्रान्सफर्मरमा भएको आगलागिबाट करिब दुई करोड सम्मको क्षति भएको हुन सक्ने श्रेष्ठको अनुमान रहेको छ ।

आगोलाई जीतपुरसिमरा उपमहानगरपालिकाको एक, कलैया उपमहानगरपालिकाको एक र वीरगंज महानगरपालिकाको २ गरी ४ वटा बारुण यन्त्र र उद्योगमा कार्यरत मजदुरहरुको सहयोगले एक घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

‘ट्रान्सफर्मरमा अचानक सानो आवाजआई केही सेकेन्डमा आगलागी फैलिएको र ट्रान्सफर्मरको बाहिरी भागमा कुनै खराबी नदेखिएका कारण भित्रै तार सर्ट भई आगलागी भएको हो।’ उद्योगका ईलेक्ट्रिकल ईन्जिनीयर आलोककुमार सिँहले जानकारी दिए ।

पावर सप्लाईको अभावमा युनिट एक नम्बर डिपार्टको सम्पूर्ण काम ठप्प भई त्यहाँ कार्यरत ३ सय देखि ४ सय जना मजदुरको काम प्रभावित भएको छ । त्रिबेणी स्पिनिङ्ग मिल्समा करिब एक हजार पाँच सय मजदुर कार्यरत रहेका छन् । यहा चार वटा युनिट छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*